थारू होम स्टे महोत्सव सुरु

मुकेश टेंर्रा, कैलाली- कैलालीको उर्मा–८ भादामा थारु होम स्टे महोत्सव आज सुरु हुँदैछ। पर्यटन प्रबर्द्धन गर्ने मुल उद्देश्यका साथ हरेक वर्ष अंग्रेजी नयाँ वर्षदेखि आयोजना हुने महोत्सव आज भादा शुरु भइरहेको हो। यसवर्षदेखि पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमो सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ।

आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले महोत्सव स्थल दिपेन्द्र चारपाते माविको प्रांगणमा एक सय स्टल निर्माण गरिएको बताए। उनले गाउँको सरसफाई गरी अस्थायी चर्पी निर्माण गरिएको बताए।

प्रवेश निःशुल्क गरिएको थारु होम स्टे महोत्सवमा यसवर्ष उर्मा गाविस भरीका थारु नाच, रानाथारु नाच प्रदर्शनी गरिनुका साथै थारु कलाकारहरुको बेजोड प्रस्तुति रहेन आयोजकले जनाएको छ।
थारु होम स्टे महोत्सवमा उर्माका रानाथारु समुदायको संस्कृति समेत प्रदर्शन गरिने आयोजक समितिका सचिव रामबहादुर चौधरीले बताए। महोत्सवका स्टलमा थारु र रानाथारु समुदायका परम्परागत हस्तकला, खानपान, कृषि उत्पान प्रदर्शनी र बिक्रीका लागि राखिएको उनले बताए। थारु समुदायले हातले बनाएका ढकिया, देलुवा, लहंगा लगायत घरायसी प्रायोजनमा प्रयोग हुने बस्तुहरु महोत्सवमा राखिएको छ। महोत्सवमा घोंघी, बरिया, फुलौरी, खेर्या, बंगुर तथा मुसाको मासु, ढिक्री, सिध्रा, आलुको अचार, अण्डीको विभिन्न स्वादका भात, जाँर, जाँरको झोल, महुवाको रक्सी लगायतका परिकार दर्शकहरुले छानीछानी खान पाउने आयोजकले जनाएको छ।
थारु संस्कृति संरक्षण तथा सम्बर्द्धन, भादा गाउँमा दुई वर्षदेखि सञ्चालन भइरहेको थारु होम स्टेको प्रबर्द्धन, कृषि तथा पर्या पर्यटन प्रबर्द्धन तथा विकास र गाविसका जनताको पर्यटनमार्फत् आर्थिक समृद्धिमा बृद्धि गर्ने उद्देश्यले समितिले महोत्सव आयोजना गर्ने गरेको छ। पर्यटन वर्ष २०११ सुरु भएसँगै २०६७ पुस १७ गते भादामा थारु होम स्टे पर्यटन व्यवसाय शुरु गरेको अबसर पारेर समितिले होम स्टे महोत्सव आयोजना गर्ने गरेको छ।
दुई वर्षदेखि थारु होम स्टे सञ्चालन गइरहेको भादामा जति बेला पनि पर्यटकलाई थारु संस्कृतिहरु देखाउने सुविधा तयार गरिएको छ। पर्यटकहरुका लागि थारुको घरमा पाहुना लाग्ने, बास बस्ने, थारु समुदायमा खानपान गर्ने तथा नाचगान गर्ने र उनीहरुसँगै विभिन्न सांस्कृतिक क्रियाकलपालमा सहभागी भई रमाउने व्यवस्था गरिएको छ।

Leave a Reply to Arnoldapper Cancel reply

Your email address will not be published.