थारु उम्मेदवारका प्रतिस्पर्धी थारु नै

मदन चौधरी, काठमाडौं– देश दोस्रो संविधान सभा निवार्चनको संघारमा छ। चुनाब आउन तीन साता बाँकी रहँदा दलहरु प्रसारप्रसारमा ब्यस्त देखिएका छन्। तर मतादाहरु अझै कसलाई भोट दिने भन्ने दुविधामा छन्। थारु समुदायका मतादाता पनि कसलाई भोट दिने भन्ने दोधारमा छन्। अधिकांश दलहरुले थारु बाहुल्य क्षेत्रमा थारु उम्मेदवार नै उठाएका छन्। दोस्रो संविधान सभामा एकीकृत माओवादीले १२, नेपाली कांग्रेस ११ र नेकपा एमालेले १० जना थारु उम्मेदवार उठाएका छन्। त्यस्तै मधेसी दलतर्फ फोरम लोकतान्त्रिकले सबैभन्दा धेरै ३७ जना थारु उम्मेदवार उठाएका छन्। तमलोपाले २१ र सद्भावनाले १४ जना थारु प्रतिनिधि उठाएका छन्। सयको संख्यामा रहेका यी उम्मेदवारका प्रमुख प्रतिद्वन्द्वी अरु कोही नभएर आफ्नै समुदायका उम्मेदवार छन्।

यसरी हेर्दा थारु थारुबीचको भोट काटिएर अर्को पक्षले जित्ने सम्भावना प्रबल देखिन्छ। त्यसो त सबै उम्मेदवारले मतदाता आफ्नो पक्षमा रहेको बताउँदै आएका छन्। सुनसरी क्षेत्र नम्बर २ मा एमाओवादीका पूर्वसभासद् समेत रहेकी रामकुमारी चौधरी र कांग्रेसका बद्रीनारायण चौधरी एकअर्काका प्रतिस्पर्धी छन्। सुनसरी ३ मा भने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमालेका पूर्वसभासद् भगवति चौधरीबीच प्रतिस्पर्धा हुँदैछ। गच्छदार मोरङ ७ बाट समेत उम्मेदवारी दिएका छन्।

त्यस्तै राजधानीमा स्कुल/कलेज सञ्चालन गर्दै आएका तेजुलाल चौधरी नेपाली कांग्रेसको टिकट लिएर सप्तरी ५ बाट उम्मेदवार बनेका छन्। उनका प्रतिस्पर्धी पनि अरु कोही नभइ थारु उम्मेदवार नै छन्। उनले एमाओवादीका सरस्वती चौधरी, तमलोपाका शंकरलाल चौधरी र फोरम लोकतान्त्रिकका छेदी चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्।

सिरहा १ मा पनि तीन थारु प्रतिस्पर्धी भिड्दैछन्। नेपाली कांग्रेसका पदमनारायण चौधरी, तमलोपाका डा. पशुपति चौधरी र फोरम लोकतान्त्रिकका शोभाकान्त चौधरीले एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन्।

यता रौतहट ६ मा पनि तीन थारु उम्मेदवारबीच कडा टक्कर चल्दैछ। एमालेका बासु चौधरी र तमलोपाबाट फोरम लोकतान्त्रिक पुगेका गोविन्द चौधरी र सद्भावनाका महेश दासबीच टक्कर हुँदैछ। बारा ५ मा नेपाली कांग्रेसका पूर्व सभासद् तथा स्वास्थ्य मन्त्रीसमेत रहिसकेका उमाकान्त चौधरी, एमाओवादीका तपेश्वर चौधरी, एमालेका बलवीर चौधरी र फोरम लोकतान्त्रिकका ओमप्रकाश चौधरी उम्मेदवार छन्। थारु बाहुल्य रहेको यो क्षेत्रमा उमाकान्त र बलवीरबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरु बताउँछन्।

त्यस्तै पर्सा ४ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरी, फोरम लोकतान्त्रिकका रामबकस महतो थारु र सद्भावानाका मोहनलाल चौधरी उम्मेदवार छन्। पहिलो संविधान सभा निर्वाचनमा सुरेन्द्र चौधरी एमालेका प्रद्युम्नप्रसाद चौधरीसँग तीन सय मतले पराजित भएका थिए।

चितवनका केही क्षेत्र थारु बाहुल्य रहे पनि फोरम लोकतान्त्रिकबाहेक कुनै दलले थारु उम्मेदवार उठाएका छैनन्। चितवन क्षेत्र २ मा कृष्ण चौधरीले फोरम लोकतान्त्रिकको प्रतिनिधित्व गर्दैछन्। नवलपरासी र रुपन्देहीमा भने तीन ठूला दलभन्दा पनि मधेसी दलहरुले थारु उम्मेदवार उठाएका छन्। नवलपरासी १ मा तमलोपाका लक्ष्मण पजियार र फोरम लोकतान्त्रिकका रेखा परियार थारु उम्मेदवार छन्। त्यस्तै नवलपरासी २ मा तमलोपाबाट विणाकुमारी थनेत, फोरम लोकतान्त्रिकबाट हरिलाल गुराँव थारु र सद्भावनाबाट अमरबहादुर धामी थारु उम्मेदवार छन्। नवलपरासी ४ मा भने एमालेका वैजनाथ चौधरी र तमलोपाका पुरण चौधरी उम्मेदवार छन्। पहिलो संविधान सभा निर्वाचनमा वैजनाथ एमाओवादीका चिनक कुर्मीसँग पराजित भएका थिए।

थरुहट क्षेत्र मानिएका दाङदेखि पश्चिम तराईका जिल्लामा भने प्रमुख तथा मधेसी दुबै दलले थारु उम्मेदवारलाई प्राथमिकता दिएका छन्। दाङ १ मा कांग्रेसका पार्वता डीसी चौधरी, तमलोपका सुधीर चौधरी, फोरम लोकतान्त्रिकका वीरेन्द्र चौधरी र सद्भावनाका मुकेश चौधरी प्रतिस्पर्धीमा उत्रिएका छन्। त्यस्तै दाङ २ मा एमालेका शान्ता चौधरी र कांग्रेसका सुशीला चौधरी र फोरम लोकतान्त्रिकका जोखु चौधरी प्रतिस्पर्धा गर्दैछन्। शान्ता एमालेका पूर्व सभासद् पनि हुन्। उनी समानुपातिकबाट एकालेको सभासद् बनेकी थिइन्।

त्यस्तै बाँके १ मा फोरम नेपालका गोविन्द प्रसाद थारु र फोरम लोकतान्किका फुलाराम चौधरी चुनाबी मैदानमा भिड्दैछन्।

बर्दिया नेपालकै सबैभन्दा धेरै थारु बसोबास गर्ने जिल्ला हो। बर्दियामा सबैभन्दा धेरै थारु उम्मेदवारसमेत रहेका छन्। प्रमुख तथा मधेसी दलले बर्दियामा थारु उम्मेदवार नै उठाएका छन्। बर्दिया १ मा एमाओवादीले भुवनकुमार थारु, कांग्रेसले भुवनेश्वर चौधरी, तमलोपाले दिपककुमार थारु र फोरम लोकतान्त्रिकले ठाकुर सिंह थारुलाई उम्मेदवार बनाएका छन्। बर्दिया २ मा तमलोपाले लल्लु थारु र फोरम लोकतान्त्रिकले रामकुमार थारुलाई उम्मेदवार बनाएका छन्। बर्दिया ३ मा एमाओवादीले सन्तकुमार थारु, एमालेले विसतिया थारु (विष्णु चौधरी) र फोरम लोकतान्त्रिकले बिन्तीराम चौधरीलाई उम्मेदवार बनाएका छन्। सन्तकुमार पहलिो संविधान सभामा विजयी बनेका थिए। उनले प्रतिद्वन्द्वी परशुराम चौधरीलाई धेरै अन्तरले पराजति गरेको थियो। बर्दिया ४ मा एमाओवादीले मानबहादुर थारु, एमालेले लौटनकुमार थारु, फोरम नेपालले विजया कुमारी चौधरी र फोरम लोकतान्त्रिकले मोहनलाल चौधरीलाई उम्मेदवार बनाएका छन्।

धेरै संख्यामा रहेको थारु समुदायको अर्को जिल्ला कैलालीमा पनि दलहरुले थारु उम्मेदवारलाई प्राथमिकता दिएका छन्। कैलाली १ मा एमाओवादीका फुलरामा चौधरी (डगौरा), तमलोपाका रामचन्द्र जमोरा थारु, फोरम लोकतान्त्रिकका जनकराज चौधरी र सद्भावनाका रेशम चौधरी एकअर्काबीच प्रतिस्पर्धा गर्दैछन्। कैलाली २ मातमलोपाका रामजीवन चौधरी र फोरम लोकतान्त्रिकका बिलारी चौधरी उम्मेदवार छन्। कैलाली ३ मा एमाओवादीका शेरबहादुर चौधरी, एमालेका चन्द्रीकाप्रसाद चौधरी, तमलोपाका राजकुमार चौधरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी र सद्भावनाका रेशम चौधरी उम्मेदवार छन्। कैलाली ४ मा एमाओवादीका गौरीशंकर चौधरी, कांग्रेसका खेमराज चौधरी तमलोपाका जयदेव चौधरी, फोरम लोकतान्त्रिकका चन्द्रप्रसाद चौधरी उम्मेदवार छन्। कैलाली ५ मा तमलोपाका रामबहादुर चौधरी र सद्भावनाका अमर सिंह राना थारुले एमाओवादीका बलिया प्रतिद्वन्द्वी लेखराज भट्टको सामना गर्दैछन्। भट्ट पहिलो संविधान सभामा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै कैलाली ५ मा फोरम लोकतान्त्रिकका लक्ष्मण थारु र सद्भावनाका सरकारी राना थारु उम्मेदवार छन्। लक्ष्मण र सरकारीले कांग्रेशका शेरबहादुर देउवाको सामना गर्दैछन्।

पश्चिमी तराईको अन्तिम जिल्ला कञ्चनपुरमा पनि दलहरुले राना थारुलाई नै प्राथमिकता दिएका छन्। कञ्चनपुर १ मा तमलोपाले माकुमारी राना, फोरम लोकतान्त्रिकले पुष्कल चौधरी र सद्भावनाले लच्छुराम राना थारुलाई उम्मेदवार बनाएका छन्। कञ्चनपुर २ मा एमाओवादीले अमिन दहित थारु, तमलोपाले पल्टु राना, फोरम लोकतान्किले अमरसिंह राना र सद्भावनाले रामकृष्ण रानालाई उम्मेदवार बनाएका छन्। कञ्चनपुर ३ मा तमलोपाले प्रेमवति राना, फोरम लोकतान्त्रिकले मान्सा डंगौरा (थारु)लाई उम्मेदवार बनाएका छन्।

यसरी हेर्दा प्रमुख तीन दल होस् वा मधेसी दल थारु बाहुल्य क्षेत्रमा थारु उम्मेदवारलाई नै प्राथमिकताका साथ उम्मेदवार बनाएका छन्। कतिपय क्षेत्रमा थारु समुदायका स्वतन्त्र उम्मेदवार पनि देखिएका छन्। यसले थारु थारुबीचको मत काटिएर कुनै अर्को उम्मेदवार विजय होला भन्न सकिन्न!

Leave a Reply to EdwardCom Cancel reply

Your email address will not be published.