शीर्ष नेतालाई कैलालीमा टेक्न नदिने लक्ष्मण थारुको चेतावनी (भिडियोसहित)

Laxman Tharu in Kailali

लखन चौधरी/धनगढी

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शीर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन्। कैलाली-कञ्चनपुरसहितको थारु बाहूल्य जिल्लालाई थरुहट/थारुवान बनाउनुपर्ने माग गर्दै बुधबार पनि धनगढीमा निकालिएको विशाल विरोध जुलुसलाई सम्बोधन गर्दै थारूले उक्त चेतावनी दिएका हुन्।

उनले अगाडी भने, ‘थारूले आजसम्म कसैको सम्पत्ति खोसेको छैन, बरु दासको रुपमा कमैया/कमलरी बसेको छ। आज पहिचान र अधिकार माग्दा अन्याय गर्नेरु खबरदार शेरबहादुर देउवा, भिम रावल, विजय गछदार कैलालीमा पाइला टेकेर देखाउ?’

Kailali Protest

शोषित पीडित थारू समुदायको पहिचान मेटाउने गरी चार दलका नेताहरुले महेन्द्रकालीन संरचना लादेको भन्दै उनले कडा विरोध जनाएका थिए। यतिमात्रै नभइ केन्द्रीय सदस्य थारूले आफ्नै पार्टी अध्यक्ष गछ्दारसहित शीर्ष नेताहरुविरुद्ध मुर्दावाद भन्दै नारासमेत लगाए।

आफू तराईको जिल्ला-जिल्लामा पत्रकार सम्मेलन गर्दै आएको बताउँदै थारूले आउने केही हप्तासम्म जस्तोसुकै प्रकृतिको आन्दोलन गर्ने चेतावनी दिए। थरुहट आन्दोलनमा प्रशासनका साथै अन्य पक्षहरुले दमन गर्दै आएको भन्दै आक्रोश पोख्दै थारूले भने- ‘थारु समुदाय सबै युद्ध, आन्दोलन हेरिसक्यो, लडिसक्यो, धेरै रगतका खोला बगायो, अब उप्रान्त कसैले आन्दोलनलाई दमन गरेर देखाओस्, छातीमा गोली खान तयार छौं, थरुहट प्रदेश बनाएर छौड्छौं।’

त्यस्तै उनले थरुहट आन्दोलनमा सबैको अधिकार समान रहने बताउँदै अखण्ड सुदूर पश्चिम पक्षधरहरुलाई आपस मिलेर जान आग्रह गरे। ‘आउनुस् हामी सबै पक्ष मिलेर जाउ, हामी आफ्नो प्रदेश आफैँ बनाउ,’ उनले भने।

हजारौं-हजारको जनसहभागिता रहेको विरोध प्रदर्शन धनगढीको क्याम्पस चौंक हुँदै ट्राफिक चौराहामा पुगी कोण सभामा परिणत भएको थियो। कोणसभामा लक्ष्मण थारूसहित सदभावना पार्टीका केन्द्रीय सदस्य मुनेन्द्र सिंह, अनेस्वावियुका केन्द्रीय सदस्य रामचन्द्र चौधरीलगायतले सम्बोधन गरेका थिए।

त्यस्तै ट्राफिक चोराहाबाट फर्किएको विरोध जुलुस एलएन चोकमा पनि कोणसभामा परिणत भएको थियो। उक्त कोणसभामा थाकस कैलाली सचिव माधव चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरीलगायत नेताहरुले सम्बोधन गरेका थिए।

भिडियो हेर्नुस्

Leave a Reply to Zqcgwv Cancel reply

Your email address will not be published.