नयाँ संविधानका विषय बिहीबार टुङ्गो लाग्ने

 तस्बिर : कुमार श्रेष्ठ/रासस
तस्बिर : कुमार श्रेष्ठ/रासस

काठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिमा कार्यदलले दिएको प्रतिवेदनका अतिरिक्त नयाँ संविधानसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको छ। कार्यदल र विशेष समितिले समानान्तर ढङ्गले काम गरिरहेको तथा राजनीतिक प्रकृतिका विषयमा शीर्ष नेताबीच अनौपचारिक तर विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको छ।

बैठकमा सोमबारसम्म कार्यदलले गरेको कार्यप्रगतिका आधारमा केन्द्रित रहेर छलफल भएकामा आज बिहानदेखि बाँकी सुझाव सरोकार भएकाहरुले समितिमै आएर बुझाएका ज्ञापनपत्र र दलबीचमा आएका नयाँ सबै विषयवस्तुलाई टुङ्ग्याउने गरी छलफल भएको समितिका संयोजक बाबुराम भट्टराईले जानकारी दिए।

उनले भने, ‘प्रस्तावनादेखि थालेर काम अगाडि बढाएका छौँ, धेरै विषयलाई टुङ्ग्याउँदै गएका छौँ, केही महत्वपूर्ण विषय भने अझै बाँकी छन्, अघि बढ्ने क्रममा अड्किएका विषयवस्तुलाई छाड्दै सहमति भएका विषयलाई अघि बढाउने क्रममा सङ्घीय व्यवस्थापिकासम्म पुगेका छौँ।’

राज्यको पुनःसंरचना, सङ्घीयताको ढाँचालगायत विषय बुधबारसम्ममा टुङ्ग्याइने विश्वास उनले व्यक्त गरे। उनले भने, ‘सीमाङ्नकनसहितको सङ्घीयताको खाका भोलि(बुधबार)सम्म तयार गछौँ, त्यसपछि हामी अघि बढ्छौँ भन्ने सोच छ।’

सकेसम्म सीमा निर्धारणको विषय टुङ्ग्याइने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान जारी गर्दा सकेसम्म प्रदेशको सीमा निर्धारणको विषय टुङ्ग्याएर जारी गरिने बताए। उनले भने, ‘तर कथंदाचित यो विषयलाई टुङ्ग्याउन सकिएन भने सीमा निर्धारणकै कारण संविधान जारी नहुने अवस्था भने आउनु हुँदैन भन्नेमा हामी दृढ छौँ।’

जनताले दिएको सुझावअनुरुप प्रदेशको सङ्ख्या थोरै कायम गरेर अघि बढ्नुपर्छ भन्नेमा केन्द्रित रहेर छलफल भइरहेको र साउनभरिमै संविधान जारी गर्नुपर्छ भनेर छलफल गरी विषयवस्तुलाई किनारा लगाउँदै लगिएको जानकारी उनले दिए।

धर्मबारे साझा शब्दको खोजी
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यदल र विशेष समितिले आआफ्नो जिम्मेवारीअनुसार अलग्ग अलग समान रुपले काम गरिरहेको तथा छलफल गरी विषयवस्तुलाई टुङ्ग्याउँदै लगिएको र धेरै विषयवस्तुमा दलबीच निकटता रहेको बताए।

बुधबारसम्ममा दलहरु एउटा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले जनताका सुझावका आधारमा धर्मनिरपेक्षताको सट्टा सबैलाई मान्य हुने साझा शब्दको खोजीको प्रयास भइरहेको जानकारी दिए।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानको मस्यौदाको भाग र धारामा केन्द्रित रहेर भइरहेको छलफल सकारात्मक रहेको र प्रगतितर्फ उन्मुख रहेको जानकारी दिए।
विशेष समितिले बुधबारसम्ममा सबै विषयवस्तुलाई एउटा निष्कर्षमा पुर्‍याएर राजनीतिक संवाद समितिलाई प्रतिवेदन पेस गर्ने र सो समितिमा बिहीबार छलफल गरी संविधानसभामा पठाउने तयारी भइरहेको बताइएको छ। रासस

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.