गौतमबुद्ध विमानस्थल चार वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बन्ने

शरच्चन्द्र भण्डारी, काठमाडौं- भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने सरकारी योजना अन्ततः सन् २०१६ को अन्त्यसम्ममा पूरा हुने भएको छ। राष्ट्रिय गौरवको उक्त आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई थप सहायता रकम उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)ले सैद्धान्तिक सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा रुपान्तरण हुने पक्का भएको हो। 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा गौतमबुद्ध विमानस्थललाई नागरिक उड्डयनसम्बन्धी सम्पूर्ण सुविधासम्पन्न विमानस्थलमा परिणत गर्न एडिबीले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत सहुलियपूर्ण ऋण तथा अनुदान प्रदान गर्न सहमति जनाएको हो।
सन् २००७–२००८ मा उक्त विमानस्थलको स्तरोन्नतिका लागि कोरियाली कम्पनीले सर्वेक्षण,’डिजाइन’सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो। दुई वर्ष लगाएर तयार पारिएको उक्त प्रतिवेदनमा परामर्शदाता कोरियाली कम्पनीले त्यसबेला विनियोजन गरिएको तीन करोड ८० लाख १५ हजार अमेरिकी डलर अपर्याप्त हुने र थप चार करोड २० लाख अमेरिकी डलर आवश्यक पर्ने जानकारी सरकारलाई दिएको थियो।
प्रारम्भमा दुईहजार ६०० मिटर धावनमार्ग निर्माणको प्रस्ताव गरिएकामा त्यसलाई ४०० मिटर थप गर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय धावनमार्ग,’राडार’लगायत उपकरण जडान, नयाँ’कन्ट्रोल टावर’,’कार्गो’ र भन्सार, अग्नि नियन्त्रण भवन,’बोइङ’ ७७७–२००,’एयरबस ए’–३३०–३०० जस्ता ठूला विमान’पार्किङ’ स्थल, खानेपानी तथा ढल निकास, घागराखोला’डाइभर्सन’लगायत अत्याधुनिक सुविधायुक्त भौतिक पूर्वाधारसमेत निर्माण गर्ने प्रस्ताव गरिएकाले अनुमानित लागतमा भारी वृद्धि भएको हो।
अर्थ मन्त्रालयसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन गर्ने उक्त परियोजनाको काम सन् २०१२ मा सुरु गर्ने लक्ष्य रहेकामा नपुग रकम समयमा नै उपलब्ध नहुँदा सन् २०१५ मा पूरा हुने आयोजना अब सन् २०१६ को अन्त्य सम्ममा सम्पन्न गर्ने संशोधित कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणले अघि सारेको छ।
विमानस्थल स्तरोन्नतिको कार्यमा विलम्ब हुन नदिन दुई चरणमा काम गर्ने र पहिलो चरणको कामका लागि एक करोड १० लाख अमेरिकी डलर प्राधिकरणको आन्तरिक स्रोतबाट बेहोर्ने गरी काम थाल्न अर्थ मन्त्रालयमार्फत् एडिबीको सहमति मागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताए।
कोरियाली परामर्शदाताबाट प्राप्त प्रतिवेदनअनुसार आयोजनाका लागि नपुग चार करोड २० लाख अमेरिकी डलर शीघ्र प्राप्तिका लागि अर्थ मन्त्रालयमार्फत एडिबीमा पत्राचार भइसकेको उनको भनाइ छ।

‘पहिलो चरणको काम गर्न ठेकेदारको पूर्व छनोटका लागि प्राप्त प्रस्तावको मूल्याङ्कन गरी स्वीकृतिका निम्ति एडिबीमा पठाइसकिएको छ’– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, मूल्याङ्कन, सहजीकरणलगायत कामको रेखदेख एवम् समन्वयको जिम्मेवारीसमेत बहन गर्नुभएका आयोगका उपाध्यक्षले भने।
थप आर्थिक स्रोतको सुनिश्चितता र ठेकेदार चयन गरी निर्माणको कार्य चाँडो अघि बढाउने आशयसहितको अर्थ मन्त्रालयको पत्र एडिबी मुख्यालय पुगेपछि त्यहाँबाट खटाइएका विमानस्थलसम्बन्धी जानकार अस्ट्रेलियाली परामर्शदाता भिक्टर क्राइग मनिला फर्किसकेका छन्।
कोरियाली कम्पनीले प्रस्तुत गरेको प्रतिवेदन उपयुक्त भए–नभएको निर्क्यौल गर्न र थप आवश्यक सुझावका निम्ति एडिबी मुख्यालयले स्थलगत अध्ययनका लागि पठाएका ती प्राविधिकले दुई साताको विस्तृत अध्ययनपछि अन्तिम मूल्याङ्कन प्रतिवेदन बुझाउने भएका छन्।
मलेसियाका विभिन्न विमानस्थलका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि प्राविधिक परामर्शदाताका रुपमा काम गरिसकेका क्राइगको प्रतिवेदन नै अन्तिम हुने बताइएको छ।
‘चाहिनेजति रकम नहुँदा क्षेत्रीय विमानस्थल निर्माणको काम अघि बढाउन सकिएको थिएन, ऋण सहायता स्वीकृतिका निम्ति एडिबीले परामर्शदाता पठाउनु भनेको हाम्रा लागि सकारात्मक सन्देश हो’– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् योजना महाशाखाका प्रमुख लोकबहादुर खत्रीले भने।
एडिबीका उपाध्यक्ष जियायोउ झाओ र दक्षिण एसियाका लागि महानिर्देशक वान मिरान्डाले केही समयअघि नेपाल भ्रमणको क्रममा एकै चरणमा विमानस्थलको निर्माण थाल्न सुझाव दिएका गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनाका प्रमुख मुरारी भण्डारी बताए।
उनका अनुसार परियोजनामा अपुग रकम प्रदान गर्न एडिबीले सकारात्मक जवाफ दिएको छ। एडिबीबाट स्वीकृति प्राप्त हुनेबित्तिकै बोलपत्र आह्वानलगायत आवश्यक काम तत्काल प्रारम्भ हुनेछ।
एडिबीको उच्च तहबाटै एकै चरणमा काम थालेर सन् २०१६ सम्ममा पूरा गर्ने आशय व्यक्त भएकाले स्वीकृतिमा केही ढिलाई भएको उल्लेख गर्दै उहाँले एडिबीका परामर्शदाता क्राइगले यसै साता प्राविधिक मूल्याङ्कन प्रतिवेदन बुझाउने जानकारी दिएको बताए।
यसैबीच, यहाँस्थित एडिबीको आवासीय कार्यालयले क्राइगले प्रतिवेदन बुझाइ नसकेको तथा यसै महिना पुनः अध्ययनका लागि नेपाल आउने र त्यसपछि मात्र प्रतिवेदन मनिलास्थित एडिबीको प्रधान कार्यालयमा बुझाउने स्पष्ट पारेको छ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबर्द्धनका साथै काठमाडौं आउने अन्तर्राष्ट्रिय विमानहरूलाई आकस्मिक अवतरण गर्न नयाँदिल्ली, कोलकाता वा ढाका जानुपर्ने बाध्यताबाट मुक्त गर्न एडिबीले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिका लागि ऋण दिन लागेको हो।
बौद्ध धर्मावलम्बीहरूका लागि गौतमबुद्धको जन्मस्थल लुम्बिनी मुस्लिम समुदायहरुको मक्का झैं पवित्र मानिन्छ। रासस

 

Leave a Reply to Gojqfm Cancel reply

Your email address will not be published.