भलिबल टोलीमा चार थारु युवती छनौट

Sarswoti And Nebika Chaudhary
सरस्वती चौधरी (बीच) र नेविका चौधरी (दाँया)

काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका लागि दुई टोली छनोट गरिसकेको बताए। नेपालले भदौ १९, २० र २२ गते राखेप कभर्ड हलमा मैत्रीपूर्ण खेल खेल्नेछ। माल्दिभ्स टोली बुधबार नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ।

माल्दिभ्सविरुद्धको खेल नेपाली महिला भलिबल टोलीको दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेल हो। महिला टोलीले पहिलोपल्ट २०४४ सालमा थाइल्यान्डसँग मैत्री खेल खेलेको थियो। जुन नेपाली महिला भलिबलको पहिलो अन्तराष्ट्रिय खेल थियो।

प्रशिक्षक रिमालले टिम छुट्याइए पनि दुवै टोलीलाई सन्तुलित टोली बनाउने प्रयास गरेको बताए। आठौं र दसौं दक्षिण एसियाली खेलकुद (साग) को अनुभव हासिल गरेकी बिनिता बुढाथोकीको कप्तानीमा टिम ‘ए’ र दसौं साग खेलेकी मञ्जु गुरुङको कप्तानीमा टिम ‘बी’ टोली तयार पारिएको छ।

टिम ‘ए’ मा विनितासँगै रमिला तण्डुकार, नेबिका चौधरी, प्रतिभा माली, हीरा केसी, सरस्वती चौधरी, कोपिला उप्रेती, अरुणा शाही, चन्दा राना, कृपा अधिकारी, कमला पुन र सलिना श्रेष्ठ छन्। न्यु डायमन्ड एकेडेमीकी १३ वर्षे प्रतिभा टोलीकी कान्छी खेलाडी हुन्। ‘ए’ टोलीका कोपिला र विनिताबाहेक सबैले पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल्ने अवसर पाउने छन्।

टिम ‘बी’ मा मञ्जुसँगै परीक्षा गुरुङ, पार्वती अर्याल, निमा श्रेष्ठ, उषा विष्ट, चूडा खड्का, मनीषा चौधरी, रेश्मा भण्डारी, डोल्मा लामा, सुशीला थापा, सुप्रिया गुरुङ र ज्योति चौधरी छन्। ‘बी’ टोलीकी मञ्जु, निमा र चूडाबाहेक सबैले पहिलोपल्ट राष्ट्रिय टोलीबाट खेल्दैछन्। कोपिला, विनिता, मञ्जु, निमा र चूडा श्रीलंकामा सम्पन्न १०औं सागमा कांस्य जित्दा नेपाली टोलीका सदस्य थिए।

मैत्रीपूर्ण खेलका लागि भलिबल संघले साउन २१ देखि सातदोबाटोमा बन्द प्रशिक्षण सञ्चालन गरेको थियो। बन्द प्रशिक्षणमा रहेका सबै २४ खेलाडीले माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेललाई टोलीमा परेका हुन्। प्रशिक्षक रिमालले सबै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन दुई टोली बनाइएको बताए। उनले भने, ‘संघको निर्देशनमा हामीले दुई टोली बनाएका छौं। महिला टोलीको अन्तर्राष्ट्रिय अनुभव कम छ। घरेलु कोर्टमै हुने खेलमा धेरै खेलाडीलाई अवसर दिँदा भविष्यमा राम्रो हुन्छ।’

नेपाली महिला भलिबल टोलीले अहिलेसम्म दुई मात्र आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको इतिहास छ। दुवैपल्ट नेपालले कांस्य पदक जितेको थियो। काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं र २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा नेपाली महिला टोलीले कांस्य पदक जितेको थियो।

Leave a Reply to JohnnyTaf Cancel reply

Your email address will not be published.