आत्मनिर्भर बन्दै मुक्त कमलरी

सन्तोष दहित, दाङ- केही महिनाअगाडि जमिनदारको घरमा काम गरी दासीका रुपमा जीवन बिताइरहेका मुक्त कमलरीहरु अहिले सिलाइकटाइ व्यवसायबाट आत्मनिर्भर बन्दैछन्। नारायणपुर गाविस ३ चारवगियाकि सुशीला चौधरी अहिले सिलाइकटाइमा व्यस्त छिन्। उनी केही महिनाअघिसम्म जमिन्दारको घरमा कम्लरी बसेकी थिइन्। विकास मञ्च र जिल्ला शिक्षा कार्यालयको सहयोगम ३ महिने सिलाइकटाइमा उनीसहित अन्य कमलरीहरु सहभागी छन्।

छोटो समयमै ती सहभागी कमलरीहरुले कुर्ता सुरुवाल सिलाउन सक्ने भएका छन्। तालिम सकिएलगत्तै आफ्नै गाँउमा सिलाइकटाइ सेन्टर खोलेर बस्ने उनीहरु बताउँछन्। ‘काम गाह्रो भए पनि आम्दानी राम्रै हुन्छ,’ एक कमलरीले भनिन्, ‘राम्रो पेसा भएकाले यो सीप सिकेको हुँ।’ एक जोर कुर्तासुरुवाल सिलाएको एक सय अस्सी रुपियाँ लिने गरेको उनले बताए।

६ वर्षसम्म जमिन्दारको घरमा दासिको रुपमा बसेका घोराही नगरपालिका ८ सेवारवनगाँउकी अर्की सुशीला चौधरी पनि सिलाई कटाइमा व्यस्त छिन्। सधैंभरि अरुको घरमा काम गर्ने तिनी खुसी हुँदै भनिन्- यो सिलाइकटाइ तालिमले आफ्नो आर्थकस्तरमा सुधार ल्याउने विश्‍वास लिएको छु। सुशीला पनि तालिम सकेर आफूजस्तै मुक्त कमलरी बहिनीहरुलाई सिलाइकटाइ सिकाउने बताइन्। उनले भनिन्- आफू पढ्न नसके पनि सिलाइकटाइबाट भने सन्तुष्ट छु।

त्यसैगरी घोराही ७ सेवार बरियाकी शिवा चौधरी पनि सिलाइकटाइ तालिमबाट हर्षित छिन्। जमिन्दारको घरमा दुई वर्ष कमलरी बसेको यिनले सिलाइकटाइ सिक्न पाउँदा जीवनको पहिलो खुसी पाएको बताइन्। उनले भनिन्- सधैंभरि अरुका जुठा भाडा माझ्ने यी हातले अब सिर्जनात्मक काम गर्न पाउँदा खुसीले गदगद भएको छु। अब अरुको भरमा नभएर आफ्नो जीवन गुजारा गर्न आफैं नै सक्षम भएको उनले बताइन्।

तालिममा सुशीला, अर्की सुशिला र शिवा मात्र हैन, उनीहरुसँगै अन्य ७ जना मुक्त कमलरीहरु सिलाइकटाइ तालिम लिँदैछिन्। बजारमा सिलाइकटाइले राम्रो आम्दानी भइरहेका बेला दाङको घोराही नगरपालिका, गढवा गाविस र लक्ष्मीपुर गाविस गरी तीन ठाउँमा मुक्त कमलरीलाई यो तालिम दिइरहेको मुक्त कमलरी विकास मञ्चका प्रबन्ध निर्देशक फकला थारुले बताए। उनले यी तीन ठाँउमा २६ जना मुक्त कमलरीहरुको रोजाइमा सिलाइकटाइ तालिम दिएको जानकारी दिइ। तालिमका लागि जिल्ला शिक्षा कार्यालयले घोराही नगरपालिकामा १० जना र गढवा गाविसमा १० जना गरी २० जना मुक्त कमलरीको व्यवस्थापन गर्दै आएको र लक्ष्मीपुर गाविसका ६ जना मुक्त कमलरीका लागि भने मुक्त कमलरी विकास मञ्चले व्यवस्थापन गर्दै आएको उनले बताए।

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.