वैजनाथले दिएका थिए गोली हान्ने आदेश ?

 Tharuhat Protest Nawalparasi 02

थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले रबरको गोली चलाएको छ। तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो।

प्रदर्शनकारी अराजक शैलीमा प्रस्तुत भएपछि रबरको गोली हान्नु परेको स्थानीय प्रशासनले जनाएको छ। प्रहरीले हानेको गोली लागि मनोहराका कोमल चौधरी घाइते भएका छन्। घाइते चौधरी परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीसँगको झडपको क्रममा आन्दोलनकारीले हानेको ढुंगा लागि एक प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। थारु समुदायको अधिकार कुण्ठित गर्दा पनि एमाले सभासद वैजनाथ चौधरी मौन बसेको भन्दै थारु कार्यकर्ताहरु सभासद चौधरको घर घेरा हाल्न गएका थिए।

यस्तै नवलपरासीको बासाबसाही र तुलसीनगर क्षेत्र तनावग्रस्त बनेको छ। पूर्वपश्चिम राजमार्गस्थित बासामा सडक अवरुद्ध गरेका आन्दोलनकारीमाथि प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीले बल प्रयोग गरेको भन्दै थरुहट कार्यकर्ताहरु आक्रोशित भएका छन्। बासा क्षेत्र पनि तनावग्रस्त बनेको छ। आन्दोलनकारीले शुक्रबार साँझ एमाले परासीस्थित पार्टी कार्यालय तोडफोड गरेका थिए।

Tharuhat Protest Nawalparasi 01

यसैबीच नेकपा एमाले नवलपरासीले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ। जिल्ला अध्यक्ष रोशनबहादुर गाहा र कार्यालय सचिव तुलसी पासीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी क्षतिपूर्ति भराउन र कारबाहीको लागि समेत माग गरिएको छ।
त्यस्तै थारु कल्याणकारिणी सभाले घटनाको भर्त्सना गरेको छ। सभाले पक्राउ परेकालाई तत्काल रिहाइ गर्न र घाइतेको उपचार गर्न माग गरेको छ।
यता एमाले सभासद् वैजनाथ चौधरीले आफ्नो घर तोडफोड गर्नेलाई अपराधीको संज्ञा दिएका छन्। आन्दोलनकारीले घरमा आक्रमण गरेपछि उनले त्यसको कडा विरोध गर्दै आन्दोलनको नाममा निजी घर र सम्पत्ति तोडफोड गर्दै हिड्ने संस्कार प्रजातान्त्रिक नभएको बताए। संविधान विरोधीहरुले आन्दोलनको नाटक गरेर अर्काको निजी घर र सम्पत्ति तोडफोड गर्दै हिँडेको भन्दै उनले त्यस्तालाई सार्वजनिक अपराधको मुद्दा चलाउन प्रशासनसँग माग गरे।
चौधरीसँग नयापेजले गरेको कुराकानी

तपाईँको घर तोडफोड गर्न आएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएछ । एक जना प्रदर्शनकारी घाइते पनि भएका छन् । यो बारेमा के भन्नुहुन्छ ?

म अहिले संविधान निर्माणका सन्दर्भमा राजधानीमा छु। नवलपरासीको मेरो घरमा केही आन्दोलनकारीले तोडफोड गरेको खबर मैले परिवारबाट जानकारी पाएँ। उनीहरुले मेरो घरको मथिल्लो तलाको झ्यालका आठ–दश वट सिसा फुटाएको भन्ने सुनेको छु। उनीहरुले मेरो घरलाई नै लक्षित गरेर गुलेली समेत प्रहार गरेको परिवारबाट थाहा पाएँ।

तपाईँकै घरलाई लक्षित गरेर प्रदर्शनकारीले तोडफोड गर्नुको कारण पनि त होला नि ?
अरु केही कारण होइन। अहिले उनीहरुलाई नेकपा (एमाले)ले संविधान जारी गर्न लाग्यो। एमाले अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी हुन्। उनीहरुको नेतृत्वमा जारी हुने संविधान मधेसविरोधी हुन्छ भन्ने भ्रम छ। त्यही भएर हो।

baijnath-chaudhary

कुन-कुन पार्टीका कार्यकर्ताले तपाईँको घर तोडफोड गरेका हुन् ,थाहा छ?
अहिले मधेशीमोर्चाका नाममा केही तराईँ केन्द्रित दलहरु आन्दोलन गरिरहेका छन्। तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना, संघीय समाजवादी फोरमलगायतका पार्टीले त्यस्ता आन्दोलनको नेतृत्व गरिरहेका छन्। उनीहरुले नै मेरो घरमा आक्रमण गरेका हुन् भन्ने मलाई लाग्छ।

ती दलका नेताहरुसँग तपाईँको घरमा आक्रमणपछि केही कुराकानी भयो?

मैले केही नेताहरुलाई टेलिफोनमार्फत नै यो तपाईँहरुले गरेको आन्दोलन प्रजातान्त्रिक संस्कारको भएन् भनेको छु। मैले उहाँहरुलाई प्रष्टरुपमा आन्दोलनका नाममा त्यस्ता खाले अपराध गर्ने छुट छैन भनेर सम्झाएको छु।

उहाँहरुको के प्रतिक्रिया आयो?
उहाँहरुले त तपाईँको घरसँग हाम्रो कुनै पनि दुश्मनी छैन। तपाईँको घर वरपर प्रहरी रहेछन्। उनीहरुसँग लड्न जाँदा तपाईँको घरमा तोडफोड भयो भनेर भने। त्यो हावा कुरा हो। आन्दोलनका नाममा कसैको निजी सम्पति र घर तोडफोड गर्ने अधिकार कसैलाई पनि छैन। त्यस्ता व्यक्ति आन्दोलकारी हुन सक्दैनन्। ती अपराधी हुन्। अपराधीलाई सार्वजनिक मुद्दा लगाएर प्रक्रिया अघि बढाउनु पर्छ। म प्रशासनसँग यही माग गर्छु।

यसरी मुलुकभरी नै तोडफोड भएको छ। तपाईँहरु संविधान जारी गर्ने भनेर जोडतोडले लाग्नु भएको छ। बन्छ त संविधान?

बाटोमा ढुंङ्गा हान्दै हिड्नेले होइन नि संविधान जारी गर्ने। संविधान जारी गर्ने काम हाम्रो हो। अर्काको घर तोडफोड गर्दै हिड्नेले कसरी संविधान बनाउँछन्? त्यसैले उनीहरुले बाटामा हल्लीखल्ली गरेर संविधान निर्माणमा अवरोध हुँदैन। समयमै संविधान बन्छ।

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.