थरुहट मुद्दालाई मूल मुद्दाका रुपमा उठाउँछौं : दाहाल

PKDइटहरी – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थारु समुदायले आफ्नो पहिचानका लागि उठाएको थरुहट मुद्दालाई अब आफ्नो पार्टीले मूल मुद्दाका रुपमा उठाउने बताएका छन्। सुनसरीको झुम्कामा तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले आजदेखि सुरु गरेको दुई दिने प्रथम थारु चलचित्र महोत्सव–२०७० को उद्घाटनपछि उनले जनयुद्धकालमा तराईका आदिवासी थारु समुदायका युवाले धेरै रगत बगाएको र बेपत्ता हुनेहरूमा पनि थारु समुदायका युवाहरू नै बढी भएको उल्लेख गरे। 
अध्यक्ष दाहालले जनयुद्ध र परिवर्तनसँग थारु समुदायको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनीहरूका मुद्दामा केन्द्रित भएर पार्टीले तराईका आदिवासी थारु समुदायको भावनालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।

विभिन्न जाति र धर्म मान्ने मानिसको बहुसांस्कृतिक धरोहरकै कारण नेपाल विश्वमा जातीय सहिष्णुताका कारणले पनि चिनिदै आएको श्री दाहालले उल्लेख गरे।
तराई थरुहट पार्टी नेपालका नेता गोपाल दहितले एनेकपा (माओवादी)ले थार समुदायको बसोबास रहेको भूमिलाई मधेस भनेर दिग्भ्रमित पार्ने काम भएकाले अब एमाओवादीले विगतको भूललाई सच्याउन आग्रह गरे।

थारु कल्याणकारिणी सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले लामो इतिहास बोकेको थारु समुदायको अस्तित्व समाप्त पार्ने गरी पछिल्लो समयमा राजनीतिक दलहरूले गलत मुद्दालाई प्राथमिकता दिएको गुनासो गरे।

सो अवसरमा पूर्वमन्त्री राजलाल यादव, कलाकार पुष्पनारायण श्रेष्ठ, राप्रपा सुनसरीका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, शत्रुधन चौधरी लगायतले बोलेका थिए।

महोत्सव उद्घाटन समारोहमा थारु कलाकार उचितलाल चौधरी, भरतलाल चौधरी, हरिनारायण चौधरी, रम्भादेवी चौधरी तथा स्व. उमालाल चौधरीलाई सम्मान गरिएको थियो।

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.