पिएको तलब आफैं खानेमा तेजुलालदेखि डिल्ली चौधरीसम्म

Tejulal Chaudhary And Dilli Bahadur Chaudhary_Lawmaker

एकथरि सभासदले पिएको तलब पनि आफैले खाने गरेको तथ्य औपचारिक रुपमै देखिएको छ । ती सभासदले पिएको तलब आफैले लैजाने गरेका हुन् । सरकारले हरेक सभासदलाई पिएलाई दिन मासिक २४ हजार चार सय रुपैयाँ दिने गरेको छ । त्यसरी पिएको तलब आफै खाने सभासदमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत रहेका छन् । 

सभासदले पिए राखेपछि उनको नाम संसद सचिवालयमा बुझाए पुग्छ । अधिकृत स्तरको तलब पिएलाई दिएर सभासदले सचिवालयमा भर्पाइ मात्र पेश गरे हुन्छ । अधिकांश सभासदले नातागोतालाई पिए राखेका छन् र पिए वापतको तलब भर भित्राउने गरेका छन् । तर, चार दर्जनभन्दा धेरै सभासदले संसद सचिवालयमा अहिलेसम्म न पिएको नाम दिएका छन्, न पिएलाई तलब दिएको भर्पाइ नै बुझाएका छन् ।

‘पिएको नाम पनि नबुझाउने, भर्पाइ पनि नबुझाउने भनेको अनैतिक हो, भ्रष्टाचार हो, यसो गर्नु भनेको सभासदले पिएको तलब आफै खाएको ठहरिन्छ,’ आफूले त्यसो नगरेको दावी गर्दै एक सभासदले बताए ।

मन्त्रिमण्डलका सदस्यले तलब भत्ता वापतको रकम मन्त्रिपरिषद् सचिवालयबाटै पाउँछन् । त्यसैले उनीहरुले पिएको तलब सचिवालयबाट बुझ्दैनन् । तैपनि, आफ्नो पिएको नाम सचिवालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । मन्त्रिमण्डलबाट हट्नासाथ त्यस्ता सभासदले सचिवालयबाट पिएको समेत तलब पाउँछन् । तर, प्रधानमन्त्री सुशील कोइराला स्वयंले अहिलेसम्म संसद सचिवालयलाई पिएको नाम उपलब्ध गराएका छैनन् ।

सचिवालयमा पिएको नाम नदिने मन्त्रिमण्डलका सदस्यमा डा. रामशरण महत पनि छन् । त्यसैगरी चित्रलेखा यादवले पनि पिएको नाम उपलब्ध गराएकी छैनन् । मन्त्रीहरु पुरुषोत्तम पौडेल, नरहरी आचार्य र एनपी साउदले पनि पिएको नाम उपलब्ध गराएका छैनन् । savasad_pasalary

मन्त्रिमण्डलका सदस्यले पिएको तलब खाए भन्न नमिल्ने तर पिएको नाम र तलब बुझाएको भर्पाइ उपलब्ध नगराउनेले चाहिँ पिएको तलब खाएको दावी गर्न मिल्ने जानकारहरु बताउँछन् ।

‘अधिकांश सभासदले घरभित्रकै मानिसलाई पिए राखेर पिए वापतको तलब घर बाहिर जान दिँदैनन् तर पिएको नाम समेत उपलब्ध नगराउनु भनेको पिएको तलब आफै खानु हो,’ पारदर्शिता अभियानमा लागेका राजेन्द्र चौधरी बताउँछन् ।

सभासद सम्बन्धी आर्थिक नीति नियमका कारण पनि सभासदहरु भ्रष्ट हुँदै गएको उनको विचार छ । उनी भन्छन्, ‘राज्यले अधिकृत स्तरको तलब सुविधा पिए वापत दिन्छ तर उनले तलब पाएको तथ्यचाहिँ बालबालिकाको कापिको पानामा गरिएको भर्पाइमा दिइन्छ, यो भ्रष्टाचार हो ।’

महालेखा नियन्त्रक कार्यालयका एक अधिकृत भन्छन्, ‘सभासद आफैले पिएको तलब बुझ्ने र आफैले भर्पाइ गरेर संसद सचिवालयमा बुझाए पुग्ने व्यवस्था आर्थिक नियम विपरित हो भनेर हामीले धेरैपटक ध्यानाकर्षण गरायौं, बास्तवमा यसो गर्नु भ्रष्टाचार हो पनि भन्यौं तर उहाँहरुले सुनुवाई गर्नुभएन ।’

इमानदारीपूर्वक पिए राख्ने र तलब दिने सभासदहरु पिएलाई दिएको तलबको भर्पाइ जहिले बुझाए पनि हुने आश्चर्यजनक र भ्रष्ट नियमका कारण सभासद पदकै बदनामी भइरहेको छ ।

न्युजभित्ताबाट साभार

Leave a Reply to WillisAnymn Cancel reply

Your email address will not be published.