जय थरुहट !

tharuhat-2

गोपाल दहित- थरुहट भूगोलको पहिचान, आत्मसम्मान, अधिकार, विकास र न्यायका लागि थरुहट आन्दोलन भयो। जुन आन्दोलनमा लाखौं थारु र गैरथारुहरुको स्वतःस्फूर्ट भौतिक, नैतिक, आर्थिक सहयोग र सहभागिता थियो। यस आन्दोलनसित चार शहीद र हजारौं घाइटेहरुको बलिदानीपूर्ण रगतको नाता छ। आन्दोलनमा सहभागीहरुले शीर थाह्रो पारेर “जय थरुहट” भनी अभिबादन गर्दाको गगनचुम्बी स्वरहरु अहिले पनि ताजै लाग्छ। त्यसैले दिल खोलेर सबैले सुन्ने गरी पटक पटक भन्न मन लाग्छ, “जय थरुहट”, “जय थरुहट”, “जय थरुहट”।
tharuhat-1
थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी रहेको छ। ल्याबमा ट्यूब बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजङ्गल, हिंश्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। रगत, पसिना र पुस्तौपुस्ताको बलीदानी गरेर तराईलाई आजको मानववस्ती योग्य बनाउने ऐतिहासिक पौरख आदिवासी थारुहरुले गरेका हुन्। यसर्थ यो भूगोलको ऐतिहासिक नाम “थरुहट” हो, र भौगोलिक नाम “तराई” हो। कतिपय ठूला र पुराना राजनीतिक दलहरुले आकर्षक नारा उचाल्ने, चुनावमा भोट लिने, अन्ध भक्त बनाउने, लोभलालच र डरधम्की दिइ बिलखबन्दमा पारी घर नघाटको बनाइराख्ने, सुकुम्बासी, बस्तीविकास कम्पनी, पुनरवास, आरक्ष पीडित, विकास आयोजना, आदि नामले हिमाल र पहाडबाट सुनियोजित रुपमा लाखौंको संख्यामा हुकुम्बासीहरु थरुहट भूगोलमा ल्याइ बसोबास गराई यहाँको अन्न उत्पादन र विकासलाई अस्तव्यस्त बनाउने, धरतिपुत्र मूलवासी थारु, दनुवार, सुनुवार, कोचे, मेचे, आदिलाई उनीहरुको ऐतिहासिक भूथलोमा अल्पमतमा पार्ने, श्रीसम्पत्ति हडप्ने, सबैखाले अधिकारबाट बन्चित बनाउने, हुँदा हुँदा पहिचान र आत्मसम्मान समेत खतम पार्ने हर्कत गरी आएका छन्। यी सबै हर्कत अब त अति भइसक्यो। यसर्थ थरुहटका नागरिकहरु आफ्नो पहिचान, आत्मसम्मान, अधिकार, विकास र न्याय प्राप्तिका लागि “जय थरुहट”को नारा गुन्जायमान पार्दै “थरुहट तराई पार्टी नेपाल” मा गोलबद्ध भइराखेका छन्, यो सुनौलो अवसर हो।tharuhat-3
नेपालमा “जय थरुहट”, “जय मगरात”, “जय लिम्बुवान”, “जय खुम्बुवान”, “जय ताम्सालिङ”, “जय नेवाः”, “जय तमुवान”, “जय खसान”, “जय खप्टड”, आदिको नारा किन गुन्जायमान हुँदैछन्। “जय नेपाल” भनी ओठे नारा लगाउनेहरु समग्र नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ताको जगेर्ना र समग्र नेपाल र नेपालीहरुको आत्मसम्मान, विकास र न्यायका लागि सम्वेनशील र जिम्मेवार बन्न चाहेनन्। काठमाडौं उपत्यका र नेपाल मण्डलमा केन्द्रीकृत भइ थरुहट, पहाड र हिमालको कुनाकाप्चामा बस्ने नेपालीहरुको दुःख, दर्द र बिपन्नतालाई धरौती राखेर आफू केन्द्रमा मोजमस्ती लुट्ने परम्परा बनाएका कथित शासक जाति, कतिपय राजनीतिक दल र उनीहरुलाई मोहरा बनाएर पुस्तौपुस्ता पुग्ने सम्पत्ति कुम्ल्याएका सम्भ्रान्त परिवारको स्वार्थका कारण नयाँ बिकल्प खोज्ने संघर्षका क्रममा यस्ता नाराहरु बुलन्दित भइरहेका छन्, यो राम्रो पक्ष हो। किनकि आफ्नो पहिचान र अधिकार अरुले दिएर होइन, आफैँले संघर्ष गरी खोसेर लिनुपर्ने इतिहास साक्षी छ।
सावधानीको पक्ष, थरुहटका जाति, वर्ग, क्षेत्र र समुदायको पक्षमा नारा लगाउने, अनुहार पनि थरुहटकै देखाउने, दुई चारवटा सानातिना काम गरेजस्तो पनि गर्ने, तर उही शासक जाति र वर्गको झोल बोकुवा बनी उनीहरुलाई नै सत्ता, भत्ता र सत्तासिन पावरमा पुर्‍याउने “नक्कली थरुहट” देखि सावधान हुनुपर्छ, धोखा पाइन्छ। कथित शासक जाति र वर्गको भित्रि रणनीति, कार्यनीति, योजना र कुटिल चाल नबुझेर कतिपय कायकर्ता नक्कली थरुहटको भूमिका गर्दैछन् भने कतिपय बुझेर पनि बुझ पचाएर ब्यक्तिगत स्वार्थमा निर्लिप्त भएर उनीहरुको पैसा, दारु र मासुमा इमान, जमान, नैतिकता, अस्मिता र आवरु बेच्दैछन्, आफ्नो खुट्टामा आफैं बन्चरो हिर्काउँदैछन्। यसर्थ, बुझेर वा नबुझेर शासक जातिको गुलामी गर्नेहरुले आफ्नो बिचारमा परिवर्तन ल्याएर सक्कली थरुहटमा गोलबद्ध हुनु सबैको लागि हितकर छ।
सक्कली थरुहट तराई पार्टी नेपालमा गोलबद्ध हुँदा हाम्रा पहिचान, अधिकार र आत्मसम्मान पाइन्छ, विकासको लहर आउँदछ र न्याय निरोपण हुन्छ। पुस्तौपुस्तादेखि सिमान्तिकरण, बहिष्करण र सरकारी श्रोत साधन साथै अवसरबाट बन्चितिकरणमा पारिएका यसैगरी अन्याय, शोषण, दमनमा पिल्सेका थारुलगायत सबै आदिवासी जनजाति, दलित, महिला, पिछडावर्ग, मुस्लिम र मधेसीहरु यसैगरी उनीहरुका सन्ततीले सरकारी रोजगारी पाउने बाटो खुल्छ, तपाईँ हाम्रा छोरा छोरीहरु पनि जिल्लामा न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, एसपी, हाकिम बन्नेछन्, केन्द्रमा जर्नेल, कर्नेल, आइजी, डिआइजी, यसैगरी मन्त्रालयमा सचिव, सहसचिव, निर्देशक बन्नेछन्। राज्य संयन्त्रको सबै निकाय तथा तहमा सबै जाति, वर्ग र समुदायकाको पहुँच र प्रतिनिधित्व सुनिश्चित हुन्छ। यसका साथै शासनको बागदोर सम्हाल्ने पदजस्तै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने मौका मिल्नेछ। थरुहट, पहाड र हिमाल भूक्षेत्रको सबै कुनाकाप्चासम्म विकासको लहर आउनेछ। र, नेपालमा कथित उच्च शासक र शासित जातिको विभेद् अन्त्य हुनेछ। नेपाली भएकोमा सबैले गौरव गर्ने शुभ दिन आउनेछ।
यसर्थ पुनः आह्वान गर्दछु, धक फुकार, दिल खुस पारेर दृढ विश्वासका साथ अन्तर मनले स्वीकारेर स्वतन्त्र कण्ठले सुशोभीत हुँदैं “जय थरुहट” भनौं, र थरुहट तराई पार्टीको महान अभियानमा तुरुन्तै गोलबद्ध होऔं। यही नै आजको माग, आवस्यकता, प्रार्थमिकता र खोजेको अपरिहार्यता हो।

लेखक थरुहट तराई पार्टी नेपालको वरिष्ठ नेता हुन्। 

 

 

Leave a Reply to WilliamBycle Cancel reply

Your email address will not be published.