तपाईंको मोबाइलमा यो छ?

आजभोलि मोबाइलको काम कुरा गर्नेमा मात्र सीमित छैन। गोजीमा हुने मोबाइलले तपाईंका धेरै आवश्यकता पूरा गर्ने क्षमता राख्छ। तर यसका लागि चाहिन्छ स्मार्टफोन। स्मार्टफोनमा दुई वटा अपरेटिङ सिस्टम बढी चल्तीमा छ, आइओएस र एन्ड्रोइड। यी अपरेटिङ सिस्टममा तपाईंले आफूलाई आवश्यकता परेको अनुसारको आयप्स इन्स्टल गर्न सक्नुहुन्छ। यो हप्ता हामी तपाईंलाई नेपालका केही आयप्सबारे जानकारी दिँदैछौं। 
लोडसेडिङ कहिले हुन्छ?
नेपालमा बस्न हावापानीमात्र हैन, लोडसेडिङ अनुकूल आफूलाई ढाल्न पनि जरुरी हुन्छ। तपाईंसँग लोडसेडिङ तालिका छैन भने कुन बेला फ्याट्ट बत्ती जान्छ, थाहै हुन्न। त्यसैले त पत्रिकामा छापिएको लोडसेडिङ तालिकासमेत फोटोकपि गरी बेच्ने गरिन्छ। तर अब तपाइँको मोबाइलमा यो तालिका उपलब्ध छ।
चन्द्र र एलिजा श्रेष्ठले बनाएको नेपाल लोडसेडिङ सेड्युल नामको यो आयप्स गुगल प्लेमा लाइफस्टाइल सेक्सनमा उपलब्ध छ। यसमा तपाईंले आफ्नो लोडसेडिङ ग्रुप छानेपछि कति बजे बत्ती जाने हो, त्यसको केही मिनेट अघि बत्ती जान लाग्यो है भन्ने सूचना दिन्छ। बत्ती आउन लागेको सूचना पनि तपाईंलाई त्यसरी नै दिनेछ। तालिका परिवर्तन भएसँगै यसमा अपडेट पनि गरिन्छ। तपाइँको एन्ड्रोइड मोबाइलमा यो एउटा नभई नहुने आयप्स हो।
नेपाली पात्रो
भित्ते पात्रो, गोजी पात्रोको जमाना गयो, अब चलाउनुस् मोबाइल पात्रो। नेपाली पात्रो नामको यो आयप्स तपाइँ प्रोडक्टिभिटी सेक्सन अन्तर्गत राखिएको पाउनु हुन्छ। यसमा विक्रम संवत् अनुसारको पात्रो नेपाली युनिकोड वा अंग्रेजी दुवै भाषामा हेर्न पाइन्छ। नेपाली समय, तिथि र त्यो दिन कुनै दिवस, पर्व छ भने त्यसको जानकारी पनि यसले दिन्छ। नेपाली फन्टमा कुनै कुनै मोबाइलमा समस्या देखिने भए पनि अंग्रेजीमा समेत हेर्न पाइने भएकोले यसको उपयोगिता कम हुँदैन। पात्रोको लागि तपाईं अर्को आयप्स हाम्रो पात्रोको पनि प्रयोग गर्न सक्नुहुन्छ। यसको डिजाइन शंकर उप्रेतीले गरेका हुन्।
एफएम सुन्नुस्
तपाईंको मोबाइलमा रेडियो सुविधा छ? छ भने त्यसमा तपाइँ जुन जिल्लामा बस्नुहुन्छ, त्यहाँका एफएममात्रै सुनिन्छ। पोखरामा बसेर काठमाडौंको, धरानमा बसेर पोखराको वा काठमाडौँमा बसेर जुम्लाको एफएम सुन्न मन लागे के गर्ने? प्रविधिको यस्तो विकास भइसकेको अवस्थामा किन चिन्ता गर्नुहुन्छ, जानुस् गुगल प्ले र सर्च गर्नुस् रेडियो नेपाली। सचिन शाक्यले बनाएको यो आयप्सले ८० भन्दा बढी नेपाली रेडियो स्टेसनहरु तपाईंको मोबाइलमा बज्ने बनाइदिन्छ। इन्टरनेट कनेक्सन भने त्यसका लागि हुनुपर्छ। पाँच विकास क्षेत्र अनुसार छानेर एफएम सुन्ने भए विकास क्षेत्रको नक्सा सहितको एफएम सूची शिशिर पोखरेलले नेपरोयड नामको आयप्समा दिएका छन्।
नेपाली डेट कन्भर्टर
विक्रम संवत्लाई इस्वी संवत्मा परिवर्तन गर्नुपर्यो भने तपाईं के गर्नुहुन्छ? अलि प्रविधिमैत्री हुनुहुन्छ भने तपाईंको दिमागमा झट्ट राजन डट कम आउन सक्छ। नेपालीहरु इन्टरनेटमा भर्खर वामे सर्दै गर्दादेखि नै यो साइट डेट कन्भर्टरका लागि निकै प्रख्यात छ। अब नेपाली डेट कन्भर्टर इन्स्टल गर्नुभयो भने मोबाइलबाटै त्यो काम हुनेछ। ६०१ सफ्टले बनाएको यो आयप्सलाई बुक्स एन्ड रिफ्रेन्स सेक्सनमा राखिएको छ।
हाम्रो नक्सा
नेपालका १४ अञ्चलको नक्सा तपाईंलाई आवश्यक छ भने सन्जाल कोर्प्सले बनाएको नेपाल जोनल म्याप्स नामको यो आयप्स तपाईंलाई निकै उपयोगी हुनेछ। यी नक्साहरु जुम गरेर हेर्न मिल्छ। यो आयप्सबाट सामान्य नक्साको जानकारीबाहेक अरु धेरै कुराको आशा भने नगर्नुस्।
काम सजिलो
एनसेल सापटी लिन कुन चिह्न र नम्बर डायल गर्ने?टेलिकमको ब्यालेन्स थाहा पाउन कति नम्बर थिच्ने? एनसेल र टेलिकममा ब्यालेन्स रिचार्ज गर्न कुन कुन चिह्न थिच्नुपर्ने? तपाईंलाई सबैथोक सम्भि्कराख्न गाह्रो लाग्छ वा त्यो डायल गरिराख्न झ्याउ लाग्छ भने सजिलो उपाय छ, जिएसएम टुल फर नेपाल नामको आयप्स इन्स्टल गर्ने। प्रशान्त वस्तीले बनाएको यो आयप्सले तपाईंको कामलाई सजिलो बनाइदिन्छ।
एक माना भनेको कति किलो?
हात, माना, पाथी, धार्नी, तोला, रोपनी जस्ता नेपाली मापनको स्तरलाई स्क्वायर फिट, किलोग्राम, पाउन्ड, माइल, ग्यालन आदिमा रुपान्तर गर्दा कति हुन्छ? यो थाहा पाउने सजिलो उपाय हो क्रिस्पिआयप्सले बनाएको नेपाली युनिट कन्भर्सन।
तासप्रेमीहरूका लागि
दशैं र तिहार भर्खरै सकियो। तर त्यसो भन्दैमा तास खेल्नेहरु कहाँ रोकिन्छन् र? तासमा पनि म्यारिज भनेपछि मान्छेहरु हुरुक्कै हुन्छन्। तर म्यारिज खेल्दा प्वाइन्ट, कसले कसलाई कति तिर्न बाँकी आदि जस्ता कुरा याद राख्न साथमा कलम र कापी राख्नु पर्ने हुन्छ। यो आयप्स राख्नुभयो भने मोबाइलमा नै सबै काम हुन्छ। यसमा खेलाडीको नाम, उनीहरुको प्वाइन्ट, कमाइ, कसले कसलाई कति तिर्नुपर्ने, कति लिनुपर्ने आदि लेखाजोखा राखिदिन्छ। विकास भुसाल र विवेक भुसालले बनाएको यो आयप्स म्यारिज सेन्टर कलेक्सन नाममा डाउनलोड गर्न पाइन्छ।
बाघचाल खेल्ने कि
सानोमा ठूलो ढुंगा र सानो ढुंगा राखेर बाघचाल खेलेको सम्झनुभएको छ? हजुर, नेपालको पुरानो खेल हो बाघचाल। तपाइँको हातमा २० वटा बाख्रा हुन्छ त्यसले चार वटा बाघलाई थुन्न सक्नुभयो भने तपाइँ जित्नुहुन्छ। बाघचालको यो खेल तपाईं मोबाइलमा खेल्नसक्नुहुन्छ। यसका लागि तपाईंले बाघचाल आयप्स इन्स्टल गर्नुपर्छ।

Leave a Reply to MichaelBen Cancel reply

Your email address will not be published.