कैलालीमा थरुहट भर्सेस अखण्ड, थारुको पनि आमहड्ताल घोषणा

फाइल तस्बिर
फाइल तस्बिर

कैलाली र कञ्चनपुरसहित थारुवान प्रदेश हुनुपर्ने माग राख्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले शनिबारदेखि आमहडताल घोषणा गरेको छ। आमहडताललाई विभिन्न ११ दलका नेताले समर्थन गरेको संघर्ष समितिका सचिव माधव चौधरीले बताए।

अखण्ड सुदूरपश्चिम हुनुपर्ने मागसहित अखण्ड पक्षधरले आमहडताललगायतका आन्दोलन सुरु गरेपछि थरुहट थारुवान संघर्ष समितिले पनि आमहडताल घोषणा गरेको हो। ‘हामीले कैलाली र कञ्चनपुर पहाडमा राख्न नहुने माग राख्दै आमहडताल घोषणा गरेका हौं,’ सचिव चौधरीले भने।

आन्दोलन चर्काउनका लागि शुक्रबार थारु कल्याणकारी सभाका संयोजक लाहुराम चौधरीको संयोजकत्वमा थारु समुदायसम्बद्ध संघ-संगठन र पहिचान पक्षधर राजनीतिक दल रहेको थरुहट थारुवान संघर्ष समिति गठन गरिएको उनले बताए। ‘एकीकृत माओवादी, नेपाली कांग्रेसका सचिव रामचरण चौधरीलगायत ११ दलका नेताले हाम्रो आन्दोलनमा समर्थन जनाएका छन्,’ उनले भने।

उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय गएर प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई आमहडतालबारे जानकारी गराएका थिए।

त्यस्तै कैलाली क्षेत्र नम्बर १ का थारु सम्बद्ध संघ संस्थाले थारुको मर्म र भावनाबिपरित राज्यको नामांकन/सीमांकन भए कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन्। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले राज्यको पुनःसंरचना गर्दा अन्तरिम संविधान २०६३ को धारा १३८ अनुसार पहिचानको ५ र सामार्थ्यको ४ आधारलाई मानेर राज्यको पुनःसंरचना गर्नुपर्ने अडान लिएका छन्। उनीहरुले नवलपरासी देखि कञ्चनपुरसम्म थरुहट/थारुवान राज्यहुनुपर्ने थरुहटको धारणा रहको स्पष्ट पार्दै मर्म र भावनाविपरित राज्य निर्धारण गरे कठोर आन्दोलन गर्ने चेतावनी दिए।

यता संघीय राज्य बनाउँदा सुदूरपश्चिम अखण्ड हुनुपर्ने माग राख्दै आह्वान गरिएको आमहडतालले शुक्रबार कैलाली पूर्ण रूपमा ठप्प भएको छ। मुख्य व्यापारिक केन्द्र धनगढीलगायत अत्तरिया, सुक्खड, लम्की, टीकापुरलगायत बजार बन्द रहे। सवारीसाधन चलेनन्। शिक्षण  संस्था, उद्योग, करकारखाना ठप्प भए।

सुदूरपश्चिम प्रवेशद्वारको रूपमा रहेको कैलाली बन्द हुँदा नौवटै जिल्लाको यातायात प्रभावित भयो।

कैलाली जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बन्दले जनजीवन प्रभावित बनेको जानकारी दिए। प्रदर्शनकारीले सरकारी कार्यालय र हवाई सेवासमेत बन्द गराउने प्रयास गरेको उनले बताए।

साँझ आयोजित प्रदर्शनमा थारु समुदायकी नेतृ चुनकुमारी चौधरीले पनि समर्थन जनाएकी थिइन्। उनले कोणसभालाई सम्बोधन गर्दै कैलालीलाई सुदूरपश्चिममै राख्दिा यस क्षेत्रका जनतालाई फाइदा पुग्ने बताइन्। ‘थारु समुदायको अधिकारको ग्यारेन्टी हुनुपर्छ तर कैलाली सुदूरपश्चिममै हुनु हितकारी हुन्छ,’ उनले भनिन्, ‘थारु र पहाडी दाजुभाइ मिलेर अघि बढ्नुपर्छ।

Leave a Reply to EverettJah Cancel reply

Your email address will not be published.