पद्मरत्‍न तुलाधर कम्पनीको धम्कीले तर्सिनेवाला छैन

r lekhi

राजकुमार लेखी। यो देशका सभामुख सुवास नेम्वाङ, स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, आदिवासी जानजाति महासंघका निवर्तमान अध्यक्ष म आफै, शेर्पा संघका पूर्व अध्यक्ष कृपाशुर शेर्पा, सभासद् शेरबहादुर तामाङलगायतलाई जनकारबाही, भौतिक कारबाही गेर्न निर्णय गरेको सुन्दा एकदम हाँसो उठ्यो र खुसी पनि लाग्यो। थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले यसको निन्दा गरिसक्नुभएको छ। उहाँले भर्त्सना पनि गर्नुभयो। म त खुसी मनाउन चाहन्छु।

राजकुमार लेखी संघीयताविरोधी रे, आदिवासी जनजाति विरोधी रे, आदिवासी थारु विरोधी रे, त्यसकारण कारबाही गर्ने रे। दुनियालाई थाहा छ, राजतन्त्रविरुद्ध, ब्राह्मणवादी सत्ताका विरुद्ध, ब्राह्मणवादका विरुद्ध, एकल जातीय राज्यका विरुद्ध, जातीय राज्यका विरुद्ध र आदिवासी जनाजाति समुदायभित्रैका सामन्ती चरित्रविरुद्ध लड्ने राजकुमार लेखी हो। राजकुमार लेखीलाई कसैले टीका लगाएर यो ठाउँमा पुर्यारएको होइन। टीका लगाएर आदिवासी जनजाति महासंघको अध्यक्ष बनाएको होइन, टीका लगाएर थारु कल्याणकारिणी सभाको महामन्त्री बनाएको होइन। म गरेरै आएको हुँ। त्यसकारण कसैले धाकधम्की देखाउँदैमा, भाटा, लाठी, बन्दुक, गोलीको धाकधम्की देखाउँदैमा राजकुमार लेखी तर्सिने मान्छे होइन। कालो सूचीमा राख्ने साथीहरुलाई म चुनौती दिन चाहन्छु।

अर्को कुरा, जो साथीहरुले पद्यमरत्न तुलाधरका कम्पनी, पद्यमरत्न तुलाधरको समूह, जसले यो निर्णय गरेको छ। उहाँहरुको यो अभियान, यो आन्दोलनलाई म अराजकतावादीको आन्दोलन भन्न चाहन्छु। पद्यमरत्नको समूहलाई, उहाँहरुको चिन्तनलाई म अतिवादी चिन्तन भन्न चाहन्छु। उहाँहरुको यो अभियान भनेको अन्तर्राष्ट्रिय समुदायबाट, देशविदेशमा रहेका आदिवासी जनजातिबाट चन्दा असुल्ने अभियान हो। फेसबुकमा, अनलाइनमा हामी हरेक हप्ता, हरेक महिना दुई-तीन पटक हेरिरहेका छौं। अष्ट्रेलियाबाट दस लाख चन्दा उठयो, जापानबाट १२ लाख चन्दा आयो, फलानो देशबाट यति चन्दा आयो। त्यसकारण म त्यो अभियानमा सरिक नभएकै कारण यदि कारबाही गर्छ भने, म चुनौतीका साथ सामना गर्न तयार छु। म एक्लै भिड्न तयार छु। कसैको धाकधम्कीले मेरो विचारलाई, मेरो दृष्टिकोणलाई बदल्न सक्दैन।

चार दिन अगाडि पद्यमरत्न तुलाधर एन्ड कम्पनी समूहका नेताहरुले बानेश्वरको बेकरी क्याफेमा बोलाएर यस्तै धम्कीको भाषा भनेका थिए। उनीहरुले मलाई धम्कीको भाषामा पद्यमरत्न तुलाधरको मोर्चालाई समर्थन गर्न भने। तपाईँहरुको समूहलाई लिएर सहभागी हुनुस् भन्दै धम्की दिए। मैले त्यहाँ पनि प्रतिवाद गरे- मेरो विचार बदल्न सक्दिनँ। दस वर्षदेखि एक्लै बोल्दै आएको छु भने त्यो विचार अर्को दस वर्ष म एक्लै बोल्न सक्छु। तपाईँहरुको धाकधम्कीको भाषाले म तर्सिनेवाला छैन। उहाँहरुले गरेको कुर्सीको आन्दोलमा म कदापी सहभागी हुन सक्दिन।

के हो उहाँहरुको माग? म प्रश्न गर्न चाहन्छु। पद्यमरत्न तुलाधरको माग के हो? आदिवासी जनजाति महासंघले २५ वर्षदेखि उठाउँदै आएको माग यदि गलत छ भने। थारु कल्याणकारिणी सभाले उठाएको माग यदि गलत छ भने। लिखित दस्तावेज आउनुपर्यो । त्यसपछि हामी छलफल गर्न तयार छौं। छलफल, बहस नगरिकन धम्कीको भाषामा तपाईँ पनि यहाँ आउनुस्, पिछलग्गु बन्नुस् भनेर हामी पिछलग्गु बन्ने? हामी त्यो गर्न तयार छैनौं।

सात दसक लामो संघर्षबाट प्राप्त उपलब्धीलाई, हजारौं नेपाली जनताको बलिदानीबाट आएको उपलब्धीलाई, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल र विजय गच्छदारका कारण समानुपातिक मिश्रित निर्वाचन प्रणाली आज खोसिने अवस्थामा पुगेको छ। संघीयताबाट देश पछाडि हट्दैछ। पहिलो संविधानसभालाई विघटन गर्ने यिनै चार जना खलनायकहरु हो। यिनै चार जना कलंकहरुले पहिलो संविधान सभालाई लम्ब्याएर संविधान सभाको विघटन गरेका हुन्। संविधान सभाको विघटन धनिराम चौधरीले गरेको. हो? राजकुमार लेखीले गरेको हो? अनि युवा फोर्सले राजकुमार लेखीलाई कारबाही गर्ने रे! तागत छ भने चार वटा नेतालाई कारबाही गरेर देखाओस्। तागत छ भने बालुवाटार दरबार, बल्खु दरबार, सानेपा दरबार अनि पेरिस डाँडा दरबार बस्ने यी अतिवादीहरुलाई कारबाही गरेर दोखाओस्।

सात दसक संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नसक्दा दोस्रो संविधान सभा पनि विघटनको संघारमा पुगेको छ। केही गरी विघटन भएन भने यी चार वटा नेताको षड्यन्त्रमै अधिकार बिनाको संविधान मात्र बनाउने पक्षमा यिनीहरु छन्। यी चार वटै नेताको मिलेमतो छ। एकआपसमा झगडा गरेको देखाउने र भागबन्डा गर्ने। संवैधानिक आयोगमा आफ्नो मान्छेहरु राखेर भागबन्डा गरेका छन्। लोक सेवा आयोग, निर्वाचन आयोग, मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डा गरेका छन्। अनि उनीहरुको भाषा हामीले बोल्नुपर्ने?

(थारु कल्याणकारिणी सभाको आइतबार अनामनगरमा आयोजित कार्यक्रममा लेखीले दिएको मन्तब्यको सम्पादित अंश)

Leave a Reply to EdwardCom Cancel reply

Your email address will not be published.