मुक्त कमलरीको धर्ना दोस्रो दिन पनि जारी

mukta kamlari-2उपेन्द्र लामिछाने, काठमाडौं- रत्‍नपार्कको शान्ति वाटिकामा मंगलबारदेखि सुरु मुक्त कमलरी धर्ना दोस्रो दिन पनि जारी राखेका छन्। कमलरीलाई स्वतन्त्रपूर्वक बाँच्ने वातावरण तयार पार्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विभिन्न संघ–संस्थाको पहलमा दशकअघि कमलरी ‘मालिक’बाट मुक्त भए पनि राज्यले ध्यान नदिँदा अझै बन्धकझैं जिउन बाध्य भएको उनीहरूले सुनाए। ‘मालिकको सानो घेराबाट मुक्त भयौं,’ मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष उर्मिला चौधरीले भनिन्, ‘अहिले ‘जेल’मा बसेजस्तो अवस्थामा छौं।’
१२ वर्षसम्म कमलरीको कष्टकर जीवन बताएर २०६४ सालमा मुक्त भएकी चौधरीले अहिले पनि जीवन सहज नभएको सुनाइन्। ‘कमलरीको मुक्ति अभियानमा संघ–संस्था मात्र लागे,’ उनले थपिन्, ‘राज्यले चासो नदिँदा कमलरी बस्ने प्रथा रोकिएको छैन।’ राज्यले आफ्नो समस्या सम्बोधन गरोस् भन्ने माग राख्दै दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलालीलगायत जिल्लाका कमलरी धर्ना बसेको उनले बताइन्। ‘यो हाम्रो अन्तिम लडाइँ हो,’ उनले भनिन्, ‘धर्नाबाट माग सम्बोधन नभए आमरण अनसन बस्नेछौं।’ कमलरीबाट मुक्त भए पनि सीप र रोजगारीको अवसर नपाउँदा जीवन झनै कष्टकर भएको
बर्दिया पशुपतीनगरकी दीना चौधरीले बताइन्। उनले भनिन्, ‘त्यस बेला खान नपुगेर अभिभावकले पठाएका थिए, अहिले खान नपाएर आफैं मालिककहाँ जानुपर्ने अवस्था छ।’mukta kamlari-1
पूर्वकमलरीको पुनर्स्थापना हुन नसक्दा यो प्रथा अन्त्य नभएको उनीहरूको बुझाइ छ। ‘कमलरीमाथि भएका यौन शोषणका घटनासमेत सार्वजिनक भएका छन्,’ धर्ना कार्यक्रममा संयोजक तथा कानुन व्यवसायी फकला थारुले भने, ‘दोषीलाई कडा कारबाही नगरेसम्म यो क्रम रोकिने छैन।’
राजधानीलगायत मुलुकका विभिन्न सहरमा कमलरी बसेका बालिकामाथि विभिन्नखाले शोषण हुने गरेको उनले सुनाए। ‘मालिकसँगको अवैध यौन सम्पर्कबाट जन्मेका ११ कमलरी सडकमा छन्,’ उनले भने, ‘२७ भन्दा बढी कमलरी बेपत्ता छन्।’ दाङ, लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको २०६९ चैत १४ मा कमलरी बसेकै घरमा शंकास्पद मृत्यु भए पनि दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको गुनासो गरे।
यसैबीच कमलरी प्रथा उन्मूलन संयुक्त संघर्ष समितिले मंगलबार धर्नास्थलमै पत्रकार सम्मेलन गरी सातबुँदे माग सार्वजनिक गरेको छ। कमलरी मुक्ति घोषणा गरी पुनर्स्थापनाका लागि छुट्टै ऐन व्यवस्था हुनुपर्ने, मुक्त कमलरीलाई परिचयपत्र दिनुपर्ने, उनीहरूको शिक्षादीक्षा तथा सीपमूलक तालिमका लागि सरकारले सहयोग गर्नुपर्ने, कमलरी मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने र कमलरी बसेका बालिकाको तत्काल उद्धार गरी कमलरी राख्नेलाई कारबाही गर्नुपर्ने मागमा छ। आफ्ना माग सम्बोधन नभए जेठ २१ देखि तराईका सबै जिल्लामा अनिश्चितकालीन बन्द र आमहडताल गर्ने उनीहरूले बताएका छन्। धर्नामा सहभागी पूर्वसभासद् एवं मुक्त कमलरी शान्ति चौधरीले आफूले कमलरीको पक्षमा आवाज उठाए पनि राज्यबाट त्यसको सुनुवाइ नभएको बताइन्।

Leave a Reply to IgnacioFut Cancel reply

Your email address will not be published.