पौडेल र शर्माका औंला काटेर फालिनुपर्छ : भानुराम

tharuhat-1काठमाडौं- थरुहट तराई पार्टी नेपालले २०६५ यता थारु आन्दोलनकर्ता र सरकारबीच भएको तीन पटकको सहमति सम्झौता कार्यान्वयन नभए आगामी संविधान सभा निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएको छ। पार्टीको काठमाडौं उपत्यका बृहत् भेला कार्यक्रममा शनिबार यहाँ बोल्दै पार्टीका नेताहरुले त्यस्तो चेतावनी दिएका हुन्। २०६५ साल चैत १ गते तत्कालीन सरकारसँग भएको १० बुँदे सहमतिमा मधेस शब्दको ठाउँमा थारु, थरुहट राख्‍ने सहमति भए पनि अझै त्यसको कार्यान्वयन नभएको पार्टीका नेताहरुको आरोप छ।
२०६४ साल चैत २८ गते भएको संविधान सभा निर्वाचनमा सबै राजनीतिक दलले थारुलाई मधेसी कोटाबाट निर्वाचनमा उम्मेदवार बनाएकोमा दुःख व्यक्त गर्दै थारु नेताहरुले पुनः त्यही गल्ती दोहोर्याचउने षड्यन्त्र भए थरुहटमा निर्वाचन विफल पार्ने चेतावनी दिएका छन्। गत संविधान सभामा थारुबाट ३७ जना सभासद् थिए।
पार्टीका अध्यक्ष भानुराम चौधरीले थारुको अस्तित्व र पहिचान नामेट गर्नेगरी राजनीतिक दलका नेताहरुले षड्यन्त्रमा लागेको आरोप लगाउँदै थारुलाई मधेसी कोटाबाट निर्वाचनमा सहभागिता गराए कडा आन्दोलनमा उत्रने बताए। अध्यक्ष थारुले सबै दलमा प्रतिनिधित्व गर्ने थारुहरुलाई त्यसमा सचेत हुन आग्रह गरे। सरकारसँगको सहमतिअनुसार मधेसको ठाउँमा थारु राख्‍ने लिखित प्रतिबद्धता सरकारको तर्फबाट भइसकेकाले कार्यान्वयनका लागि दबाब दिन सबै थारुलाई उनले आग्रह गरे। उनले सहमति पत्रमा हस्ताक्षर गरेर माग पूरा नगरेका नेताहरुको औंला फाल्नुपर्ने बताए। उनले हस्ताक्षर गर्ने नेपाली कांग्रसका रामचन्द्र पौडेल र एमाओवादीका जनार्दन शर्माका औंलाहरुको कुनै काम नरहेको भन्दै काटेर फाल्नुपर्ने बताए।

नेपालमा हिमाल, पहाड र तराईमात्र भएको अवस्थामा जबर्जस्ती मधेस कायम गर्न खोजिएको भन्दै उनले मधेसवादी नामका राजनीतिक दलले तराईलाई मधेसमा रुपान्तरण गरी भारतको भूभागमा मिलाउने दुस्प्रयास गरिरहेको अध्यक्ष थारुले लगाए। दलका नेताहरुले तराईलाई मधेसको नामाकरण गरे कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए।tharuhat-2

पार्टीका वरिष्ठ नेता गोपाल दहितले थारु बहुल सबै क्षेत्रबाट आगामी निर्वाचनमा पार्टीले उम्मेदवारी दिने उद्घोगष गरे। प्रमुख राजनीतिक दलले सबै राजनीतिक दललाई समेटेर निर्वाचनको वातावरण तयार नगरे आफ्नो पार्टी निर्वाचनमा नजाने उनले बताए। आदिवासी जनजाति, उपेक्षित, अल्पसंख्यकहरुलाई अपनत्व हुनेगरी निर्वाचन नभए निर्वाचन असफल पार्ने उनले चेतावनी दिए। काठमाडौं सचिव श्रवणकुमार चौधरीको सभाध्यक्षमा भएको छलफल कार्यक्रममा नागरिक समाजका भरतबहादुर बस्नेत, थारु पत्रकार संघ नेपालका लक्की चौधरी, थरुहट पार्टी सचिव मिनराज चौधरी, थारु महिला सभाकी रेणु चौधरी, थारु महिला समाजकी सरस्वती चौधरी, कलाकार परशुराम चौधरी, थरुहट पार्टी कतार च्याप्टरका अध्यक्ष विद्यानन्द चौधरी, बर्दियाली विकास मञ्चका सीताराम चौधरी, सर्वहित समाजका नन्दुराज चौधरी, थारु विद्यार्थी समाजका चन्द्रप्रसाद थारुलगायतले थारुको अधिकार सुनिश्चित् गर्न सबै थारुहरुको एकता आवश्यक रहेको विषयमा जोड दिएका थिए।

tharuhat-3सो कार्यक्रममा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले करिब दुई सय कार्यकर्तालाई अविर लगाएर पार्टी प्रवेश गराएका थिए। कार्यक्रमले गीता थारुको संयोजकत्वमा २३ सदस्यीय उपत्यका कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कालु चौधरी, सचिवमा श्रवण चौधरी, सहसचिवमा उषा बस्नेत, कोषाध्यक्षमा श्याम चौधरी र सदस्यमा परमेश्वरी चौधरी, राजु चौधरी, सञ्जिता कामत, कृष्णा चौधरी, ममता चौधरी, धर्मेन्द्र चौधरी, गोरन चौधरी, सुनिता चौधरी, उमेश चौधरी, विकास चौधरी, महेन्द्र चौधरी, रामेश्वर चौधरी, मंगल चौधरी, युवराज चौधरी, कारी चौधरी र टीकाराम चौधरी छन्।
२०६८ साउन २७ मा गठन भएको थरुहट तराई पार्टीको अहिले थारु बहुल १७ जिल्लामा शाखा रहेको छ।

Leave a Reply to BillySut Cancel reply

Your email address will not be published.