थारु युवालाई भारतीय सैनिकमा भर्ति नलिएपछि अगुवाहरुले ज्ञापन पत्र बुझाए

मान बहादुर चौधरी ‘पन्ना’। थारु युवालाई भारतीय सैनिक सेवामा भर्ति नलिएपछि विभिन्न थारु संगठनले सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापन पत्र बुझाएका छन्। थारुहरुको छाता संगठन थारु कल्याण कारिणी सभा, सुर्खेत , गुरुवा बैदावा संघ र बडघर महातावा संघ सुर्खेतले संयुक्त हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझाएका हुन्।

इन्डियन आर्मीका लागि विभिन्न समयमा नेपालगञ्जमा भर्ती हुन गएका थारु युवालाई लाइनबाटै निकालिएपछि युवाहरुले थारु संगठनलाई दबाब दिएकाले नेपाल सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाएको थारु कल्याण कारिणी सभाका कृष्णबहादुर थारुले बताए।

नेपालमा बसोबास गर्ने गुरुङ, मगर, शेर्पा, बाहुन, क्षेत्रीलगायत अन्य सबै नागरिकलाई छनौट गर्ने तर थारु जातिका युवालाई अमानवीय ढङ्गबाट वञ्चित गरेकाले समान हक अधिकारका लागि पहल गर्न थारु संगठन जुर्मुराउनुपरेको थारु अगुवाहरुले बताए।

नेपालको अन्तरिम संविधान २०६३ को भाग ३ को उपधारा ३ मा राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जातजाति, लिङ्ग, उत्पत्ति, भाषा, वैचारिक आस्था वा तीमध्ये कुनै कुराको भेद्भाव गरिने छैन भनी स्पष्ट लेखिए पनि भारतीय सैनिक सेवामा रोक लगाइनुले हजारौ थारु युवाहरु रोजगारबाट वञ्चित हुनु परेको बताए।

ज्ञापन पत्रमा जातको आधारमा गरिने भेदभावको अन्त्य गरी स्वस्थ प्रतिस्पर्धाका आधारमा समान अवसरको वातावरण र व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरिएको छ।

वर्षेनि भारतीय सैनिक सेवाका लागि खोलिने भर्ति केन्द्रले रोजगारमा रोक लगाएपछि नीतिगत पहल गरिदिन जिल्ला प्रशासन कार्यालय वीरेन्द्रनगर सुर्खेतमार्फत् प्रधानमन्त्रीको कार्यालय र भारतीय राजदूतावास डिफेन्स बिङ्गे कल्याणकारी शाखा कार्यालय काठमाडौं,जिल्ला सैनिक बोर्ड कोहलपुर, बाँके , जिल्ला सैनिक बोर्ड सुर्खेतमा परिपत्र गरी आवश्यक कदम चाल्न प्रमुख जिल्ला अधिकारीमार्फत् आग्रह गरिएको छ।

Leave a Reply to EdwardCom Cancel reply

Your email address will not be published.