सात र १० प्रदेश दुवै धोका भन्दै थारुको विरोध

tharu_program

कांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि धेरै प्रदेश बन्नुपर्छ, पहाडमा भन्दा थोरै प्रदेश मान्दैनौं,’ थारु कल्याणकारिणी सभाको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने ।

 

उनले कांग्रेस एमालेले जातीय प्रदेश प्रस्ताव गरेको भन्दै ३० दलले त खुलेआम जातीय प्रदेश प्रस्ताव गरेकोमा विरोध गरे । उनले भने, ‘यो सरकार कांग्रेस एमाले भित्रको ब्राम्हण एकता परिषद हो । संविधानसभा पनि ब्राम्हण एकता परिषदको कब्जामा छ ।’

उनले आरोप लगाए, ‘३० दलमा मधेसवादीहरु पनि छौं भन्छन्, तर, ३० दल पहाडी एकता परिषद देखियो । तराईलाई सरासर ठग्ने गरी महेन्द्रवादी पारामा थोरै प्रदेश स्वीकार्नेहरुलाई जनताले भविष्यमा कारबाही गर्नेछन् ।’

कांग्रेस एमाले र ३० दल दुवैप्रति आक्रामक देखिएका लेखीले भने, ‘कांग्रेस एमाले देशमा एकतन्त्र चाहन्छन्, ३० दलले आतंक चाहन्छ । एकतन्त्र चाहने र आतंक चाहनेहरुलाई तराईलाई ठगेका छन् ।’

‘कांग्रेस एमाले संघीयतावादी नै होइनन्, यिनीहरुले संघीयताको नारा जपेर संघीयताको घाटी रेट्ने काम गरिरहेका छन्,’ उनले भने ।

पत्रकार सम्मेलनमा सभाका अध्यक्ष धनीराम चौधरीले भने, ‘थारु कल्याणकारिणी सभाले थारुको हित हेर्ने हो, हामीले धारणा राख्दा कुनै पार्टीलाई चित्त बुझ्दैन भने नबुझोस् । हामी थारुको हितमा बोल्न छाड्दैनौं ।’

उनले दावी गर्दै भने, ‘पञ्चायतकालमा थोरै जिल्ला बनाएर तराईलाई ठगियो, अब तराईमा थोरै प्रदेश बनाएर ठग्ने काम हुन लागेको छ । यस्तो अवस्थामा हामी कसरी चुप लागेर बस्न सक्छौं ?’

सभाले जारी गरेको धारणामा तराईलाई पहाडी क्षेत्रसँग मिसाएर प्रदेश बनाइए अमान्य हुने उल्लेख छ । सभाले ‘तराईलाई ठग्न पाईंदैन, पहाडमा भन्दा थोरै प्रदेश मानिँदैन’ भन्दै माघ १ गतेबाट आन्दोलन गर्ने भएको छ । तर, सभाले आन्दोलनको ठोस कार्यक्रम भने घोषणा गरेको छैन ।

अध्यक्ष धनीरामले भने, ‘हामी माघीलाई आन्दोलनका रुपमा मनाउँछौं, त्यसपछि चरणवद्ध आन्दोलन गर्छाैं ।

Leave a Reply to BillySut Cancel reply

Your email address will not be published.