मेसीको अद्वितीय कीर्तिमान

बार्सिलोना, एजेन्सी– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीको कीर्तिमान तोड्न आउने वर्षमा अरु खेलाडीलाई मात्र होइन उनी आफैलाई पनि कठिन पर्न सक्छ। किनकि गर्ड मुलरले एक वर्षमा गरेको ८५ गोलको कीर्तिमान तोड्न ४० वर्ष लाग्यो। मुलरको त्यो कीर्तिमान उनै मेसीले आइतबार स्पेनिस लिगको खेलका क्रममा तोडेका छन्।
मेसीको दुई गोलसँगै बार्सिलोनाले रियाल बेटिसलाई २–१ ले हरायो। एकल प्रयासमा १६औं मिनेटमा गोल गर्दै मेसीले मुलरको कीर्तिमानीसँग बराबरी गरे। त्यसको ९ मिनेटपछि आफ्नो स्थापित छविअनुरुप बायाँ खुट्टाले गोल थप्दै मेसीले सन् १९७२ मा मुलरले बनाएको कीर्तिमान भंग गरे।
‘मैले पहिला पनि धेरैपटक भनिसकेको छु। कीर्तिमान बन्नु राम्रै हो, तर मेरो लागि टोलीका जित महत्‍वपूर्ण हो। हामी जितलाई निरन्तरता दिन चाहन्छौं,’ कीर्तिमान तोडेपछि उनले भने, ‘मैले सधैं भन्दै आएको मेरो मुख्य लक्ष्य भनेको लिग, च्याम्पियन्स लिग र कोपा डे रे कप फेरि जित्नु हो।’
यो वर्ष मेसीले बार्सिलोनाबाट ७४ र अर्जेन्टिनाबाट १२ गोल गरिसकेका छन्। कीर्तिमानी गोललाई बढाउन समय अझै उनीसँग बाँकी छ। यो वर्ष उनले अझै ३ खेल खेल्न बाँकी छ। बायर्न म्युखिन र पश्चिम जर्मनीबाट खेल्दै मुलरले एक वर्षभित्र ८५ गोल गरेका थिए।
ब्राजिलका महान् खेलाडी पेलेले ब्राजिल र सान्तोसका लागि सन् १९५८ मा बनाएको ७५ गोलको कीर्तिमान २५ वर्षे मेसीले गत नोभेम्बर ११ मा तोड्दै दोस्रो स्थानमा उक्लेका थिए। मेसीले गत सिजन स्पेनिस लिगमा ५० गोलको कीर्तिमान बनाएका थिए। यसपटक मेसीप्रेरित बार्सिलोना स्पेनिस लिग इतिहासमै सफल सुरुआत गर्न सफल भएको छ। १५ चरणको खेल सकिँदा अपराजित बार्सिलोनाले १४ खेलमा जित र एकमा बराबरी गरेको छ। मेसीले यो सिजनका लागि मात्र ३० गोल गरिसकेका छन्।
‘हामीले मेसीजस्ता खेलाडी सायदै देख्न पाउने छौं,’ बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभाले भने, ‘उनीसँग गोल गर्ने क्षमतामात्र होइन, पास निकाल्ने, रक्षात्मक खेल्ने र खेलमा समन्वय बनाउन सक्ने खुबी पनि छ। उनी विश्वकै एक स्टार हुन्, जसले हामीलाई हरेक तरहले सहयोग पुगेको छ।’
नोभेम्बर २ मा पहिलोपटक बाबु बनेका मेसी फिफा विश्व वर्ष खेलाडीको अन्तिम तीनको सूचीमा समेत छन्। वर्ष खेलाडीका लागि उनले आफ्नै क्लबका आन्द्रेज इनिस्टा र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गरिरहेका छन्।
पछिल्लो तीन वर्षदेखि बालोन डी’ओर अवार्ड जितिरहेका मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले तीनपटक स्पेनिस लिग, दुई पटक च्याम्पियन्स लिगलगायत अन्य थ्रुपै उपाधि जितिसकेको छ। जनवरी ७ मा घोषणा हुने अवार्ड जिते बालोन डी’ओर चारपटक प्राप्त गर्ने उनी एक्लो खेलाडी बन्ने छन्।
आइतबार मेसीका दुवै गोलमा सहयोगीको भूमिका निभाएका इनिस्टाले अवार्ड जिते आफू खुसी हुने मेसीले बताएका छन्। ‘बालोन डी’ओर इनिस्टाले जिते भने म खुसी हुनेछु। किनकि उनी यसका हकदार हुन्। उनले हरेक खेलमा उच्च प्रदर्शन गरिरहेका छन्।’
गोल गर्ने अद्वितीय क्षमता भएका मेसीले फुटबलमा धेरै कीर्तिमान तोडिसकेका छन्। उनले पछिल्लो सिजन सबै प्रतियोगितामा गरेर बार्सिलोनाका लागि ७३ गोल गरेका थिए। त्यतिबेला पनि उनले युरोपियन क्लबका लागि एकै सिजन (१९७२–७३) मा ६७ गोल गर्ने मुलरको कीर्तिमान तोडेका थिए। १९२४–२५ सिजनमा अमेरिकन सकर लिगका क्रममा बेथलेहेम स्टिलका अर्ची स्टार्कले बनाएको विश्व क्लबस्तरीय ७० गोलको कीर्तिमान पनि मेसीले गत सिजन ७३ गोल बनाउँदै तोडेका थिए।
२०११–१२ सिजनको अन्तिम गोल (७३औं) कोपा डेल रे कपको फाइनलमा मेसीले एथलेटिक बिलबाओविरुद्ध गरेका थिए। ३–० ले फाइनल जितेपछि पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले १४औं उपाधि उचालेको थियो। त्यो ग्वार्डिओलाको क्लबका लागि अन्तिम खेल थियो।
बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने ५७ वर्षअघिको सिसर रोड्रिग्युज (२ सय ३२ गोल) को कीर्तिमानसमेत मेसीले गत मार्चमा तोडेका थिए। उनले गत सिजन एउटै च्याम्पियन्स लिगमा १४ गोल गर्ने कीर्तिमानसमेत बनाए। त्यसै च्याम्पियन्स लिगको एउटै खेलमा ५ गोल गर्ने अर्को कीर्तिमान पनि उनले रचेका थिए।
‘मेसी साँच्चै असाधारण छन्,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने, ‘उनको कुनै दायरा छैन। उनले हामीलाई जति दिएका छन्, त्यसका लागि हामी उनलाई सधैं सम्झने छौं। जतिबेला उनी हामीसँग हुन्छन्, त्यसको मजा लिइरहेका हुन्छौं।’
यस वर्ष मेसीका गोल
जनवरी ७
फेब्रुअरी १०
मार्च १३
अप्रिल ९
मे ८
जुन ४
जुलाई ०
अगस्ट ७
सेप्टेम्बर ५
अक्टोबर १०
नोभेम्बर ९
डिसेम्बर ४

Leave a Reply to Williamonedo Cancel reply

Your email address will not be published.