मधेसी मोर्चामा खटपट

विपक्षी गठबन्धनले चैत २४ देखि थाल्ने भनिएको ‘निर्णायक आन्दोलन’लाई लिएर मधेसी मोर्चाभित्र खटपट देखिएको छ । फोरम नेपाल, सद्भावना पार्टीलगायत मोर्चाभित्रका एकथरी दलहरू संविधानसभा नै छाडेर आन्दोलनमा जाने पक्षमा छन् । ‘यो सभाले जनआन्दोलन र मधेस विद्रोहको भावना प्रतिनिधित्व गर्दैन, त्यसैले संविधानसभाबाटै बाहिरिनुपर्छ,’ ती दलका नेता भन्छन् । 

फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिकलगायत भने सभा नछाडने, बरु वार्ताका लागि अन्तिम घडीसम्म कसरत गर्नुपर्छ भन्नेमा छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भन्छन्, ‘जनताले आन्दोलन चाहेकै छैनन् । सत्तारूढ दलहरूको हठका कारण आन्दोलन गर्नुपरेको हो । वास्तवमा यो आन्दोलन सहमतिका लागि दबाब दिनका लागि मात्रै हो ।’

आन्दोलन र वार्ता पक्षधरबीच यही मतभेदका कारण मोर्चाको माघ १८ यता बैठकसमेत बस्ने सकेको छैन । मोर्चाका नेताहरू ३० दलीय विपक्षी गठबन्धनको भेलामा एक-आपसमा भेट्छन् । औपचारिकताका लागि हल्का मुस्काउने, हात मिलाउनेबाहेक थप बोलचाल हुँदैन । मोर्चासम्बद्ध स्रोत भन्छ, ‘कोही त हातसमेत मिलाउँदैनन् । हेर्दासम्म हेर्दैनन् ।’

हाल मोर्चाको संयोजक रहेका सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मोर्चाभित्र संविधानसभा छाडेर आन्दोलनमा जाने कि संविधानसभामै रहिरहने मतभेद भएको खुलाए । उनी स्वयं भने सभासद् छैनन् । सभाभित्र झगडा गरेर केही नजित्ने भन्दै सडकमा जाने तयारीमा भए पनि मोर्चाभित्र सहमति जुटाउन नसकिएको उनको स्वीकारोक्ति छ । ‘यो संविधानसभाले परिवर्तनका एजेन्डा संस्थागत गर्दैन, किनकि हामीसँग पर्याप्त संख्या छैन,’ महतो भन्छन्, ‘सभाभित्र बसेर सत्तारूढहरूको एजेन्डा रोक्न सकिन्न, त्यसैले सभा छाड्नु नै उचित हुन्छ ।’

संविधानसभा छाडेपछि मात्रै सत्तारूढ कांग्रेस र एमालेलाई दबाब दिन सकिने मनोविज्ञान महतोलगायत केही नेताको छ । फोरम लोकतान्त्रिकलगायतको सभामा रहिराख्ने अडानका कारण मोर्चा टुक्रिन सक्ने महतोले खुलाए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार भने संविधानसभा छाडेर सडकमा जाँदैमा उपलब्धि हात नपर्ने तर्क गर्छन् । पूर्वी मधेसका कार्यकर्तासँग उनले बुधबार संविधानसभा छाड्नु भनेको जनमतको अपमान हुने बताएका थिए । ‘जुन सभाबाट संविधान बनाउँछौं भनेर हामीले जनतासँग भोट माग्यौं, त्यही सभाबाट बिनासंविधान बाहिर निस्कन मिल्छ ?’ उनले भने ।

गच्छदारको यो अडानलाई ‘आत्मसमर्पणवादी’ मान्नेहरू मोर्चाभित्रै छन् । आन्दोलनमा गए राज्यले थेग्न नसक्ने भन्दै गच्छदारले दिएको अभिव्यक्तिका कारण माघ १८ को मोर्चा बैठकमा तनाव उत्पन्न भएको थियो । त्यसयता मोर्चाको बैठक बस्नसमेत सकेको छैन । उनले संयोजन गर्ने गरेको मोर्चा अहिले चक्रीय नेतृत्व प्रणालीअन्तर्गत सद्भावना अध्यक्ष महतो नेतृत्वमा छ । तर, महतोले अहिलेसम्म कुनै बैठक राख्न सकेका छैनन् । फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवका अनुसार उनले अहिलेसम्म मोर्चाको बैठकै नबोलाएकाले नबसेको हो । ‘त्यसैले हामीबीच जेजे कुरा हुन्छ, ३० दलीय गठबन्धनमै हुने गरेको छ,’ देव भन्छन्, ‘बैठकै नबसेका बेला संविधानसभा छाड्ने कि नछाड्ने बहस कृत्रिम किसिमको छ ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गच्छदारको सभा नछाड्ने अडानलाई पदलोलुप मानसिकता भनी आरोप लगाउँछन् । जनतालाई अधिकार नदिन सत्तारुढ दलहरू लागेकाले सभा छाड्नुको विकल्प नभएको उनले जिकिर गरे । ‘जनताले चुनेको संविधानसभाबाट मधेसको हितमा संविधान बन्दैन भने त्यहाँ बसिरहनुको के अर्थ हुन्छ ?’ यादव प्रतिप्रश्न गर्छन्, ‘जनताले हामीलाई अधिकारसम्पन्न संविधान बनाउन पठाएको हो, आत्मसमर्पण गर्न होइन । जनताले चाहेजस्तो संविधान बन्दैन भने सभामा किन बसिरहने ?’

गच्छदारले गरिरहेका ‘सहमति’ का प्रस्तावहरू मोर्चाको नभएको भन्दै अरू दलका मधेसी नेताहरूले प्रतिवाद गरेका छन् । नारायणीपूर्व र नारायणीपश्चिम गरी दुई मधेससहित १० प्रदेशको पुरानो अडानमा कुनै पुनर्विचार नहुने महतो, उपेन्द्र यादवलगायत नेताको भनाइ छ । ‘गच्छदारका प्रस्तावहरू नितान्त व्यक्तिगत हुन्, किनकि, उनलाई आन्दोलन गर्नु नै छैन,’ महतोले भने । माघ ८ को संविधानसभा समयसीमाभन्दा ठीक अघि गच्छदारले नारायणीपूर्व र पश्चिम गरी दुई प्रदेशको मधेससहित जम्मा १० प्रदेश हुनुपर्ने मोर्चाको अडानमा पुनर्विचार गर्दै संघीय आयोगमार्फत विवाद टुंग्याउन सकिने नयाँ प्रस्ताव राखेका थिए । उनको यो प्रस्तावपूर्व मधेसी मोर्चामा कुनै पनि छलफल नभएको भन्दै अरू मधेसी दलले यसलाई स्विकारेका छैनन् । ‘गच्छदारले कांग्रेस र एमालेको प्रस्ताव ल्याएका हुन्, मोर्चाको होइन,’ उपेन्द्र यादव आरोप लगाउँछन्, ‘किनकि उनी कांग्रेसले पठाएका नेता हुन् । मधेसका नेता होइनन् ।’

फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव भने आफ्ना अध्यक्ष गच्छदार राष्ट्रिय व्यक्तित्व भएका नेता भएको हुनाले संवादका क्रममा विकल्पजन्य प्रस्ताव राख्नु स्वाभाविक भएको तर्क गर्छन् । त्यसमा कांग्रेस र एमालेले हुन्छ वा हुन्न भनेपछि मात्रै मोर्चाभित्र छलफल हुने उनले बताए ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले धेरै कुरेर बसेको भन्दै अब मौका हेरेर नबस्ने जनाउ दिए । ‘२४ गतेसम्म हेर्ने हो, त्यसपछि के गर्ने भन्नेमा सोच्नैपर्ने भएको छ,’ उनले भने, ‘संविधानसभा छाड्नेबारे हामीबीच छलफल चलिरहेकै छ ।’ यी सब घटनाक्रम नियाल्दै आएका राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेसी जनतालाई यो सभाबाट मधेसको पक्षमा संविधान आउँछ भन्ने विश्वास हुन छाडिसकेको बताए ।

बसन्त बस्नेत/कान्तिपुर दैनिकबाट

Leave a Reply to RandyAlted Cancel reply

Your email address will not be published.