गंगुले भक्कानिँदै भने- मेरी छोरी जलाउनेलाई कारबाही गरियोस्

Urmila Chaudharyमदन चौधरी, काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समिति गठन गरेर पीडितहरु राजधानी आएका छन्। राज्यले कमलरी प्रथालाई अवैध भने पनि उचित ब्यवस्था गर्न नसक्दा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र युवतीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै समिति राष्ट्रपति र सरकार प्रमुखलाई गुहार्न राजधानी आएको हो।

त्यस्तै २०६९ चैत १४ गते दाङ लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको ललितपुरमा कमलरी राख्‍ने युवराज पौडेल र उनका साला शंकर अधिकारीको घरमा मट्टितेल छर्केर हत्या गरेको घटना सार्वजनिक भएपछि कमलरीहरु आन्दोलित बनेका हुन्।
संघर्ष समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै त्यस्ता घटनाका दोषीमाथि कारबाही नहुँदा कमलरीले ज्यान गुमाउनुपरेको र कतिपयले कुमारी आम बन्नुपर्ने अवस्था नरोकिएकाले बाध्य भएर राजधानी केन्द्रीत आन्दोलन गर्नुपरेको स्पष्ट पारे।
सिर्जनाका बुबा गंगु चौधरीले छोरी जलाउने जोकोहीलाई पनि सरकारले कानुनु कारबाही गरियोस् भनेर अनुरोध गरे। ‘युवाराज पौडेलले मेरी छोरीलाई जलाएर मारेको हो,’ उनी भक्कानिँदै भने, ‘मान्छे जलाउने त्यस्ता अपराधिलाई कडा कारबाही गरियोस्।’

उनले युवराज पौडेलले प्रहरीलाई पैसा दिइ पोष्टमार्टम रिपोर्ट बङ्ग्याएको आरोपसमेत लगाएका छन्। ‘काठमाडौं आउँदा प्रहरीले छोरीको लास हेर्नै नदिइ कागजमा छाप लाउन भने,’ उनले भने, ‘मैले नमानेपछि तिनै युवाराजले प्रहरीलाई एक हजारको नोट दिएको मेरै आँखाले देखेको हो।’ उनले युवारजले प्रहरीसँग मिलेमतो गरी सत्यतथ्य लुकाउन खोजेकझो आरोप लगाए।

गंगु चौधरी दोषिमाथि कारबाहीको अपील गरिरहँदा उपस्थित दर्जन कमलरीहरु मर्माहत बनेका थिए।
राष्ट्रपति, सरकार प्रमुख, गुह, शिक्षा, महिला तथा बालबालिका मन्त्री, राष्ट्रिय मानवअधिकार आयोग र प्रमुख दलका नेतालाई घच्घच्याउन आफूहरु राजधानी आएको जानकारी दिँदै आफूहरुको समस्यामा ध्यान नदिए तराई बन्द गराउने चेतावनी दिए।

समितिले सिर्जना चौधरी र मेघी चौधरीका हत्यारा युवराज पौडेल, शंकर अधिकारी, बालकृष्ण शाह, लालमणी शर्मा र पार्वती गिरीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, कमलरीको उद्दार गरी पुनःस्थापना गर्नुपर्ने, कमलरी पुनःस्थापना निर्देशिका परिवर्तन गरेर छात्रवृद्धि रकम बढाउनुपर्ने, मुक्त कमलरीलाई परिचय पत्र दिनुपर्ने, डेरा गरेर पढिरहेका कमलरीलाई छात्रबासको ब्यवस्था गर्नुपर्ने र कमलरी प्रथा उन्मुलनको घोषणा गरेर पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउनुपर्ने माग गरेका छन्।
कार्यक्रममा कमलरी कुमारी आमाबाट जन्मेकी सिमरन कि हजुरआमा हेमा चौधरीले अहिले उनको जन्मदर्ता गराउन सरकारी निकायले नमान्दा अध्ययनमा समस्या भएको र भोलि नागरिकता कसरी लिने भन्ने प्रश्न गरिन्। कार्यक्रममा मृत कमलरी मेदी चौधरीकी आमाले पनि छोरीलाई मारेको तर मालिकहरु अझै खुलेआम हिडेको भन्दै आफूहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेरी न्याय दिलाउन माग गरिन्।kamalari-7 kamalari-1 kamalari-2 kamalari-3 kamalari-4 kamalari-5 kamalari-6

Leave a Reply to Davidsteve Cancel reply

Your email address will not be published.