तीन दल सत्तामा केन्द्रीत भए : यादव

वीरगञ्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई दिग्भ्रमित पारेर प्रमुख तीन दल सत्ताका लागिमात्र केन्द्रीत भएको आरोप लगाएका छन्। ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई राजनीतिक सहमतिका आधारमा संस्थागत गरी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गनुपर्ने बेलामा प्रमुख तीनदलले सत्ता केन्द्रीत राजनीतिमात्र गरिरहेकाले समस्या जटिल बन्दै गएको सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा आयोजित बृहत् अन्तर्क्रिया कार्यक्रममा उनले बताए। 

अहिलेको संवैधानिक र राजनीतिक समस्याको निकासका लागि राष्ट्रिय सहमतिको सरकार एकमात्र विकल्प रहेको उनको भनाइ थियो। अध्यक्ष यादवले वर्तमान सरकारलाई विस्थापित गरी तत्काल राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिँदै त्यही सरकारले संविधान सभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्ने बताए।

मुलुकको राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा तथा मधेसीहरुको हकअधिकार, स्वाभिमान र पहिचानका लागि फोरम नेपाल सशक्तरुपमा अगाडि बढ्ने उनले उल्लेख गरे। जनमुक्ति पार्टीका अध्यक्ष अटलमान राई, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद गुप्ता, तामसालिङ नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष परशुराम तामाङ, खुम्बुवान राज्य स्वायत्त परिषद्का अध्यक्ष विश्वराज राईलगायतका वक्ताहरुले अहिलेको समस्या समाधानको एकमात्र विकल्प संविधान सभाको नयाँ निर्वाचन नै हो र यसका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको बताए।

 

मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फोरम नेपालका महासचिव रामसहाय यादवले विद्यमान राजनीतिक अवस्थाको विविध पक्षमाथि प्रकाश पारे। रासस

Leave a Reply to Ashmex Cancel reply

Your email address will not be published.