पूर्व कमलरी शान्तालाई सहयोग जुट्दै

shanta chaudhari umlदाङ- पूर्वसभासद शान्ता चौधरीको चुनाव खर्चका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ । पूर्वकम्लरी चौधरीले चुनाव खर्च नभएपछि चामल बेचेर रकम संकलन गरिरहेको समाचार रकाशित भएपछि विभिन्न ठाउँबाट आर्थिक सहयोग हुन थालेको हो । सामाचार प्रकाशित भएपछि काठमाडौंमा बस्दै आएका सात युवाले ‘शान्ता चौधरी सहयोग समिति’ नै गठन गरेर आर्थिक र जिन्सी संकलन गरिरहेका छन् । ध्रुवप्रसाद घिमिरे, बसन्त न्यौपाने, अस्मिता रोका, संगीता हुमागाईं, अच्युत लोहनी, उमा घिमिरे र नारायण भट्टराई सम्मिलित टोलीले स्वतःस्फूर्त रूपमा सहयोग जुटाएका हुन् । एक लाख रकम संकलन गर्ने लक्ष्य रहेको र अहिलेसम्म २९ हजार रुपैयाँ जम्मा भइसकेको समितिका अगुवा घिमिरेले बताए ।
‘हामीलाई दाङ र शान्ता कुन पार्टीको उम्मेदवारबारे केही थाहा छैन । समाचारमा उनको दयनीय अवस्था देखेपछि काठमाडौं बस्ने युवा स्वतःस्फूर्त सहयोग संकलनमा जुटेका हौं,’ घिमिरेले भने, ‘शान्ताजस्तो कमलरीबाट प्रतिनिधित्व गर्ने मानिसलाई प्रोत्साहन गर्नै पर्छ ।’ सहयोग समितिको फेसबुक एकाउन्ट बनाएर सहयोग आह्वान गरिएको र विभिन्न क्षेत्रबाट रकम जम्मा भइरहेको उनले बताए । नगदका साथै पर्चा पम्प्लेट छपाइमा पनि सहयोग गर्ने योजना रहेको उनीहरूले सुनाए ।
समाचार पढेपछि देशविदेशमा रहेका विभिन्न शुभचिन्तकले सहयोग गर्न थालेको शान्ताले बताइन् । हङकङमा बसोबास गर्ने गणेश गुरुङलगायतका व्यक्तिले भर्खरै ९० हजार रुपैयाँ पठाएको उनले जानकारी दिइन् । उनका अनुसार यस्तो प्रतिबद्धता जनाउने अरू पनि धेरै छन् । ‘धेरै ठाउँबाट सहयोग गर्छौं भनेर फोन आएको छ,’ उनले भनिन्, ‘केहीले त आर्थिक सहयोग उपलब्ध गराउन थाल्नुभएको छ । हामीजस्ता तल्लो वर्गबाट आएका मानिसलाई सहयोग गर्ने मानिस भेटिएपछि अलि उत्साहित भएकी छु ।’
एमालेबाट दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी चौधरीले आर्थिक समस्या परेपछि चामल बेचेर चुनाव खर्च जुटाएकी थिइन् । हरेक पार्टीका उम्मेदवार गाडीमा झन्डा फहराउँदै चुनावमा हिँडिरहेका बेला उनी मोटरसाइकलमा लिफ्ट मागेर मतदातासामु पुगेकी थिइन् । उनको चुनावी संघर्षबारे समाचार छापिएपछि अहिले एमाले क्षेत्रीय पार्टी र अन्य शुभचिन्तकको सहयोगमा गाडी व्यवस्था गरिएको चौधरीले बताइन् । लक्ष्मीपुर निवासी शान्ता भूमिहीन हुन् । पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद् भएपछि अहिले घरबास जोडेकी छन् । आठ वर्षको उमेरदेखि कमलरी बस्न थालेकी शान्ता १८ वर्षपछि मात्र मुक्त भएकी थिइन् ।
– कान्तिपुरबाट साभार

Leave a Reply to Jeromeuneni Cancel reply

Your email address will not be published.