लुम्बिनीमा बुद्ध भारतमा जन्मिएको पुस्तक बाँडियो

भैरहवा- नेपाल–भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ। बुद्ध सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो। कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए।

लुम्बिनीमा माघ २ र ३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताए।
भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन। भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङि्कसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर व्याख्या गरेको छ।

उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनीसमेत नेपालमा पर्दछ भनेर लेखिएको छैन। उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ।

नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाए।
भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको बताए।
स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दै ब्रोसर वितरण गर्नु लज्जाजनक भएको बताए। रासस

Leave a Reply to Darrensow Cancel reply

Your email address will not be published.