भादा गाउँमा ७ हजार पर्यटक

vada-3

होमस्टे सञ्चालनमा आएपछि उर्मा-८, भादा गाउँमा पर्यटक आउने क्रम बढेको छ। पर्यटनको आगमनले गाउँमा विकास भएको छ। ‘पहिले गाउँमा नयाँ मान्छे आएपछि बोल्न लाज मान्थ्यौं, बाटोमा जताततै फोहोर हुन्थ्यो,’ स्थानीय कमला चौधरीले भनिन्, ‘अहिले सबैले सरसफाइमा ध्यान दिँदा गाउँ सुन्दर देखिएको छ।’ सबै जना पर्यटकसँग पनि खुलेर कुरा गर्ने भएको उनी बताउँछिन्।

‘गाउँमा होमस्टे सञ्चालन भएपछि बाहिरका मान्छे आउन थाले, घरमै पाहुना आउन थालेपछि गाउँ सुधार हुँदै गएको छ,’ उनले भनिन्, ‘पाहुनासँग नेपालीमा पनि कुरा गर्न सक्ने भएका छौं।’ भादा गाउँमा थारू समुदायको मात्र बसोबास छ। थारू जातिका एक सय ९६ घरधुरीमध्ये २० घरमा होमस्टे सञ्चालन गरिएको छ। होमस्टे नभएका घरका महिला र पुरुषसमेत पाहुनालाई थारू नृत्य देखाउने, स्वागत गर्नेलगायत काममा प्रत्यक्ष संलग्न भइरहेका छन्।

vada homestay

‘होमस्टे सञ्चालन पछि पर्यटक आउने क्रम बढ्यो, पर्यटकको आगमनले गाउँको विकास भएको छ,’ भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, ‘पहिले भन्दा अहिले गाउँ परिवर्तन भएको छ।’ अहिले हरेक जसो घरमा शौचालय छन्। पर्यटकको आगमनले स्थानीयबासीको चेतनास्तरमा वृद्धि भएको उनले बताए।

भादामा २०६७ सालदेखि होमस्टे सुरु भएको हो। होमस्टे सुरु भएदेखि हालसम्म करिब ७ हजार ७ सय जना पर्यटक भादा गाउँ पुगेका छन्। आएका मध्ये ६७ जना विदेशी पर्यटक छन्। ‘यो संख्या कम्तीमा पनि एक रात यहाँ बस्नेको हो। दिउँसो आएर घुमेर जानेको संख्या पनि उत्तिकै छ,’ अध्यक्ष चौधरीले भने। अमेरिका, भारत, क्यानडालगायत देशका पर्यटकसमेत यहाँ आएको स्थानीय बताउँछन्।

vada-1

गत वर्षमात्रै २ हजार बढी पर्यटक भादा पुगेका थिए। गाउँमा आएका पाहुनाबाट सरसफाइ, बोलचालसँगै खानपानका बारेमा समेत थाहा पाएको स्थानीय बताउँछन्।

पर्यटकलाई परम्परागत घरमा सुत्ने व्यवस्था, थारू परिकारका साथै विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिइने गरिएको छ। एक रात बसेको प्रतिव्यक्ति एक सय रूपैयाँ र एक छाक साधारण खानाको ८० रूपैयाँ मूल्य निर्धारण गरिएको छ। भादा गाउँमा होमस्टे सुरु भएपछि बाटोमा जिल्ला विकास समितिले ग्राभेल गरेको छ।

स्थानीयले आफू बस्ने घरमै केही सुविधा थपेर होमस्टे सञ्चालन गरेका हुन्। गाउँका हरेक घरका भान्सामा धुँवारहित चुलो निर्माण गरिएका छन्। ‘होमस्टेले थारू जातिको रहनसहन, संस्कृति, खानपानको समेत प्रचारप्रसार र प्रवर्द्धन भएको छ,’ स्थानीय कमला चौधरीले भनिन्।

vada-2

महोत्सवको तयारी बिहीबारदेखि भादा गाउँमा महोत्सव सञ्चालन हुँदैछ। महोत्सवमा स्टल राखिनुका साथै थारू समुदायका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ। महोत्सवमा ४० वटा स्टल राखिएको अध्यक्ष चौधरीले बताए। थारू जातिको खानपान, रहनसहन संस्कृति महोत्सवको मुख्य आकर्षणका रूपमा रहने उनले बताए। ‘होमस्टेको प्रवर्द्धनसँगै थारू जातिको रहनसहन, संस्कृतिको संरक्षण र कृषि तथा पर्यटनको विकासका लागि महोत्सव आयोजना गर्न लागेका हौं,’ अध्यक्ष चौधरीले भने।

‘महोत्सवमा थारू संस्कृति, रहनसहन, भेषभूषासहितको छुट्टै ‘थारू घर’ महोत्सवको मुख्य आकर्षणका रूपमा रहने छन्,’ उनले भने। महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।

दिलबहादुर छत्याल/नागरिक पश्चिमेली

Leave a Reply to RonaldVap Cancel reply

Your email address will not be published.