थरुहट तराई बन्दको तेस्रो दिन : कतै ठप्प कतै आंशिक प्रभाव

Tharuhat Protest in Lumbini

तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तराईका २२ जिल्ला बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प छन्। आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरु बिहानदेखि सडकमा गुड्न सकेका छैनन्। बन्दका कारण छिमेकी मुलुक भारतमा रोजगारी गरी फर्किएका नेपालीलाई गन्तव्यसम्म पुग्न निकै समस्या परेको छ। बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक, अञ्चलपुरलगायतका स्थानमा जम्मा भएर अवरोध गरिरहेका छन्। अहिलेसम्म कुनै पनि स्थानमा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ।

दाङ पनि बन्द, स्कलुन भने खुल्यो

त्यस्तै बन्दका बावजुद दाङका विद्यालय आजदेखि खुलेका छन्। थरुहट स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति दाङले आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र विद्यार्थी आवतजावत गर्ने विद्यालयका सवारी साधनलाई सञ्चालन गर्न दिने बिहीबार घोराहीमा गरिएको छलफल कार्यक्रममा सहमति जनाएपछि आजदेखि जिल्लाका सम्पूर्ण विद्यालय र शिक्षण संस्थाहरु खुलेका हुन्। तर जिल्ला बन्द भने यथावत् रहेको थारु सङ्घर्ष समितिले जनाएको छ।

यसैबीच दाङ बन्दको तेस्रो दिन आज पनि जिल्लाको जनजीवन प्रभावित नै बनेको छ। बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन कुनै पनि सञ्चालन हुन सकेका छैनन्।

यहाँका बजार, कलकारखाना, उद्योगधन्दा पूर्णरुपमा ठप्प रहेका छन्। बजारमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको उपस्थितिलाई कडा पारिएको छ। बन्दको विकल्प खोज्न नागरिकले बन्दकर्तासँग माग गरेका छन्।

चितवनमा बन्दको खासै असर परेन

थारु कल्याणकारिणी सभा चितवनले आजदेखि जिल्लामा बन्द आह्वान गरे पनि यहाँ खासै असर परेको छैन। चितवनका बजार खुलेका छन् भने सवारी साधन पनि सञ्चालनमा छन्। स्थानीय दूरीका सवारीमा भने केही प्रभाव परेको देखिएको छ। लामो दूरीका सवारी, म्याजिक भ्यान, मोटरसाइकल भने निर्वाध रुपमा सञ्चालन भइरहेको छ।

थारुसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले थरुहट क्षेत्र बन्द गरी आन्दोलन गर्दै आएका थिए। तर चितवन थरुहट क्षेत्रमा परे पनि चितवनमा असर परेको थिएन। आजबाट भने बन्द गर्ने भन्दै सभाले विज्ञप्तिमार्फत बन्द आह्वान गरेको घोषणा गरेको थियो। भरतपुर क्षेत्रमा बन्दकर्तासमेत देखिएका छैनन्।

यसअघि थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थारु सभासद् सङ्घर्ष समिति र थरुहट संयुक्त सङ्घर्ष समितिले थरुहट क्षेत्रमा आन्दोलन गर्दै आएका थिए। उनीहरुले चितवनलाई प्रादेशिक राजधानी बनाउन माग गरेका छन् ।

Tharuhat Protest 07सुनसरीको इटहरी, दुहबी, झुम्का बन्द

यसैबीच थारु सङ्घर्ष समिति र थारु कल्याणकारिणीसभा सुनसरीले गरेका बन्दका कारण तेस्रो दिन पनि सुनसरीको इटहरी, दुहबी, झुम्कालगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ। तराईका २२ वटा जिल्लालाई थरुहट प्रदेशमा राख्नुपर्नेलगायतका माग राख्दै छ दिने बन्दको आह्वान गरेको सङ्घर्ष समितिका सदस्य मिलीराम चौधरीले जानकारी दिए। (राससको सहयोगमा)

Leave a Reply to WillisAnymn Cancel reply

Your email address will not be published.