थाकस जिल्ला सभापतिहरुले भने- निर्णायक आन्दोलन गरौं

Thakasa Vela

थारु कल्याणकारिणी सभा (थाकस)को राष्ट्रिय भेलामा जिल्ला सभापतिहरुले आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। उनीहरुले थारुहरुलाई राज्यले पटक-पटक शोषण गर्दै आइरहेको भन्दै निर्णायक आन्दोलन गर्नुपर्ने बेला आएको बताए। आन्दोलनको अगुवाई पनि थाकसले गर्नुपर्ने उनीहरुको जोड थियो।

Shekhar Biswas, Thakasa_Morang

‘राज्यले थारुलाई पटकपटक शोषण गर्दै आएको छ। कहिले मधेसी बनाएर, कहिले थरुहट भूमि खोसेर राज्यले हामीलाई शोषण गर्दैछ,’ मोरङका कार्यबाहक सभापति शिखर विश्वासले भने, ‘त्यसैले अब निर्णायक आन्दोलन हुन जरुरी छ। आन्दोलनका लागि मोरङ तयार छ।’ त्यस्तै उनले तराईका आदिवासी थारुहरुलाई छुट्टै सूचीकृत गर्नुपर्ने धारणासमेत राखे। यसले गर्दा थारुहरुलाई स्रोतसाधनमा पहुँच बढ्ने उनको भनाइ थियो।

Punitlal Chaudhary, Thakasa_Sunsari

त्यस्तै सुनसरी सभापति पुनितलाल चौधरीले सम्पूर्ण थारुहरुसँग कार्यगत एकता गरेर निर्णायक आन्दोलनमा जानुपर्ने धारणा राखे। उनले थाकसको संगठनलाई सुदृढ पार्दै आन्दोलनको तयारी गर्नुपर्ने बताए। ‘आन्दोलनको विकल्प अब अरु हुन सक्दैन,’ उनले भने, ‘त्यसका लागि थाकसले थारुहरुको अन्य संस्था र पार्टीका नेताहरुसँग कार्यगत एकता गर्न जरुरी छ।’

उनले सरकारले अझै कमलरी प्रथा निर्मूल पार्न नसकेको बताउँदै त्यसतर्फ पनि थाकसको ध्यान आकर्षित गराए। त्यसका लागि थाकस आफैंले कार्यक्रम बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो। उनले आर्थिक हिसाबले बलियो हुनका लागि थाकसले कोषको स्थापना गर्नुपर्ने बताए।

Ashokkumar Chaudhary, Thakasa_Saptari

त्यस्तै सप्तरी सभापति अशोककुमार चौधरीले आदिवासी थारुहरुलाई ललिपप देखाएर फकाइ फुलाइ गरिरहेकोमा गम्भिर आपत्ति जनाए। उनले कांग्रेस-एमालेको ललिपपको लोभ नगर्न थारु अगुवा तथा नेताहरुलाई सचेत गराए।

Mahinarayan Chaudhary, Thakasa_Mahotari

महोत्तरी सभापति महीनारायण सिंहले थारुहरु मधेसी नभएको बताए। उनले जबरजस्ती मधेसी बनाउने सरकारविरुद्ध थारुहरुले निर्णायक आन्दोलन गर्नुपर्ने बताए। ‘हामी मधेसी होइनौं, हामी तराईका आदिवासी भूमीपुत्र हौं। मधेसीको बिल्ला भिराइने राज्यविरुद्ध हामी कडा आन्दोलन गर्छौं,’ उनले चेतावनी दिए।

Thakasa_Sarlahi

सर्लाहीका सभापतिले भने जसरी भए पनि थारुवान/थरुहट राज्य ल्याइछाड्ने बताए। ‘सानो संख्याको लिम्बुले लिम्बुवान, खुम्बुले खुम्बुवान पाउने, तराईकै पहिलो र देशकै चौथो जनसंख्या थारुले थारुवान/थरुहट नपाउने?,’ उनले प्रश्न गर्दै भने, ‘त्यस्तो हो भने हामी कडा आन्दोलनमा जान्छौं।’

Baleswar Chaudhary, Thakasa_Parsa

त्यस्तै पर्साका प्रतिनिधि बलेश्वर चौधरीले थारुहरुमै एकता नभएको भन्दै आन्दोलनका लागि कसरी प्रोत्साहन गर्ने प्रश्न गरेका थिए। उनले अहिलेसम्म सहिदहरुको सपना पूरा नगरेको, थारु संघर्ष समिति बेवारिसे अवस्थामा छाडेको, थारु नेताहरुबीच नै साझा एजेन्डा नभएको बताउँदै कार्यगत एकता नभएसम्म आन्दोलन सफल पार्न नसकिने बताए।

उनले विरगञ्जको थारु छात्राबास पनि लथालिङ्ग अवस्थामा रहेको बताउँदै त्यसको संरक्षणका लागि पहल गर्न थाकसलाई अनुरोध गरे।

Bisram Mahato, Thakasa_Chitwan

त्यस्तै चितवनका सभापति विश्राम महतोले अब थारुहरु राजकुमार लेखी र धनिराम चौधरीको मुख ताकेर नबस्ने बताए। उनले सबैजना लेखी र धनिराम चौधरी भइसकेको बताउँदै अब उनीहरुको मुख ताकेर नबस्ने बताए।

‘थारुहरु अब जागिसकेका छन्। उनीहरुले थाकस वा राजकुमार लेखी र धनिराम चौधरीको मुख ताकेर बस्दैनन्। उनीहरु आफैं अधिकारका लागि लड्नेछन्।’

महतोले काठमाडौंमा भवन बनाउन सबैले पहल गर्नुपर्ने समेत बताए। उनले जिल्लामा पनि सबैले आफ्नै बलबुतामा भवन बनाएको स्मरण गराउँदै सबैले आ-आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताए।

Ganeshman Mahato, Thakasa_Nawalparasi

त्यस्तै नवलपरासीका सभापति गणेशमान महतोले राजनीतिक शीर्ष नेताहरु सहमतीय र बहुमतीय प्रकृयामा अल्झिरहेको आरोप लगाए। उनले ती पार्टीका थारु नेताहरुलाई पार्टीको ह्विप लत्याएर थारु समुदायको अधिकारका निम्ति लड्न सुझाव दिए। ‘यदि तपाईँहरु सँच्चा थारु हो भने थारुको हक अधिकारको लागि लड्नुस्। पार्टीको ह्विपलाई लत्याउनुस्।’

उनले नवलपरासीको थारु संग्राहलय जलाउँदा पनि अहिलेसम्म पुनःनिर्माणको काम हुन नसकेको भन्दै त्यसतर्फ थाकसको ध्यानाकर्यण गराए।

Brijma Sing Tharu, Thakasa_Bardiya

त्यस्तै बर्दियाका वृजमा सिंह थारुले थारुहरु अझै विस्थापित रहेको उनीहरुको पुनःस्थापना हुन नसकेको बताए। उनले अबका दिनमा आन्दोलन आवश्यक रहेको बताउँदै थाकसलाई आन्दोलनको रणनीतिक तयार पार्न सुझाए। उनले आन्दोलनमा बर्दियाले सतप्रतिशत समर्थन जनाउने बताए।

RamPrasad Chaudhary, Thakasa_Bara

कार्यक्रममा बाराका रामप्रसाद चौधरीले थारु समुदायमा अझै दहेजप्रथा कायम रहेको बताउँदै त्यसलाई जडैदेखि उखेल्नुपर्ने बताए। सानो रोग सबैतिर सर्नसक्नेतर्फ सचेत गराउँदै उनले थाकसले यससम्बन्धी कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाए। उनले थारुहरुमा समाजिक नीति नियमको पनि आवश्यकता रहेको बताए।

Leave a Reply to Williambepsy Cancel reply

Your email address will not be published.