थाकसको २१औं महाधिवेशन : अध्यक्षमा धनिराम र चन्द्रकुमारको चर्चा

logo tharuसन्तोष दहित, दाङ, थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको दिन नजिकिँदै गर्दा नेतृत्वको लागि दुई जनाको नाम चर्चा परिचर्चा जिल्लादेखि राजधानीसम्म चलिरहेको छ। विशेषगरी थारु कल्याणकारिणी सभाको शाखा रहेको जिल्लादेखि इकाइ कमिटीसम्म यसपटकको नेतृत्व कसलाई दिने व्यापक छलफल र बहस भइरहेको छ। अहिलेसम्म रुपेन्देहीबासी तथा इन्जिनियर धनिराम चौधरी र वर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीको बढी चर्चा हुँदै आएको छ। थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशन यही असोज २९ देखि ३१ गतेसम्म झापाको विर्तामोडमा हुँदैछ।

यसपटक कुनै पनि हालतम आफू अध्यक्ष हुनपर्ने भन्दै धनिराम चौधरी जिल्ला दौडाहमा छन्। २०औं महाधिवेशनमा पनि सहमतिको लागि आफू अध्यक्ष पद छाडेकाले यसपटक जसरी पनि आफू हुने उनी बताउँछन्। लामोसमयदेखि थारु कल्याणकारिणी सभामा योगदान दिइसेकेकाले पनि उनी आफू सर्वसहमतिमा नेतृत्व पाउने आशा गरेका छन्।
उनले भने, ‘पूर्वदेखि पश्चिमका साथीहरुले पनि यसपटकको अध्यक्ष तपाईँ नै हुनुपर्छ भनिरहेका छन्। त्यसैले पनि आफू यसपटकको नेतृत्वको दाबी गरिरहेको छु र अध्यक्षको लागि उम्मेदवरी पनि घोषणा गरेको हुँ।’
‘अधिकांश साथीहरुले पनि मलाई साथ दिइरहेका छन्,’ उनले भने, ‘नेतृत्वका लागि सकेसम्म सर्वसहमतिबाट नेतृत्व चयन गर्ने, यदि सहमाति नभए दुई तिहाइ मतले आफ्नो जीत हुने चौधरीले बताए। उनले पूर्वमहामन्त्री राजकुमार लेखीदेखि लिएर पूर्व अध्यक्ष, वर्तमान केन्द्रीय पदाधिकारीहरु खुलेर समर्थन गरिसकेको बताए। उनले जिल्लाका पार्षद र प्रतिनिधिहरुले पनि आफ्नो प्रचार प्रसारमा लागिपरेको बताए। उनले भने, ‘अहिलेसम्म अध्यक्षको लागि मेरोमात्र उम्मेदवारी घोषणा भएकाले पनि आफू निर्विरोध अध्यक्ष हुने विश्वास छ।’
यता वर्तमान अध्यक्ष चन्द्रप्रसाद चौधरीले पनि उम्मेदवारीको घोषणा गर्ने गाईँगुईँ रहेको उनले बताए। ‘उनको नेतृत्व असफल भएकाले उनलाई अब कसैले सहयोग गर्दैन,’ उनले भने।

उनले सकभर सहमतिमा नेतृत्व चयन गर्ने र कारणबश अरुको उम्मेदवारी परे पनि जित आफ्नै हुने दाबी गरे।
चौधरीको प्रचार प्रसारमा सँगै निस्केका थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री तथा जनजाति नेता राजकुमार लेखीले थारु कल्याणकारिणी सभाको नेतृत्व गर्नसक्ने र सबै थारुलाई एक ठाँउमा ल्याउनसक्ने धनिराम चौधरी मात्र रहेकाले आफूले धनिराम चौधरीलाई समर्थन गरेका बताए। उनले धनिराम चौधरी एक बौद्धिक व्यक्ति र उनमा बहस गर्नेसक्ने क्षमता भएकाले सबै थारु बुद्धिजीबी र युवा वर्गले धनिरामलाई सहयोग पुर्‍याउनपर्ने बताए।
थारु समुदायको अधिकारलाई स्थापित गर्न थारु कल्याणकारिणी सभामा धनिराम चौधरीको खाँचो रहेकाले पनि आफूले धनिराम चौधरीलाई समर्थन गरेको उनले बताए।
‘अहिलेको मुख्य मुद्दा भनेको संघीयतासहितको संविधान निर्माण गर्नु हो। यो मुद्दालाई सफल बनाउको थारु कल्याणकारिणी सभाम धनिरामको आवश्यक्ता छ, त्यसैले हामी सबै धनिरामलाई नेतृत्व सुम्पिनुपर्छ,’ लेखीले भने।

वर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीले पनि पुनः एक कार्यकालको लागि उम्मेदावरी दिने बताएका छन्। आफ्नो कार्यकालमा थारु समुदायको हितका लागि धेरै काम गरिसकेको र बाँकी रहेको कामलाई सफल बनाउन पुनः एकपटक आफू उम्मेदवारी दिन लागेको उनले बताए।
उनले आफ्नो कार्यकालमा कमलरी आन्दोलनदेखि लिएर थारु समुदायको मुद्दालाई विशेष उठान गरेको पनि बताए। तर चौधरी प्रचार प्रसारमा खुलेर लागेका छैनन। उनी भन्छन्, ‘आफू सबैको अगाडि थारु समुदायको हितको लागि काम गरिसकेकाले सबैले आफूलाई नै सहयोग गर्ने विश्वास छ।
थारु कल्याणकारिणी सभाको नेतृत्वका लागि व्यापक चर्चा भए पनि अन्य पदको लागि खासै नाम आएको छैन। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम तय भइसकोको अध्यक्ष चन्द्रकुमार चौधरीले जनाकारी दिए।
त्यसैगरी कार्यक्रममा गृहमन्त्री, थारु सभासद, प्रमुख पार्टीका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको उनले थारुवानडटकमलाई बताए।

Leave a Reply to WilliamTum Cancel reply

Your email address will not be published.