छातीमा गोली खान तयार छु तर कैलाली-कञ्चनपुर टुक्रिन दिन्न : लक्ष्मण थारु

Laxman Tharu

धनगढी- फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले नेपाली कांग्रेसले ल्याएको ६-७ प्रदेशको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा उनले सो प्रस्ताव पञ्चायती र यथास्थितिवादीको जस्तो भएकाले कुनै हालतमा मान्य नहुने बताए। उनले भने, ‘छातीमा गोली खान परेपनि ७ प्रदेश मानिँदैन। यो कैलाली र कञ्चनपुरलाई टुक्र्याएर थारुको पहिचानलाई मेटाउने प्रयास भएको छ।’

थरुहट तराई लोकतान्त्रि परिषद्का अध्यक्षसमेत रहेका थारुले कांग्रेसको प्रस्तावमा एमालेले मौन समर्थन जनाएको आरोप लगाए। उनले वर्षौंदेखि उत्पीडनमा परेका वर्गलाई पुनः अधिकारविहीन बनाउने प्रपञ्च रचिएको बताए। ‘यस्तो संघीय प्रदेशले न तराईको विकास हुन्छ, न पहाडको,’ उनले ठोकुवा गरे।

आदिवासी थारु, मधेसी, मुस्लिम, पहाडीलगायत समुदायको अकअधिकार सुनिश्चित गर्न तराईको कञ्चनपुरदेखि चितवनसम्मका जिल्लालाई समेटेर एक प्रदेश बनाउनुपर्ने उनले माग गरे। उक्त प्रदेशलाई ‘थरुहट’को विकल्पमा अरु पनि राख्न सकिने उनले बताए।

उनले कैलाली र कञ्चनपुरप्रति आफू गम्भिर रहेको बताउँदै अखण्ड सुदूरपश्चिम आन्दोलन गरेर जनतालाई दुःख दिने काममात्र गरेको आरोप लगाए। शेरबहादुर देउवा र भीम रावललाई लक्षित गर्दै लक्ष्मण थारुले भने, ‘थारु र पहाडीबीच वैमनस्यता सिर्जना गर्न छाड्नुपर्छ। सुदूरपश्चिम आन्दोलन र थरुहट/थारुवान आन्दोलन पनि थारु र पहाडी समुदायबीच भएको होइन। यो त शासक र शोषित वर्गबीचको लडाइँ थियो।’

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.