सविताको रेकर्ड तोडिन् केशरीले

काठमाडौं- नेपाल पुलिसकी केशरी चौधरीले बुधबार पहिलो प्रयासमा १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पाँच दिनको अभ्यासपछि ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बुधबार केशरीले १५.९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाइन्। उनले एक वर्षअघि धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले राखेको १७.५ सेकेन्डको कीर्तिमान तोडिन्। ‘सुरुमा के होला भन्ने डर लागेको थियो,’ २१ वर्षीया केशरीले भनिन्, ‘नतिजा पछि साह्रै खुसी लाग्यो। खासमा मलाई टि्रपलजम्पको अभ्यासले पनि हर्डल्समा सहयोग पुग्यो।’ पुलिसको ९ महिनाको विभागीय प्रशिक्षण सकेर तीन साताअघि मात्र फर्केकी केशरीले गत साताबाट हर्डल्सको अभ्यास थालेकी थिइन्।
१०० मिटरमा पुलिसकै अन्य सिनियर खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले आफू हडल्सतर्फ गएको केशरीले नागरिकसँग बताइन्। ‘थोरै दिनको अभ्यासले पनि कीर्तिमान बन्यो। यसले म सक्छु भन्ने विश्वास बढेको छ,’ उनले योजना सुनाइन्, ‘अब यसलाई निरन्तरता दिन्छु।’ बुधबार दुई स्वर्ण पदक जित्ने क्रममा केशरीले लङजम्पमा ५.३६ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि ५.२० मिटरको कीर्तिमान उनकै नाममा थियो। उनी हाइजम्प र टि्रपलजम्पकी राष्ट्रिय कीर्तिमानधारी हुन्। यसपटक राष्ट्रिय प्रतियोगिता एक खेलाडीले तीनवटा इभेन्टमा भाग लिन पाउने भएकाले केशरीले हर्डल्स, लङजम्प र टि्रपलजम्प रोजेकी छिन्। टि्रपलजम्पमा उनको प्रतिस्पर्धा बिहीबार छ।
हर्डल्समा रतज जित्ने क्रममा सविता चौधरीले पनि आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सविताले १६.९ सेकेन्डमा दूरी गरिन्। सन्तु चौधरी (१९.२ सेकेन्ड) ले कांस्य पदक जितिन्।

केशरी चौधरी रेकर्ड तोड्दै। तस्बिर : उदीप्तीसिंह क्षेत्री/अन्नपूर्ण
केशरी चौधरी रेकर्ड तोड्दै। तस्बिर : उदीप्तीसिंह क्षेत्री/अन्नपूर्ण

महिला लङजम्पमा कृष्णकुमारी चौधरी (४.९४ मिटर) दोस्रा र एपिएफकी शिला चौधरी (४.५२ मिटर) तेस्रा भए।
१५ सय मिटर दौडमा आर्मीका कल्याण बानियाँ र एपिएफकी विन्द्रा श्रेष्ठले स्वर्ण पदक जिते। कल्याणले ३ मिनेट ५८.१ सेकेन्ड र विन्द्राले ४ मिनेट ५८.९ सेकेन्डमा दौड पूरा गरेका थिए। पुरुषतर्फ एपिएफका गोपी चन्दले रजत र मोतिलाल चौधरीले कास्य जिते। महिलामा आर्मीकी लक्ष्मी पाण्डे दोस्रा र एपिएफकी गीता खत्री तेस्रा भए।
४ सय मिटर दौडमा आर्मीका दशिराम चौधरी र एपिएफकी दिलमाया कार्कीले पहिलो स्थान पाए। दशिरामले ५०.६ सेकेन्ड र दिलमायाले ५९.४ सेकेन्डमा दौड पुरा गरे। कास्कीका विनोद गुरुङले रजत जितेको पुरुष ४ मिटर दौडमा हरिलाल चौधरीले कांस्य पदक प्राप्त गरे। महिलामा पुलिसकी मनप्रित विष्ट दोस्रो र सुर्खेतकी राधे राजी तेस्रो भए।
पुरुष १ सय १० मिटर हर्डल्समा पुलिसका धीरेन्द्र चौधरी (१५.९ सेकेन्ड) ले स्वर्ण पदक जिते। एपिएफका सन्तोषकुमार चौधरीले रजत र आर्मीका विशेष महतोले कांस्य पदक थापे।
ज्याभलिन थ्रोमा आर्मीका धीरेन्द्रजंग शाह (५६.१७ मिटर) र रिभा चोधरी (३२.९९ मिटर) ले स्वर्ण पदक जिते। पुरुषमा एपिएफका बालकृष्ण चौधरीले रजत र पुलिसका नरेन्द्रजंग शाहले कांस्य तथा महिलामा आर्मीकी अमृता महतोले रजत र पुलिसकी वसन्ती चौधरीले कांस्य पदक जिते।
नेपाल एमेच्योर एथलेटिस संघको आयोजनामा जारी राष्ट्रिय प्रतियोगिता आज सकिनेछ।

Leave a Reply to EugeneChurn Cancel reply

Your email address will not be published.