थारु संघर्ष समिति गठन, एमाले सभासद् आएनन्

Thau Lawmakersएमालेबाहेकका थारू सभासदले सीमांकन खाकाको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको उनीहरूको बैठकले थरुहट संघर्ष समितिसमेत गठन गरेको छ। संविधानसभामा प्रतिनिधित्व गर्ने ४२ थारू सभासदमध्ये एमालेसँग ६ सभासद छन्।

थरुहट संघर्ष समितिलाई थारू कल्याणकारी सभालगायत सामाजिक संघ–संस्थाहरू ऐक्यबद्धता जनाउँदै बैठकमा उपस्थित थिए। फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले संघर्षका कार्यक्रम सोमबार दिउँसो बस्ने बैठकले घोषणा गर्ने जानकारी दिए।

‘बहुमतको बलमा उत्पीडितहरूको हातखुट्टा बाँध्न खोजियो, संघीयताका नाममा जारी पुरानै एकात्मक शासनविरुद्ध आन्दोलनमा जानुको विकल्प रहेन,’ बैठकपछि चौधरीले भने, ‘मधेसी संघर्ष समितिसँग समन्वय गरेर आन्दोलनमा जान्छौं।’ चौधरीले फोरमलगायत चार असन्तुष्ट मधेसी दलसम्बद्ध मधेसी मोर्चासँग मोर्चाबन्दी हुने सम्भावना भने अस्वीकार गरे। ‘उहाँहरू मधेसी संघर्ष समितिमा आबद्ध हुनुभयो भने मात्रै मोर्चाबन्दी हुन्छ, नत्र हामी सबै दलका समर्थक र सामाजिक संस्थाहरूको सहयोगमा माग पूरा गराउन दबाब दिन्छौं,’ उनले भने।

१६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक अध्यक्ष विजयकुमार गच्छदारको निर्णयमा थारू सभासदहरूको सहमति नरहेको फोरम लोकतान्त्रिकले जनाएको छ। थरुहटमा माग गरिएका जिल्लाहरू कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा समावेश गरिएको तथा थारू उल्लेख्य संख्या रहेका मोरङ, सुनसरी, सप्तरीलाई पहाडसँग मिसाइएको भन्दै थारू सभासदहरू गच्छदारसँग क्रुद्ध छन्। सहमतिको प्रतिवेदनमा फरक मतसहित हस्ताक्षर गरेका गच्छदारले थारू सभासदलाई मनाउने कोसिस गरिरहेको स्रोतले जानकारी दियो।
गच्छदारले उत्तर-दक्षिण चिर्ने प्रस्तावमा सहमति जनाएसँगै फोरम लोकतान्त्रिक फुटको संघारमा पुगेको छ। संविधानसभामा १४ सभासद रहेको यो दलमा अध्यक्ष गच्छदारसँग अहिले ५ सभासद छन् भने बाँकी ९ सभासदलाई उपाध्यक्ष जितेन्द्र देव, महासचिव चौधरीलगायतले नेतृत्व गरिरहेका छन्। महासचिव चौधरीले पार्टीभित्र अन्तरविरोध चुलिएको सकारे पनि तत्कालै फुट्ने सम्भावना अस्वीकार गरे। ‘विजय दाइको निर्णयमा हाम्रो सहमति छैन, तर अहिल्यै पार्टी फुटैन,’ उनले भने। एमाले सभासदलाई पार्टी निर्देशन उल्लंघन नगर्न दबाब आएको अरू दलका थारू सभासदले खुलाएका छन्।
आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा केही थारू सभासदले मस्यौदाको प्रति च्यातेर विरोध जनाएका थिए। आइतबार साँझ बसेको संविधानसभा बैठकमा बोल्दै कांग्रेस सभासद सुरेन्द्र चौधरी, फोरम लोकतान्त्रिकका सभासद जनक चौधरी, सभासद गौरीशंकर चौधरीले थारूलगायत जनजातिको भावनाको शीर्ष नेताहरूले अपमान गरेको आरोप लगाए। थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरीले थरुहटबिनाको सीमांकनविरुद्ध आन्दोलन सुरु भएको भन्दै बहुमतका बलमा आफूहरूको हक नकाट्न चेतावनी दिए।

बसन्त बस्नेत/कान्तिपुर

Leave a Reply to Arnoldapper Cancel reply

Your email address will not be published.