दुई फोरम फेरि मिल्दै, रामजनमसहित चार सदस्सीय कार्यदल गठन

Bijay-Upendra

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रक्रिया थालेका छन्। यससँगै फोरम नेपाल, तमलोपा र सद्‍भावना पार्टी एकीकरण अन्योलमा परेको छ। तराई मधेस लोकतान्त्रिक पार्टी र सद्‍भावना पार्टीबीच एकीकरण प्रक्रिया अघि बढिरहेको बेला फोरम नेपालले फोरम लोकतान्त्रिकसँग एकीकरण प्रयास थालेको हो। यसका लागि चार सदस्यीय कार्यदलसमेत गठन भएको छ। केही दिनअघि फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले फोरम नेपालसँग पार्टी एकीकरण गर्ने र यसको जिम्मेवारी अध्यक्ष विजय गच्छदारलाई दिने निर्णय गरेको थियो। त्यसपछि दुवै दलका अध्यक्षबीच गच्छदारनिवासमा ‘लन्च’सहित तीनचरण गोप्य भेटवार्ता भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार शीर्ष तहमा वार्ता भएपछि कार्यदल गठन गरिएको हो।

कार्यदलमा फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव, रामजनम चौधरी र फोरम नेपालबाट राम साह यादव र लालबाबु यादव सदस्य छन्। कार्यदलका सदस्यबीच एकचरण छलफल भएको र अर्को बैठक केही दिनमै हुँदैछ। आगामी जेठभित्रै दुई पार्टीबीच एकीकरणको घोषणा गर्ने तयारी रहेको दुवै पार्टीका नेताहरूको दाबी छ।

‘म काठमाडौं आउनेबित्तिकै कार्यदलमा अर्को चरणमा कुराकानी हुँदैछ। आगामी जेठभित्रै दुई पार्टीबीच एकीकरणको घोषणा गर्ने मिसन छ,’ कैलालीमा रहेका फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले नयाँ पत्रिकासँग भने, ‘फोरम लोकतान्त्रिक र फोरम नेपालबीचको एकता धेरै सजिलो छ। हामी फोरम नेपालबाटै फुटेकाले नाम, झन्डा, विधान, चुनावचिह्नमा कुनै विवाद हुँदैन।’

स्रोतका अनुसार फोरम लोकतान्त्रिकका नेताहरूले छलफलमा दुई पार्टी एकीकरण भए फोरम नेपालले प्रस्ताव गरेको नाम, झन्डा, चुनावचिह्न मान्ने बताएका छन्। स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष यादव तमलोपा र सद्‍भावनासँगभन्दा फोरम लोकतान्त्रिकसँग एकीकरण हुनेमा बढी आशावादी छन्। फोरम लोकतान्त्रिकसँग एकीकरण भएमा अध्यक्ष पनि यादव नै हुने सम्भावना रहेको नेताहरूको भनाइ छ। कार्यदल सदस्य चौधरीले भने एकीकरणपछि अध्यक्ष को हुने भन्नेबारे टुंगो नलागेको बताए। ‘अध्यक्षको कुरा मिल्छ, धेरै कुरा अघि बढिसकेको छ,’ उनले भने।

उता, फोरम नेपाल, तमलोपा र सद्‍भावना पार्टीबीच एकीकरण गर्न नीतिगत र सैद्धान्तिक सहमति भइसकेको छ। फोरम नेपालका अध्यक्ष यादवले प्रस्तुत गरेको प्रस्तावना मस्यौदामा समेत सहमति भएको थियो। तर, तीन दलका शीर्ष नेताबीच २३ चैतयता अर्को बैठक बसेको छैन। फोरम नेपालका अध्यक्ष यादवले समय नदिएकाले बैठक बस्न नसकेको अन्य दलका नेताहरूले बताएका छन्।

तीन पार्टीबीच एकीकृत पार्टीको नाम के हुने भन्नेमा सहमति भइसकेको छैन। सद्‍भावना पार्टीका नेताहरूले एकीकृत पार्टीको नाममा सद्‍भावना शब्द राख्नुपर्ने बताएका छन् भने फोरम नेपालका नेताहरूले आफ्ना अध्यक्ष यादवले प्रस्ताव गरेको समाजवादी लोकतान्त्रिक पार्टी रहनुपर्ने अडान राखेका छन्। तीन पार्टी एकीकरणका लागि बनेको कार्यदलले पनि नाम, झन्डा र विधानबारे सुझाबसहितको प्रतिवेदनसमेत बुझाइसकेको छ।

यसैबीच, तमलोपाबाट छुट्टिएको तराई मधेस सद्‍भावना पार्टीले फोरम नेपालसँग पार्टी एकीकरण गर्ने नीतिगत निर्णय गरेको छ। तमसपाको केही दिनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

नया पत्रिका साभार

Leave a Reply to Andrewned Cancel reply

Your email address will not be published.