लेखी नेतृत्वको नागरिक पार्टी र अन्य दुई समूहबीच एकीकरण

rajkumar lekhiकाठमाडौं- आदिवासी जनजाति महासंघका पूर्व सभापति राजकुमार लेखी नेतृत्वको राष्ट्रिय नागरिक पार्टीसँग दुई समूह एकीकरण भएको छ। सोमबार मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय नागरिक पार्टी, तराई गणतान्त्रिक पार्टी र आदिवासी जनजाति विचार मञ्चबीच एकीकरण भएको घोषणा गरेको छ। विभिन्न चरणको वार्तापछि रौतहटको गरुडा बजारमा भएको निर्णायक वार्तापछि संगठनात्मक एकीकरणको ऐतिहासिक निर्णय गर्दै यो गरुडा सहमतिपत्र जारी गरिएको छ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ

राष्ट्रिय नागरिक पार्टी, तराई गणतान्त्रिक फ्रन्ट र आदिवासी जनजाति विचार मञ्चबीच एकीकरण भएको हामी सगर्व घोषणा गर्दछौं । निरन्तरको वार्ता र वैचारिक मन्थनपछि मुलुकको आवश्यकता र राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पार्टी एकीकरण गर्ने निष्कर्षमा हामी तीनवटै संगठन पुगेका हौं । विभिन्न चरणको वार्तापछि रौतहटको गरुडा बजारमा भएको निर्णायक वार्तापछि संगठनात्मक एकीकरणको ऐतिहासिक निर्णय गर्दै यो गरुडा सहमतिपत्र जारी गरिएको छ ः

मुलुक र नेपाली नागरिकको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै ;
नेपालका उत्पीडित वर्ग समुदाय, क्षेत्र, धर्म, लिंग, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडा वर्ग, विपन्न वर्गको हितलाई ध्यानमा राख्दै ;
जातीय राज्य विरुद्ध लोकतान्त्रिक संघीयता मार्फत मुलुकको अखण्डता, सार्वभौमसत्ता, एकता र राष्ट्रियतालाई अभिवृद्धि गर्ने कार्यभारलाई बहन गर्दै;
हिमाल पहाड र तराईको भावनात्मक एकीकरणलाई मूर्त रुप दिने उद्देश्य सहित नेपाली नागरिकहरुको व्यापक एकता र सहकार्यको आवश्यकतालाई साकार बनाउने उद्देश्य राख्दै ;
नेपालमा निरन्तर भइरहेको अन्तराष्ट्रिय हस्तक्षेपबाट राष्ट्रियता कमजोर बन्दै गएकाले स्वाभिमानी र सहभागितामूलक नेपाली राष्ट्रियताको विकास गर्ने जिम्मेवारी वहन गर्दै ;
हामी पार्टीको नयाँ नाम राष्ट्रिय नागरिक पार्टी (नेपाल) राख्न सहमत भएका छौं र निम्न बमोजिमको गरुडा सहमति सार्वजनिक गर्दछौं ः
१) एकीकरणपछि पार्टीको नयाँ नाम राष्ट्रिय नागरिक पार्टी (नेपाल) रहने छ ।
२) एकीकरणको दुई महिनाभित्र कार्यसमिति विस्तार तथा समायोजनको कार्य सम्पन्न गरिनेछ । एकीकरणको मितिले ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने छ ।
३) आपसी सहमतिमा जिल्ला समितिहरु निर्माण गरिने छ ।
४) आपसी सहमतिमा भ्रातृ संगठनहरु निर्माण गरिने छ ।
५) विगतमा तीनवटै संगठनहरुले उठाउँदै आएका वैचारिक अभियान र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरुलाई राष्ट्रिय नागरिक पार्टी (नेपाल) ले वरण गर्दछ र अगाडि बढाउँदछ ।
६) महाधिवेशन सम्पन्न नभएसम्म कुनै विवाद आएमा या असमझदारी उत्पन्न भएमा समाधान गर्नका लागि विगतका तीनवटै संगठनको प्रतिनिधित्व हुने गरि राजकुमार लेखी, कविराज राई, श्यामानन्द र राजकुमार रेग्मी रहनुभएको राष्ट्रिय नागरिक पार्टी (नेपाल) विशेष कार्य सम्पादन समिति निर्माण गरिएको छ ।
७) संविधानसभाको चुनाव बहिष्कार नगर्ने तर सहभागी पनि नभएर लोकतान्त्रिक प्रतिपक्षीका रुपमा पार्टीलाई अघि बढाउने नीति यथावत राखिएको छ ।
८) विचार र कार्यक्रम मिल्ने विभिन्न दलहरुसँग एकता प्रक्रियाका लागि ढोका खुल्ला राख्ने र अहिले विभिन्न दलहरुसँग चलिरहेको वार्ता प्रक्रियालाई निरन्तरता दिने निर्णय गरिएको छ ।
हस्ताक्षर कर्ताहरु
राजकुमार लेखी
अध्यक्ष
राष्ट्रिय नागरिक पार्टी    श्यामानन्द
अध्यक्ष
तराई गणतान्त्रिक फ्रन्ट
कविराज राई
संयोजक
आदिवासी जनजाति विचार मञ्च

Leave a Reply to Phillipurink Cancel reply

Your email address will not be published.