सद्‍‍भावनाबाट पराजित मोहनलाल चौधरीको खर्च ७ लाख ९७ हजार

पर्सा- पर्साबाट संविधानसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारमध्ये हालसम्म यहाँ १७ जनाले मात्र निर्वाचनमा गरेको खर्चको विवरण पेस गरेका छन्। मतगणना सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारले निर्वाचनमा भए गरेका खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्थाअनुरूप उनीहरुले जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण पेस गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, पर्साकाट निर्वाचित पाँच जना संविधान सभा सदस्यमध्ये अहिलेसम्म दुई जनाले मात्र खर्च विवरण पेस गरेका छन्। खर्च विवरण पेस गर्नेहरुमा नेकपा (एमाले)का तर्फबाट पर्सा क्षेत्र नं ३ र ५ बाट निर्वाचित संविधानसभा सदस्यद्वय क्रमशः राजकुमार गुप्ता र जयप्रकाश थारु छन्। गुप्ताले रु आठ लाख ५३ हजार तथा थारुले रु ६ लाख ७५ हजार खर्चको विवरण पेस गरेका छन्।
सबैभन्दा बढी खर्च विवरण पेस गर्नेमा एनेकपा (माओवादी)का तर्फबाट पर्सा क्षेत्र नं १ का उम्मेदवार मो बसरुद्दिन अन्सारी र सबैभन्दा कम पेस गर्नेमा नेकपा (माले)का तर्फबाट क्षेत्र नं १ का उम्मेदवार लक्ष्मीराज न्यौपाने रहेका छन्। अन्सारीले रु नौ लाख ५५ हजार तथा न्यौपानेले रु ३३ हजार ५५० खर्च विवरण पेस गरेका हुन्। उनीहरु दुवैजना पराजित उम्मेदवार हुन्।
यसैगरी खर्च विवरण पेस गर्ने पराजित उम्मेदवारमध्ये क्षेत्र नं १ बाट जन प्रजातान्त्रिक पार्टीका किरणवाला वर्मा र दलित जनजाति पार्टीका सञ्जयकुमार अग्रवाल छन्। बर्माले रु एक लाख २३ हजार ७०० र अग्रवालले रु एक लाख ८२ हजार खर्च विवरण पेस गरेका छन्।
त्यस्तै क्षेत्र नं २ बाट मातृभूमि नेपालका दीपलाल महतोले रु ६ लाख ७८ हजार ५०० र जनप्रजातान्त्रिक पार्टीका प्रमोदप्रसाद दहैत थारुले रु एक लाख ७६ हजार २०० तथा क्षेत्र नं ३ बाट जनप्रजातान्त्रिक पार्टीका फरिन्द्र चौहानले रु दुई लाख आठ हजार ३००, नेपाली जनता दलका मनोजकुमार रौनियारले रु दुई लाख ८१ हजार १११ र एनेकपा माओवादीका जीतेन्द्र यादवले रु आठ लाख ८३ हजार खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सो कार्यालयका अनुसार क्षेत्र नं ४ बाट एमाओवादीका प्रह्लाद गिरीले रु आठ लाख आठ हजार, दलित जनजातिका नुर आलम अन्सारीले रु तीन लाख ४४ हजार ७०० र सद्भारवना पार्टीका मोहनलाल चौधरी थारुले रु सात लाख ९७ हजार तथा क्षेत्र नं ५ बाट जनप्रजातान्त्रिक पार्टीका दीनानाथ महतोले रु एक लाख १८ हजार ९०० र सङ्घीय समाजवादी पार्टीका विप्लव पटेलले रु नौ लाख ४८ हजार खर्च विवरण पेस गरेका हुन्।
संविधान सभा सदस्य निर्वाचनका लागि प्रत्येक उम्मेदवारलाई अधिकतम् रु १० लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो। ‘बाँकी उम्मेदवारले पनि तोकिएको समयभित्रै आआफ्नो निर्वाचन खर्च विवरण पेस गर्नेमा आफू विश्वस्त रहेको प्रमुख निर्वाचन अधिकारी पोखरेलले बताए।
कुल दुई लाख ५१ हजार ८४६ मतदाता रहेको पर्साको पाँच वटै क्षेत्रमा प्रत्यक्ष निर्वाचनतर्फ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१० जना उम्मेदवार रहेका थिए। तीमध्ये १९३ जनाको जमानत जफत भएको थियो। अघिल्लो संविधानसभा निर्वाचनमा पर्सामा सहभागी ९९ जना उम्मेदवारमध्ये २१ जनाले मात्र निर्वाचन खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.