कुन संगीतकारको दैलो कुरिएन?

विकास चौधरी, संगीतकार

संगीतबाहेक कतै करिअर सोच्ने मौकै पाइएन। तोतेबोलीमै गीत गाउन थालेपछि परिवारले हौसला थप्दै गयो, मैले गला तिखार्दै गएँ। स्कुलमा पनि गीत गाउन सक्ने भएकै कारण गुरु/गुरुआमाको प्यारो चेलो थिएँ। एसएलसी सकेपछि के विषय पढेर के बन्ने भन्नेबारे साथीहरू खुब सल्लाह गर्थे। मलाई पनि ‘के पढ्छस् ओई’ भनेर सोध्थे। म त ढुक्कै भनिदिन्थेँ, ‘गायक र संगीतकार बन्छु।’ कतिलाई विश्वास लाग्थ्यो, कतिलाई लाग्थेन। 
अरूले एसएलसीको रिजल्ट कुरे। तर, मैले रिजल्ट आउनुअघि नै करिअरको बाटो पहिल्याउन थालेँ। इलाहाबाद युनिभर्सिटीअन्तर्गत परीक्षा हुने गरी झापामै पढाइ हुने संगीत विद्यालयमा नाम लेखाएँ। निरन्तर कक्षा लिने र अभ्यास गर्ने क्रम तीन वर्ष चल्यो। झापामै हुँदा साथीसँग एल्बम निकालियो ‘यादभरि तिमी’। यो एल्बमले चिन्नेजान्नेलाई ‘यसले गाउन सक्छ’ भन्ने यादमात्रै दिलायो। बुवा संगीतप्रति निकै झुकाव भएको मान्छे हुनुहुन्छ। उहाले नै पहिला पनि त्यो संगीत इन्स्टिच्युटमा भर्ना गरिदिनुभएको थियो। पछि काठमाडौँ पठाउनुभयो, संगीत पढेर कलाकार बन्न।
काठमाडौँमा बसेर संगीतमा केही गर्न भन्दै २०६० सालमा यहाँ भित्रिएको थिएँ। सुरुसुरुमा कहाँ के गर्नै भन्ने मेलोमेसै पाउन मुश्किल भयो। त्यतिबेला चलेका कुन संगीतकारको घरको घन्टी बजाइएन होला? कुन संगीतकारको दैलो कुरिएन होला? सबैले भन्थे, ‘अर्काे एल्बम वा फिल्मको गीतमा भाइलाई चान्स दिन्छु।’ तर, त्यो ‘अर्काे’ कहिल्यै आएन। एकपटक भेटेका पनि अर्काे भेटमा चिनेको नचिन्यै गर्थे। यस्तै गरी दुई वर्ष बिताएँ। २०६२ सालमा हो, एकदिन रेडियो नेपालले आधुनिक गीत प्रतियोगिता आयोजना गर्दै छ भन्ने सुनेँ। ट्राई गरी हेर्छु भनेर भाग लिएको थिएँ। तेस्रो भएछु। लाग्थ्यो– अब त मसँग देशभरिकै मध्येबाट तेस्रो उत्कृष्ट गायक भएको प्रमाणपत्र पनि छ, कसो चान्स नपाइला! धेरै दिन सँगै बोक्ने झोलामै बोकियो होला त्यो प्रमाणपत्र पनि। तर, त्यसले पनि काम गरेन। चिनजान र आफ्नो मान्छे रहेछन्, ‘ओरिजिनल’ प्रमाणपत्र त!
बरु यो बीचमा भोजपुरी र थारु फिल्मवालाले पत्याए। केही समय त्यतैतिर गरियो। यही क्रममा २०६४ सालतिर नेपाली फिल्म ‘तिमी जहाँ भए पनि’ भन्नेमा संगीत गर्ने मौका पाएँ। त्यसको ‘माया माया भन्छन्’ भन्ने गीत सुपरहिटै भयो। त्यसपछि भने केही निर्माता/निर्देशकले पत्याउन थाले। ठूलै संगीतकार बन्ने सपनामा पुग्ने एउटा खुड्किलोमा उक्लेको महसुस भयो त्यसपछि। बिस्तारै फिल्ममा संगीत गराउनेहरू बढ्न थाले। यो चार वर्षमा ४० भन्दा बढी फिल्मको संगीत गरिसकेँ। ‘सिन्दुर’ फिल्मको ‘कलकल जवानी’, ‘सौभाग्य’को ‘छड्के तिलहरी’ निकै रुचाइने गीतमा परे। त्यत्तिकै मात्रामा कलेक्सन एल्बममा संगीत दिएको छु। धेरै रुचाइए पनि। थारु भाषाको राष्ट्रिय गीतमा पनि संगीत गर्ने अवसर पाएको छु। यतिबेला तीनटा फिल्ममा संगीत गरिरहेको छु।

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.