मिथिलाञ्चलमा झिझिया नृत्यको रमझम

जनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन गरिन्छ। लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी–झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु–टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ।

झिझिया मैथिल समाजको लोक नृत्य हो। तान्त्रिक विधिअनुसार यसमा बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गरिन्छ।
झिझिया नृत्यमा टाउकामा घैँटो राखेर निरन्तर नाचिरहनुपर्छ। घैँटोमा पारिएका प्वाल बोक्सीले गन्न नभ्याउन् भनेर नाच्ने महिलाहरू आफ्नो टाउको पनि हल्लाइरहेका हुन्छन्। बोक्सीले प्वाल गन्न भ्याए नाच्ने महिला ठहरै हुन्छिन् भन्ने जनविश्वास पनि छ।
नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ। बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ विश्वास रहेको छ।
झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण संवर्द्धन गर्नु उचित देखिन्छ।
यस नृत्यमा बोक्सीलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ।
‘कोठाके उपर डैनियाँ, खिडकी लगैले ना, खिडकी ओतए डैनियाँ, गुनवा चलैले ना, आगे किछु होएतो डैनियाँ, गदहापर चढेवौ’

यस गीतमा भनिएको छ ‘खबरदार यदि तिमीले झ्याल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौँ र नाम बदनाम गराउँछौं’। रासस

Leave a Reply to Ronaldpen Cancel reply

Your email address will not be published.