झलक्क झुल्केका जनक चौधरी

Janak Chaudharyअविनाश चौधरी, धनगढी- उहाँ कार्तिक १५ गतेसम्म विज्ञान विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो। तर, १६ गते अध्यापन पेशा छोडेर भोलिपल्टै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभयो। यसअघि राजनीतिक वृत्तमा खासै चर्चामा नदेखिनु भएका जनक चौधरी अत्याधिक मतले संविधान सभा सदस्यका लागि विजयी हुनु भएपछि एकाएक चर्चामा आउनुभएको छ। एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले जस्ता शीर्ष दलका उम्मेदवारहरुलाई पछि पार्दै चौधरीले हाँसिल गरेको उपलब्धीले अहिले सबैतिर चर्चा भइरहेको छ। सबैको ध्यान उहाँ प्रति केन्द्रित भएको छ।

चौधरीले ११ हजार दुई सय ९४ मत प्राप्त गरी संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रणबहादुर रावलले नौ हजार एक सय ४० मत प्राप्त गरेका छन्। चौधरीकै क्षेत्रबाट प्रतिस्पर्धामा रहेका नेकपा एमालेका प्रेम साउँदले छ हजार नौ सय ७७ मत प्राप्त गर्नु भएको छ।
कात्तिक १६ गते अध्यापन पेशा त्यागेर भोलिपल्टै चौधरीले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट संविधान सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको थियो। उहाँ टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर उच्च माविका प्राध्यापक हुनुहुन्थ्यो। चौधरीले उम्मेदवारी दिएपछि लाभको पद त्याग्नु पर्ने नियम अनुसार अध्यापन कार्यलाई छोड्नु भयो। उहाँले त्रिभुवन विश्व विद्यालयबाट विज्ञान विषयमा स्नातोकोत्तर तह उत्तीर्ण गर्नु भएको छ।
टीकापुर नगरपालिका वडा नम्बर ९ ब्लक नम्बर ६ का स्थायी बासिन्दा चौधरीले आफ्नो जीतलाई आम जनताको जीत भएको प्रतिक्रिया दिनुभयो। विजय पछि पश्चिम संक्षिप्त कुराकानी गर्दै आफ्नो ध्यान संविधान निर्माणमा केन्द्रित रहने बताउनुभयो।
‘सबै राजनीतिक दलहरुसँगको सहमतिमा म संविधान निर्माणका केन्द्रित रहनेछु’ उहाँले भन्नुभयो–’म यसअघिका विजेताहरु झैं जनतालाई वाचा गरेको काममा गैरजिम्मेवार रहने छैन।’
उहाँले संविधानले मुलुकलाई स्थीर बनाउने र अनि मात्रै विकासको शुभारम्भ भै मुलुक आर्थिक रुपमा सबल हुने बताउनुभयो। चौधरीले आर्थिक सक्षमताले नै संघीयता र पहिचानका मुद्दालाई साकार पार्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
‘सबैभन्दा ठूलो कुरा विकास हो। विकासले आर्थिक सम्पन्नता हुन्छ’ उहाँले भन्नुभयो–’आर्थिक सम्पन्नता भयो भने संघीयता र पहिचानका कुरा आफै पूरा हुँदै जानेछन्।’
चौधरीले संविधान निर्माणमा मात्रै हैन आफ्नो ध्यान स्थानीय विकासमा समेत केन्द्रित हुने बताउनु भएको छ। उहाँले स्थानीय विकासका लागि आफूले तीन वटा कुरालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘पर्यटन विकास, कृषि उद्योग र मुक्त कमैयाको व्यवस्थापन मेरो पहिलो प्राथमिकतामा रहनेछ’ चौधरीले भन्नुभयो–’अन्य स्थानीय मुद्दालाई समेत सम्बोधन गर्नेछु।’
उहाँले आफूमाथि जनताले विश्वासका साथ सुम्पेको अभिमतको सम्मान गर्ने भन्दै स्थानीय समस्या समाधानका लागि सबै राजनीतिक दलहरुलाई सहमतिमा लिएर अघि बढ्ने बताउनुभयो।

Leave a Reply to Joemex Cancel reply

Your email address will not be published.