थरुहट नपाए राजीनामा दिइन्छ : गंगा चौधरी

Ganga-chaudharyकाठमाडौं- संविधानसभामा थारु समुदायका महिला सभासदको उपस्थिति थोरै भए पनि सशक्त छ। प्रायः बहसमा भाग लिइरहने सभासद रुक्मिणी चौधरी दोस्रोपटक सभासद बनेकी छन् भने नाताले रुक्मिणीकी जेठानी पर्ने गंगा चौधरी पहिलोपटक सभासद भएकी छन्। गंगा र रुक्मिणी दुबैको पहिले पार्टी एउटै थियो, अहिले बेग्लाबेग्लै छ।
प्रायः थारु भेषभुषामा संसदमा उपस्थित हुने गंगा थरुहट तराई पार्टीकी सभासद हुन्। उनको पार्टीबाट गोपाल दहित र उनीसमेत दुईजना सभासद छन्। गंगाको प्रस्तुती र ‘ड्यासिङ’ संविधानसभामा सशक्त छ।
‘स्कुलमा एक हजारको पियनको जागिर छुटाएर पहिलो संविधानसभामा मैले नै रुक्मिनीलाई सभासद बन्न लगाएकी हुँ, गंगा भन्छिन्,’ यसपालि म पनि संविधानसभा आएँ, रुक्मिनीले अर्कै पार्टी बनाएकी छ, चुनावअघि नै एकता गर्न खोज्दा मान्दै मानिन।’

थरुहट नपाए राजीनामा दिने
सभासद गंगाले थरुहट प्रदेश नभए सभासदबाटै राजीनामा दिएर सडकमा जाने चेतावनी दिएकी छन्। चितवनदेखि कञ्चनपुरसम्म अवस्थित भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने चौधरीको माग छ।
‘हाम्रो आवाज सुनिएन भने संविधानसभाबाटै राजीनामा दिन्छौं र सडकमा जान्छौं, अनलाइनखबरसँग कुरा गर्दै सभासद चौधरीले भनिन्- ‘हामी ४० लाख थारु छौं, १ लाख थारु मर्न पनि तयार छौं। मधेसी पनि स्वीकार गदैर्नौं। थरुहट राज्य पनि छाड्दैनौं।’
थारुहरु गौतमबुद्ध थारुको सन्तान भएको भन्दै उनले भनिन्- दाङको सुखौराकोटमा गएर हेर्नुस, थारु राजाले राज्य गरेको जगजाहेर छ। गौतमबुद्ध थारुको सन्तान हो। हामी गौतम बुद्धका सन्तान हौं।’
पहिचानसहितको संघीयताको पक्षमा एमाओवादीसहितका दलहरुसँग एक ठाउँमा आउने उनले बताइन्। ‘यसपालि १२/१३ दिनको भन्दा ठूलो आन्दोलन हुन्छ,’ उनले भनिन्- उनीहरुले वर्गीय, जातीय, लिङ्गीय कुरा गर्दा क्रान्तिकारीको विल्लाबाट सम्मान गरिन्छ। त्यही शब्द हामीले प्रयोग गर्दा विखण्डनकारीको घेरामा राखिन्छ, यो कस्तो विडम्बना?’
संविधानसभा निर्वाचनमा पहिचान पक्षधर हारेको नभइ हराइएको भन्दै सभासद चौधरीले भनिन्- मसँग पूरै प्रमाण छ, आवश्यक परेको दिन सार्वजनिक गर्छु, कसले कति पैसा बाँडेको छ भनेर।’
आफ्नो लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा ९ सय २७ थारु महिलालाई संगठित गरेकी उनी ‘जय गुरुदेव’की अनुयायीसमेत हुन्। जयगुरुदेवका ४५ सय चेलाले आफ्नो पार्टीलाई मत दिए पनि धाँदली गरेर मतपेटिका साटेको उनको आरोप छ।
संविधानसभा र संसदका बैठकहरुमा थारु समुदायको भेषभुषामा सजिएर जाने सभासद चौधरी आफ्नो क्षमताले भ्याएसम्म आफूलाई मत दिने जनताको पक्षमा काम गर्ने बताउँछिन्।
छोराछोरी हुर्किएकी उनी र श्रीमान दुबै थरुहट पार्टीका उपाध्यक्ष छन्। आफ्नो पालामा स्कुल जाँदा पोथी बासेको भन्दै खिसी गरिए पनि पछि एनजीओलाई पढेकी थारु महिला चाहिएकाले आफूले केही समय एनजीओमा जागिर खाएको उनी बताउँछिन्। तराईमा थरुहट आन्दोलनसँगै नेपाली कांग्रेस छाडेर राजनीतिमा लागेकी गंगा एक मधेस प्रदेशको चर्को विरोधी हुन्। थारुलाई मधेसीको सूचीमा राखिएकोमा पनि उनको आपत्ति छ।
‘मलाई राजनीतिमा त्यति चासो थिएन। पाए जागिर गर्छु, नभए खेती किसानी गर्छु भन्ने सोचेकी थिएँ। सुरुमा म भोटर मात्र थिएँ। कांग्रेसमा आस्था राख्थें,’ सभासद चौधरीले अनलाइनखबरसँग भनिन्- ‘जब एक मधेस, एक प्रदेशका लागि आन्दोलन भयो र थारुलगायतका ९२ जातजातिलाई मधेसीमा सुचीकृत गरियो, त्यसपछि पहिचान समाप्त गर्ने पार्टीमा बस्नु बेकार छ भन्ने लाग्यो र मैले कांग्रेसबाट राजीनामा गरें र थारु आन्दोलन हुँदा संयुक्त थारु राष्ट्रिय मोर्चामा आबद्ध भएँ।’
अरुले वर्गीय, जातीय, लिङ्गीय कुरा गर्दा क्रान्तिकारीको बिल्लाबाट सम्मान पाउने तर आफूहरुले पहिचान शब्दको प्रयोग गर्दा विखण्डनकारीको घेरामा राख्नु विडम्बना भएको बताउँछिन् उनी।
अनलाइनखबरबाट साभार

Leave a Reply to Danielrax Cancel reply

Your email address will not be published.