संविधान सभाको सदस्य फेरि पनि जम्बो

Constitution-In-Nepal काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिले आगामी संविधानसभाको सिट सङ्ख्या ६०१ नै कायम राख्ने सहमति गरेको छ। सहमतिमा भने मधेसी जनअधिकार फोरम नेपाल र ऊ सम्बद्ध मोर्चाले भने आन्तरिक बैठकपछि मात्रै सो निर्णयमा सहमति जनाउने बताएको छ।  समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सोही पार्टीको माग बमोजिम नै संविधानसभा सदस्य ६०१ नै कायम गर्न लागिएको नेकपा (एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।

आगामी मङ्सिर ४ गतेको निर्वाचन सम्पन्न गराउन हदैसम्म लचक बन्ने भन्ने उच्चस्तरीय राजनीतिक समितिको सहमति बमोजिम सबै खालका विधि र उपाय अवलम्बन गरिने उनले जानकारी दिए। यसैगरी निर्वाचन प्रक्रियाको विरोधमा रहेको अर्को घटक नेकपा–माओवादीसँग उच्चस्तरीय राजनीतिक समितिले अनौपचारिक रुपमा गरेको वार्ता र संवादका आधारमा वार्तामा बस्न तयार देखिएको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।

नेता केसीले भने, “उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीका नेताहरुसँग गरेको अनौपचारिक वार्ता सकारात्मक देखिएकाले औपचारिक वार्तामा बस्ने सहमति भएको छ। एकदुई दिनभित्र वार्ता हुन्छ।” अनौपचारिक वार्ताका क्रममा नेकपा–माओवादी निर्वाचनप्रति सकारात्मक देखिएको जानकारी दिँदै नेता केसीले मङ्सिर ४ मा नै निर्वाचन सम्पन्न गर्न सबै विधि अवलम्बन गरिने जानकारी दिए। रासस

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.