लक्ष्मण थारु फोरम लोकतान्त्रिकमा प्रवेश

गजेन्द्र बोहरा, दाङ- थरुहट तराई पार्टी औपचारिकरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्तित्रक) मा समायोजित भएको छ। बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले अब आफ्नो पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा समाहित भएको घोषणा गरे।

फोरम लोकतान्त्रिक उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी हो भने माओवादीबाट छुटि्टएर थरुहट गठन गरेका लक्ष्मण थारुले थरुहट तराई पार्टीको नेतृत्व गरेका थिए। देउखुरीमा भएको पार्टी प्रवेश तथा आमसभामा बोल्दै लक्ष्मण थारुले अब जातीय उत्पीडन तथा मधेसी, आदिवासीहरुको हकअधिकारका लागि फोरम लोकतान्त्रिकले मात्रै नेतृत्व गर्नसक्ने बताए। ‘हामी टुक्रिएको नेपाल होइन, अखण्ड नेपाल चाहन्छौं, तर संघीयताको विरोध गर्नेहरुले देश टुक्रा पार्दैछन्, भन्ने आरोप लगाइरहेका छन्,’ उनले भने, ‘तर अब हामी त्यसो हुन दिन्नौं, यदि कसैले देश टुक्राउन खोज्छ भने देशभरीका थारुआदिवासीहरु रगत बगाउन पनि तयार छन्।’ उनले अब थरुहट तथा मधेशका प्रदेशका लागि दुई मोर्चा एकै भएर लड्ने घोषणा पनि गरे। सोही सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ नेता पनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेको घोषणा गरे। पहिला लक्ष्मण थारुसँगै मिलेर थरुहट पार्टी खोलेका योगेन्द्र चौधरी चार वर्षअघि गठन भएको संघीय लोकतान्त्रिक मञ्चमा गएका थिए।
सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारु, दलित आदिवासी तथा मधेशीहरुको मुक्तिका लागि अब मिलेर लड्नुपर्ने बताए। ‘अब तमाम उत्पीडन र मतभेदलाई समाप्त गरेर राष्ट्रिय राजनीतिमा हाम्रो निर्णाक अधिकार स्थापित गर्नुपर्छ’ सभालाई सम्बोधन गर्दै उनले भने ‘हामी कुनै जाती वा क्षेत्रीय पार्टी होइनौं, हामी सबै मधेशी, जनजाती,तराईवासी, पहाडी, हिमाली सबैलाई समेटेर राष्ट्रिय पार्टी बनाउन चाहुन्छौं र एउटा शक्तिशाली पार्टी बनाउनेछौं।’
यसअघि धनगढीमा पनि यस्तै सभा भएको थियो। लक्ष्मण थारुको गृहजिल्लामा भएको उक्त कार्यक्रममा पनि हज्जारौ कार्यकर्ताहरु मधेशी जनअधिकार फोरममा प्रवेश गरेको उनले दावी गरे।’हामी सके देशको पहिलो पार्टी बन्छौं, त्यो पनि भएन दोस्रो सम्म हुन्छौं र त्यो पनि भएन भने कुनै पनि हालतमा तेस्रो पार्टीका रुपमा स्थापित हुनेछौं,’ उनले भने, ‘यो हाम्रो पार्टी मधेश,तराई, हिमाल र पहाडबीचको पुल बन्नेछ।’

Leave a Reply to Hafjti Cancel reply

Your email address will not be published.