कैलाली-कञ्चनपुरबारे दाहालले बोली फेरेको थरुहट नेताहरुको दाबी

bhanuram_chaudhari_tharuhat

धनगढी- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्ताको दबाबका कारण कैलाली र कञ्चनपुर सुदूरपश्चिमबाट टुक्रयाएर थरुहटमा गाभिनुपर्छ नभनेपछि २२ दलीय मोर्चामा यस विषयमा खैलाबैला मच्चिएको छ। २२ दलको संयुक्त सभामा दाहालको यस्तो अभिव्यक्ति आउन नहुने भन्दै मोर्चामा आबद्ध अन्य दलले टिप्पणी गरेका छन्। ‘यो २२ दलको अवाज होइन्, हामीले अपेक्षा गरेको विपरीत दाहालबाट कैलाली र कञ्चनपुरलाई जाँहा राख्दा पनि हुने आश्यको अभिव्यक्ति आएको हो,’ सोमबार धनगढीमा थरुहट तराई पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष भानुराम थारुले भने।
शनिबार धनगढीमा आयोजित २२ दलको आमसभामा पुष्पकमल दाहालले विगतको भनाइलाई बदल्दै सुदूरपश्चिममा कैलाली र कञ्चनपुर कता राख्ने भन्ने विवाद रहेको र यो विवाद यस क्षेत्रका जनताको घरको विवाद भएकाले आफैं बसेर घरको झगडा मिलाउनुपर्ने अभिव्यक्ति दिएका थिए। यस क्षेत्रका जनताले मिलाएको कुरामा आफूलाई मान्य हुने उनले बताए।

एकीकृत माओवादीका यस क्षेत्रका प्रभावशाली नेता लेखराज भट्टलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाका नेता, कार्यकर्ता कैलाली र कञ्चनपुर टुक्र्याउन नहुने पक्षमा रहेकाले उनीहरुको दबाबका कारण दाहालले आफ्नो पुरानो धारणा विपरीत मध्यमार्गी अभिब्यक्ति दिएको बुझिएको छ।
‘दाहालले पूर्वतिरका सभामा बोल्दा थरुहट हुनुपर्छ भनेर भन्थे,याहाँ आएर बोली बदले। लेखराज भट्टको घरमा बसेका थिए, उहाँलगायतका पहाडी जिल्लाका नेता, कार्यकर्ताको दबाबका कारण उहाँले यहाँ त्यो अभिव्यक्ति दिएको हुनुपर्छ,’ अध्यक्ष थारुले भने।
दाहालको यो अभिव्यक्तिप्रति मोर्चाका अन्य दल पनि असन्तुष्ट रहेको उनले बताए।

22 party strike in dhangadhi

दाहालले कैलाली र कञ्चनपुर नटुक्र्याउदाँ पनि मान्य हुने आश्यको दिएको अभिव्यक्तिमा २२ दलीय मोर्चामा अन्य दलहरुको असहमि भएकाले मोर्चाको बैठकमा यसबारे छलफल गर्ने उनको भनाइ थियो।

मोर्चाका सचिवालय सदस्यसमेत रहेका थरुहट तराई पार्टीका सचिव मिनराज थारुले पत्रकार सम्मेलनमा दाहालबाट २२ दलको सभामा यस्तो अभिव्यक्ति नै आउन नहुने बताए।
‘दाहालबाट यस्तो अभिव्यक्ति आउन हुन्नथ्यो। यस विषयमा २२ दलको मोर्चाको सचिवालयमा गम्भीर छलफल गरिनेछ,’ उनले भने। हाम्रा न्यूनतम साझा मुद्दा नरहेमा मोर्चामा पार्टी नरहन पनि सक्ने उनले बताए।

सुदूरपश्चिम क्षेत्रमा कैलाली र कञ्चनपुर थरुहटमा हुने कि कैलाली र कञ्चनपुरसहितको अखण्ड सुदूरपश्चिम हुने भन्ने ठूलो विवाद छ। नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीभित्रकै कार्यकर्ता यो विषयमा विभाजित भएकाले पार्टी नेतृत्वलाई समेत समस्या हुने गरेको छ।

नेपाली कां‌ग्रेस र एमालेले कैलाली र कञ्चनपुर अखण्ड सुदूरपश्चिममा हुनुपर्ने नीतिगत निर्णय गरिसकेका छन्। यी पार्टीका थारु समुदायका कार्यकर्ता भने कैलाली र कञ्चनपुर थरुहटमै हुनुपर्ने धारणा राख्छन्।

एकीकृत माओवादीले १० राज्यसहितको खाका ल्याएर कैलाली र कञ्चनपुर थारुहटमा हुनुपर्ने एजेण्डा अघि सारेपछि अखण्ड सुदूरपश्चिम हुनुपर्छ आन्दोलन सुरु भएको थियो।
त्यसको ६ दिनपछि कैलाली र कञ्चनपुर थरुहटमै हुनुपर्छ भनेर थारुहट पक्षधरले आन्दोलन सुरु गरेका थिए।

22 party strike in dhangadhi 3

पहिलो संविधान सभा विघटनको पूर्वसंघारमा अखण्ड सुदूरपश्चिम हुनुपर्छ भनेर ३२ दिन र थरुहट हुनुपर्छ भनेर करिब त्यत्तिकै दिन लामो आन्दोलनले यो क्षेत्र ठप्प भएको थियो। यस क्षेत्रका नेता लेखराज भट्टलगायतका पार्टीका धेरै कार्यकर्ता अखण्ड सुदूरपश्चिमको पक्षमा उभिएका थिए।

पार्टीका कार्यकर्ता नै विभाजित भएपछि शीर्ष नेतृत्वलाई समेत कैलाली र कञ्चनपुरसहितको सुदूरपश्चिम कि कैलाली र कञ्चनपुरसहितको थरुहट भनेर धारणा राख्न असजिलो भएको छ।

संविधान सभा विघटनपछि मात्र आन्दोलन रोकिएको थियो। दोस्रो संविधान सभाको निर्वाचन नतिजामा मुख्य यही मुद्दाले प्रभाव पारेको थियो। कैलाली र कञ्चनपुर टुक्र्याउने पक्षमा उभिएको एकीकृत माओवादीले ठूलो हानी बेहोर्नुपरेको थियो।

अघिल्लो चुनावमा १६ सिट जितेको माओवादीले यो चुनावमा १ सिटमा चित्त बुझाउनु पर्‍यो।
कैलालीमा थारु समुदायको बाहूल्यता भएको क्षेत्र नं १, क्षेत्र नं ३ र क्षेत्र नं ४ मा थारु उम्मेदवारले नै चुनाव जिते। नेपालीका कांग्रेसका यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका भीम रावल र एकिकृत माओवादीका लेखराज भट्टलगायतका अखण्ड सुदूरपश्चिमको पक्षमा आवाज उठाँउदै आएका छन्।

तथ्यांक कार्यालय दिपायलका निमित्त प्रमुख दानबहादुर ऐडीका अनुसार सुदूरपश्चिममा जम्मा २५ लाख ५२ हजार ५ सय १७ जनसंख्यामध्ये थारुको जनसंख्या ४ लाख ३४ हजार ३ सय ४ छ। यो पूरै जनसंख्याको करिब १७ प्रतिशत हो।

सुदूरपश्चिममा थारु सबैभन्दा बढी कैलालीमा छन्। कैलालीमा ३ लाख १८ हजार ८ सय ३७ छन्। यो कैलालीको पूरै जनसंख्याको ४१ प्रतिशत हो।

तथ्यांक कार्यालय दिपायलका अनुसार कञ्चनपुरमा १ लाख १४ हजार ७ सय ३७, डोटीमा ३ सय २५, अछाममा १ सय ५१, डडेल्धुरा ७६, बाजुरामा ६२, दार्चुलामा ४०, बैतडीमा २९ र बझाङमा ११ थारु छन्।

-दिलबहादुर छत्याल/नागरिक पश्चिमेली

Leave a Reply to AlbertMam Cancel reply

Your email address will not be published.