‘एकदिन प्रधानमन्त्री बनेरै देखाउँछु, त्यो नबने राष्ट्रपति पक्कै बन्छु’

धनगढीमा आफ्नो पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गच्छदार। तस्बिर : अविनाश चौधरी
धनगढीमा आफ्नो पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गच्छदार। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरीधनगढी- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय कुमार गच्छदारले आफू यो देशको प्रधानमन्त्री बनेरै देखाउने बताएका छन‍्। बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले एमाओवादी, काङ्ग्रेस र एमाले पार्टी देश चलाउन असफल भइसकेकाले अब मुलुकको नेतृत्व मधेसी पार्टीले गर्ने बताए। ‘तीन ठूला दलले पटक–पटक सरकार गठन गरेर केही गर्न सकेनन्।’ गच्छदारले भने, ‘यिनीहरुले देशको नेतृत्व गर्ने नैतिक जिम्मेवारी गुमाईसकेकाले अबको नेतृत्व नयाँ शक्तिले गर्ने निश्चित छ।’
आगामी संविधान सभाको चुनावमा कुनैपनि पार्टीको बहुमत नआउने गच्छदारले बताए। उनले संविधान सभाको चुनावपछि आफ्नो पार्टी निर्णायक तहमा पुग्ने बताउँदै थपे, ‘विजय कुमार गच्छदार एकदिन यो देशको प्रधानमन्त्री बनेरै देखाउँछ। प्रधानमन्त्री भएन भने राष्ट्रपति पक्कै बन्छु।’
तीन ठूला दलले नै देश बिगारेको आरोप लगाउँदै उनले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि मात्रै मुलुकले निकास पाउने बताए। उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष गच्छदारले नयाँ संविधान र दीगो शान्तिका लागि चुनावमात्रै विकल्प रहेको उल्लेख गरे। उनले आफू प्रधानमन्त्री भएपछि एक वर्षभित्रै संविधान बनाउने दाबी गर्दै भने, ‘जनताले चाहेअनुसारको विकास र अधुरा निर्माणका कामलाई म बाहेक कसैले अगाडि बढाउनै सक्दैन।’
भोटका लागि यो क्षेत्रका थारुहरुलाई पुलपुल्याउँदै अध्यक्ष गच्छदारले आफ्नो पार्टीले तराईको चितवनदेखि कञ्चनपुरसम्म थरुहट स्वायत्तः प्रदेश र पूर्वतिर मधेश स्वायत्तः प्रदेश जनतालाई दिने बताए।

Leave a Reply to EugeneChurn Cancel reply

Your email address will not be published.