भादा घुम्ने साइत

अमृत भादगाउँले- दाङ देउकुलीका गुरुबा भागवत दासले ‘थारू’ मात्र बस्न बसालेको कैलालीको एउटा बस्तीमा अचेल अरू जातिका मात्र होइन, विदेशीसमेत रात बिताउँछन्। उर्मा गाविस–८ को भादागाउँ थारु संस्कृति बुझ्ने खुला विद्यालय बन्दैछ। गाउँमा १६८ थारु परिवार बस्छ। ०६७ पुसदेखि गाउँमा होमस्टे पर्यटन सुरु गरिएको छ। हजारौं स्वदेसी र सयौं विदेसी भादाको संस्कृतीमा लठ्ठ परिसकेका छन्। थारू खाना, संस्कृति र जीवनशैली बुझ्न चाहनेका लागि गाउँका १८ घरमा होमस्टे सुविधा छ।
चिटिक्क बस्ती। बाँस र माटोका घर। टायले छाना। पाहुना आइपुग्ने वित्तिकै खटियामा बसाउँछन् उनीहरू। अनि फूलमाला लगाइदिन्छन्। चिया खुवाउँछन्। नाचगान देखाउँछन्। लोकल खाना खुवाउँछन्।
खासमा गुरु भागवत दासको नाउँबाट ‘भादा’ नाउँ रहेको हो। भागवतको ‘भा’ र दासको ‘दा’ बाट भादा भनियो। खेतीपातीमै रमेका छन् गाउँले। पर्यटनबाट लाभ लिन सकिन्छ कि भनेर उनीहरुले होमस्टे सुरु गरेका हुन्।
तारागाउँ विकास समितिको सहयोगमा होमस्टे सुरु गरिएको भादागाउँ पर्यटन विकास समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन्। समितिले दुइटा लहरू र ट्वाइलेट बनाउन एक लाख २२ हजार रुपैयाँ दियो। बाँकी गाउँलेले व्यहोरे। पाहुना कोठामा सफा कपडासहितका खाट छन्। भादामा एकै रात ३६ जना बस्न सक्छन्।
सिजन (कात्तिक–मंसिर) मा मुसाको पकुवा र चटनी खान पाइन्छ। लोकल कुखुराको तिख्खर स्वाद बर्षैभर पाइन्छ। थारुको भान्छामा पलेटी कसेर खान पाइन्छ। भान्छामा थारू परिकार मार, ढिकी, फुलौरी, घोंघी, गंगटा, माछा आदि पाक्छ। आफुखुसी घर रोजेर बस्न पाइन्न। समितिले पाहुनालाई घरघरमा बाँडेर राख्छ। डिमान्ड अनुसार उनीहरु थारू नाच सखिया, हुर्दङवा, झुमरा, मघौटा आदि देखाउँछन्। फराकिलो आँगनमा समूहबद्ध भएर नाच्दा दर्शकलाई पनि नाचुँ नाचुँ लाग्छ। नाचगान हेर्न समूहले हजार रुपैयाँ तिर्नु पर्छ।
हिँड्न अल्छी लागे गोरु गाडामा घुम्ने सुबिधा छ। ५ जना बस्न मिल्ने गाडामा दिनभर चढेको हजार रुपैयाँ मात्र। दुई रात बस्नेगरी भादा जानु बेस। माघ–फागुन घुम्ने राम्रो साइत हो। यतिबेला खेतमा तोरी, गहुँ र मुसुरो मात्रै होइन, थरिथरिका तरकारी पनि झुलेका छन्।
सुन्दर सुदूरपश्चिमको पर्यटनमा भादा एउटा राम्रो प्रोडक्ट हो। धनगढी आइपुग्ने स्वदेसी/विदेसीलाई मात्रै भादा घुमाउन सके पनि ठूलो उपलब्धी हुन्छ। जिविस कैलाली र सरकारको प्राथमिकतामा भादा पर्नुपर्छ।
दजबमनबयलभि२न्कबष्।िअय्क

उत्साहि छौं
लक्ष्मीनारायण चौधरी
अध्यक्ष,पर्यटन विकास समिति
हामी उत्साहि छौं। छोटो समयमै भादा देशभर चर्चित भएको छ। हामीले जनवरी १ देखि ५ सम्म भादा महोत्सव गर्‍यौं। महोत्सवमा ५० हजार मान्छे आए। पर्यटनबाट आम्दानी हुनेमा आशावादी छौं।

कसरी पुग्ने?
धनगढी बजारबाट पूर्व १७ किलोमिटरमा भादा। पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमी र झिलबाट १२ किमी। पर्यटन विकास समितिले लहरू (गोरुगाडा) मा ओरिदोरी गराउँछ। लहरूले धनगढीबाट एक हजार, झिलबाट ८ सय र राजीपुरबाट ६ सय रुपैयाँ एकतर्फी भाडा लिन्छ।

होमस्टे मेनु
क्र.सं खाना परिमाण रुपैयाँ
१. दालभात पेटभरि ८०
२. मासुभात पेटभरि १८०
३. रक्सी पाउ ४०
४. निगार पाउ ३०
५. बंगुर मासु प्लेट ६०
६. माछा प्लेट ३०
७. ढिकरी सेट ४०
८. कुखरा प्लेट १००
९. सुतेको बेड १००
सम्पर्क : ९७४९०२८००४, लक्ष्मीनारायण

Leave a Reply to Andrewned Cancel reply

Your email address will not be published.